कर्णाली विकास बैंकको साढे दुई अर्ब घोटाला : १११ विरुद्ध सवा तीन अर्ब मागदाबी गरेर आज मुद्दा दर्ता हुँदै

बुधबार, १५ साउन, २०८२
डिजिटल संस्करण

कर्णाली डेभलपमेन्ट बैंकको दुई अर्ब ५९ करोडभन्दा धेरै घोटालामा संलग्न १११ विरुद्ध करिब सवा तीन अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै उच्च अदालत नेपालगन्जमा बुधबार मुद्दा दर्ता हुँदै छ । जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले उच्च अदालतमा बैंकिङ कसुर सजाय ऐन, ०८१ अनुसार तीन अर्ब २० करोड ११ लाख बिगो दाबीसहित मुद्दा दर्ता गर्न लागेको हो ।

वकिलको कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता गोविन्दबहादुर शाहीले भने, ‘कर्णाली विकास बैंकको घोटालासँग सम्बन्धित मुद्दा बुधबार उच्च अदालतमा दर्ता हुँदै छ । घटनामा १११ जनालाई प्रतिवादी बनाएर तीन अर्ब २० करोड ११ लाख रुपैयाँ बिगो दाबी गरिनेछ ।’ हालसम्म चारजना पक्राउ परेका छन् भने बाँकी फरार छन् । 

बैंक घोटालाको उजुरीपछि सिआइबीले गत १६ जेठदेखि अनुसन्धान गरेको थियो । त्यसको भोलिपल्ट नै सिआइबीले घटनामा संलग्न रहेको आरोपमा राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो । क्रमश: अन्य आरोपी वेदप्रकाशसिंह ठकुरी, पशुपतिदयाल मिश्र र भुवन बस्नेत पनि पक्राउ परेका थिए । राय र मिश्र बैंकका पूर्वअध्यक्ष हुन् भने ठकुरी बैंकका लेखाप्रमुख हुन् । बस्नेत भने नेपाल राष्ट्र बैंकका पूर्वनिर्र्देशक हुन् । जसको सिफारिसमा बैंकभित्र झाँगिएको बदमासी ढाकछोप गरिएको थियो । विस्तृत अनुसन्धानपछि सिआइबीले गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय बाँकेमा फाइल पेस गरेको थियो । 

सिआइबीले तयार पारेको अनुसन्धान प्रतिवेदनअनुसार अभियुक्तमध्ये ८ बैंकका पदाधिकारी, २२ कर्मचारी र बाँकी ७८ अन्य व्यक्ति छन् । उनीहरूले कर्मचारीको तलब वृद्धि गर्ने शीर्षकमा, राइट सेयर बिक्री गर्ने बहानामा, अन्तरशाखा कारोबार गर्ने नाममा, नक्कली ऋणी बनाएर बैंकको रकम घोटाला गरेको सिआइबीको निष्कर्ष छ । त्यस्तै, सवारी कर्जा प्रवाह र गोल्ड लोन प्रवाह गर्दा पनि रकम हिनामिना गरेको सिआइबीको प्रतिवेदनमा उल्लेख छ । 

अनुसन्धानमा संलग्न सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले विभिन्न शीर्षकमा बैंकको रकम हिनामिना भएको अनुसन्धानबाट खुलेको बताए । ‘करिब ५६ दिनसम्म हामीले घटनाको अनुसन्धान गर्यौँ । यस क्रममा यिनीहरूले  तलब वृद्धि गर्ने शीर्षकमा, राइट सेयर बिक्री गर्ने बहानामा, अन्तर शाखा कारोबार गर्ने नाममा बैंकको रकम घोटाला गरेको देखिन्छ । त्यसबाहेक नक्कली ऋणी बनाएर, सवारी कर्जा प्रवाह गर्ने  बहानामा र गोल्ड लोन प्रवाह गर्दा पनि बैंकको रकम घोटाला गरेको देखिन्छ,’ उनले भने ।

राष्ट्र बैंकले गत ११ पुसमा डेभलपमेन्ट बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो । बैंकको कुल निक्षेप संकलन चार अर्ब ९० करोड देखिएको छ । बैंकको स्थापना ०७० मा भएको थियो । त्यसलगतै बैंकमा जम्मा भएको निक्षेप अपचलन हुँदै आएको थियो । रकम हिनामिनामा पूर्वसिइओ दिनेशकुमार रावत, वर्तमान सिइओ निरजविक्रम शाह पनि संलग्न रहेको देखिएको छ । तर, उनीहरू अहिले फरार छन् । 

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेलगत्तै मातहतका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीनसदस्यीय समिति बैंक पठाएको थियो । समितिको सदस्यमा वित्तीय संस्था सुपरिवेक्षण विभाग उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखा उपनिर्देशक जुगलकिशोर कुशवाह थिए । उनीहरूले गरेको अध्ययनपछि बैंकमा दुई अर्ब ५९ करोडभन्दा धेरै अपचलन भएको खुलेको थियो । 
 

सुझावित समाचार