बाबुआमाले गरेको अपराधको सजाय स–साना बालबालिकाले भोग्नुपरेको छ । विभिन्न अपराधमा अभिभावक नै जेल पुगेपछि आश्रित बालबालिका पनि कैदीजीवन जिउन बाध्य छन् । जसकारण ती बालबालिका पठनपाठनबाट पनि वञ्चित छन् ।
प्राप्त विवरणअनुसार कर्णाली प्रदेशका चार कारागारमा मात्र ६ आश्रित बालबालिका आफ्ना अभिभावकसँग जेलजीवन बिताइरहेका छन् । सुर्खेतस्थित कारागारमा दुई बालिका र एक बालक गरी तीनजना आश्रित बालबालिका छन् । त्यस्तै, रुकुम पश्चिम कारागारमा पाँच वर्षीय एकजना आश्रित बालक छन् । कर्तव्य ज्यान मुद्दाको अभिभावकसँग बालक कारागार पुगेका हुन् । उनीहरूले स्कुल जाने उमेरका भइसक्दा पनि पढ्न–लेख्न पाएका छैनन् । जेलर केशव ओलीका अनुसार बालकको स्कुल जाने उमेर भएपछि घरमा पठाउने तयारी छ ।
सल्यान कारागारमा एकजना आश्रित बालिका छन् । उनी तीन वर्ष पूरा भएर चार वर्ष लागिन् । उनले पनि स्कुल जाने वातावरण पाएकी छैनन् । जेलर भीमबहादुर घर्तीका अनुसार उनी बालिका बहुविवाह मुद्दाका अभिभावकसँग कारागार पुगेकी हुन् ।
जुम्ला कारागारमा पनि एकजना आश्रित बालक छन् । उनी चार वर्षका भए । तर, स्कुल जान पाएका छैनन् । उनी कर्तव्य ज्यान मुद्दाका अभिभावकसँग बालक कारागार पुगेका हुन् । कारागार व्यवस्थापन विभागको ०८२ असारको मास्केवारी विवरणअनुसार देशभर पाँच वर्षमुनिका ६४ जना आश्रित बालबालिका रहेका छन् ।
पाँच वर्ष पुगेपछि मात्र घर पठाइन्छ
सुर्खेत कारागारकी जेलर लक्ष्मी खरेलका अनुसार आश्रित बालबालिका पाँच वर्ष पुगेपछि मात्र घरमा रहेका अभिभावकको जिम्मा लगाइन्छ । तर, दुई–तीन वर्षमै बाल विकास केन्द्रमा भर्ना गर्ने गरिएकाले उनीहरूको सिकाइ प्रभावित हुने गरेको छ । सानै उमेरदेखि बालबालिकाको स्कुल जाने आनीबानीको विकास होस् । पढ्न–लेख्न र मनोरञ्जनको वृद्धि होस् भन्ने उद्देश्यका साथ निजी तवरबाट मन्टेस्वरी र सरकारी तवरबाट बाल विकास केन्द्र स्थापना गरिएका हुन् ।
अभिभावकले सानै उमेरमा बालबालिकालाई मन्टेस्वरी र बाल विकास केन्द्रमा भर्ना गर्ने गर्दछन् । तर, अभिभावकसँग जेलजीवन बिताइरहेका बालबालिका भने सानै उमेरमा पढ्न–लेख्न र मनोरञ्जन गर्न पाउँदैनन् ।
जेलर खरेलका अनुसार घरमा कोही पनि अभिभावक नभए सरोकारवाला निकायको पहलमा कतै संघसंस्थामार्फत पढाउने व्यवस्था गर्ने गरिन्छ । गत वर्ष घरमा कोही पनि अभिभावक नभएका एकजना बच्चालाई संघसंस्थामार्फत काठमाडौं पठाइएको थियो । अहिले उनी काठमाडौँमै बसेर पढिरहेका छन् ।