बेलडाँडीमा बिच सडकका रुख हटाइयो

शुक्रबार, ३१ साउन, २०८२
डिजिटल संस्करण

कन्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी सदरमुकाम जोड्ने सडक सालका रुखले भरिभराउ थियो। बस्ती विस्तारका क्रममा झण्डै पाँच दशकअघि जंगल काटेर बेलडाँडीमा सट्टाभर्ना दिइएको थियो। उति बेलादेखि नै बेलडाँडी गाउँपालिकासहित मुख्य दुई बजार जोड्ने बेलडाँडी–चवन्नी सडक खण्डमा सालका बुढा रुख भरिभराउ थिए।

बिच सडकमा सालका रुख हटाउन कानुनी प्रकृया झन्झटले अघिल्लो स्थानीय सरकाले रुख नहटाएरै कालोपत्रे ग¥यो। तर, अहिले हरिशचन्द्र राना नेतृत्वको स्थानीय सरकारले सडकमा रहेका रुख हटाएरै सडक विस्तारको योजना ल्याएको छ। बेलडाँडी गाविस, नगरपालिका र अहिले गाउँपालिकामा परिणत भएपछि मात्रै सडकका रुख हटाउने काम भएको हो।

बिच सडकमा रुख हुुँदा पैदलयात्रुदेखि ठुला सवारी साधनलाई आवतजावतमा समस्या खेप्नु परेको थियो। बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले गाउँपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सडकमा पर्ने रुख हटाई सहयोगका लागि पत्राचार गरेपछि निकुञ्जले काट्ने अनुमती दिएको बताए।

२८ जेठ ०८२ मा बेलडाँडी गाउँपालिका एवं विपद व्यवस्थापन समितिले बेलडाँडी बजारदेखि चवन्नी बजारसम्मका सडकमा पर्ने जोखिमयुक्त ८ रुख हटाउनका लागि निवेदन दिएको थियो। त्यस आधारमा निकुञ्ज प्रशासनले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरको संयोजकत्वमा गठित समितिको गत १५ साउनको निर्णयअनुरुप जोखिमयुक्त रुख हटाउने निर्णयसंगै सडकमा रहेका रुख हटाउन लागेको रानाले बताए।

पालिकाले पटकपटक विभागमार्फत सम्बन्धित निकायलाई कटानीका लागि सिफारिस गर्दै आएको थियो। पालिका प्रमुख रानाले निरन्तर ताकेता गर्दै वन नियमावली ०७९ को नियम ३६ बमोजिम ‘उपयुक्त देखिएको’ र नियम ३७ (१)अनुसार अनुमति प्राप्त गराई, अनुगमन तथा मूल्यांकन समितिबाट स्थलगत निरीक्षण गराई कार्य अगाडि बढाएका हुन्।

रुख कटानी गरी बेलडाँडी इलाका प्रहरी वा बेलडाँडी रेञ्जर पोष्टको जिम्मामा राखिने भएको छ। बिच सडकमा रहेका रुख हटाएसंगै नागरिक सुरक्षामा टेवा पुग्ने स्थानीयको भनाइ छ। स्थानीय युवा प्रकाश मालीले बषौँपछि सडकमा रहेका रुख हटाउने कामबाट विकाससंगै यात्रु सुरक्षामा विश्वास बढिरहेको बताए।

सडकमा रहेका रुख हटाएसंगै सडक स्तरोन्नती गरिने गाउँपालिकाले जनाएको छ।

सुझावित समाचार