किसानलाई तत्काल मल उपलब्ध गराउन राष्ट्रिय सभा सांसदकाे माग

शुक्रबार, ३० साउन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने, ज्येष्ठ नागरिकले सहजै भत्ता पाउनुपर्नेलगायत माग गरेका छन् । बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले प्रतिवर्ष १५ लाख मेट्रिक टन मल आवश्यक  भए पनि तीन लाख मेट्रिक टन मात्रै उपलब्ध भएको तथा पाँच लाख मेट्रिक टन मल अवैध रूपमा भित्रिने गरेको भन्दै यस विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।
 
सांसद सुमित्रा बिसीले बर्खायाम सकिन लाग्दा पनि रोपाइँ नसकिएको र प्रतिकिसान २५ किलो मल दिने भनिए पनि नपाएर खाली हात फर्कने गरेको उल्लेख गर्दै स्थायी रूपमा यो समस्या समाधान गर्न सरकारसँग माग गरिन् । सांंसद इन्दिरादेवी गौतमले बेरोजगारीका कारण युवामा मानसिक समस्या बढ्दै गएकाले मानसिक स्वास्थ्य उपचारतर्फ ध्यान दिन आग्रह गरिन् ।
 
सांसद जगप्रसाद शर्माले आयुर्वेद विज्ञानका हिसाबले नेपाल सम्भावना बोकेको देश भएको र ०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयले आयुर्वेदिक शिक्षण अस्पताल सुरु गरी उपचार गर्दै आए पनि अहिलेसम्म कुनै दरबन्दी नहुँदा सेवा दिन समस्या भएकाले यसतर्फ ध्यान दिन सरकारसँग माग गरे । सांसद तुलसाकुमारी दाहालले मधेश प्रदेशमा कायमै रहेको दाइजोप्रथा र बालविवाह हटाउन आवश्यक रहेकामा जोड दिए।
 
 सांसद मायाप्रसाद शर्माले ज्येष्ठ नागरिकले उनीहरू बस्दै आएको ठाउँबाट भत्ता लिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए। सांसद शारदादेवी भट्टले कैलाली कारागारमा भएको घटनाप्रति खेद व्यक्त गर्दै १४० जनाको क्षमता भएको स्थानमा चार–पाँच सय राख्दा यस्तो अवस्था आएको हुनाले देशभरका सबै जेलको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराए । 
 

सुझावित समाचार