उमेर नपुगी भागेका किशोरकिशोरीको विषयमा झडप, पाँचजना घाइते

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण
उमेर नपुगी भागेका किशोरकिशोरीको विषयमा झडप, पाँचजना घाइते

लक्ष्मीपुरचोकमा सडक अवरुद्ध गर्दै किशोरीपक्ष

सिराहाको विष्णुपुर गाउँपालिका– ५, लक्ष्मीपुर गाउँमा उमेर नपुगी भागेर ‘प्रेमविवाह’ गरेको भनिएका किशोरकिशोरी पक्षबिच सोमबार दिउँसो दोहोरो झडप हुँदा पाँचजना घाइते भएका छन् ।

घाइते हुनेमा प्रेमविवाह गरेकी किशोरीसहित उनकी दिदी, किशोर पक्षबाट बेली भनिने अविरन महतो, उनका छोराहरू जीवन र दिपन छन् । कुटपिटमा घाइते भएकाको सिराहा प्रादेशिक अस्पतालमा उपचार गरिएको भए पनि अवस्था गम्भीर रहेकी किशोरीलाई थप उपचारका लागि सोमबार साँझ विराटनगर लगिएको स्थानीय दिलीप पासवानले बताए ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उमेर नपुगी प्रेमविवाह गरेका भनिएका दुवैजनालाई आ–आफ्ना अभिभावकले जिम्मा लिएर लैजाने गरी आइतबार प्रहरीमा सहमति भएको थियो ।

सहमतिबमोजिम केटा पक्षले धीरज महतोलाई बुझेर लगेको भए पनि सोमबार केटी पक्षबाट विवाह गरेकाले घर भित्र्याउनुपर्छ भन्दै महतोको घरमा पुगेपछि विवाद हुँदा झडप भएको हो ।

यस्तो थियो घटना 
स्थानीय कारी महतोका छोरा १९ वर्षीय धीरज महतोले गत २१ साउनमा स्थानीय १८ वर्षीया सदा किशोरीलाई लिएर भागेपछि दुवै पक्षबिच पटक–पटक छलफल भएको थियो । जिल्ला प्रहरी कार्यालय सिराहामा १ भदौ (आइतबार) भएको छलफलमा उमेर नपुगेको कारण दुवैजनालाई अभिभावकको जिम्मा लगाउने निर्णय भएको विष्णुपुर– ५ का वडाध्यक्ष जैनाथ महतोले बताए ।

उनका अनुसार प्रहरीमा भएको छलफलको आधारमा दुवैको जन्मदर्ता झिकाएर हेर्दा किशोरीको १८ र केटाको १९ वर्ष रहेको पाइएपछि तत्काललाई दुवैलाई अभिभावकको जिम्मा लगाउने निर्णय भएको हो ।

किशोरीसहित उनका आफन्त केटाको घरमा पुगेर सोमबार दिउँसो जिम्मा लिनुपर्छ भन्दै माग गर्न थालेपछि विवाद बढेको उनले बताए । त्यही क्रममा दोहोरो झडप नै भएपछि किशोरी पक्षले सोमबार दिउँसो चोहर्वा–सिराहा सडकको लक्ष्मीपुरखण्ड केही घण्टा अवरुद्ध गरेपछि स्थिति थप भड्किन नदिन जिल्ला प्रहरी कार्यालय सिराहा, गोलबजार र मिर्चैयाबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो । 
 

See More On

सुझावित समाचार