एक्लोपन : वैश्विक स्वास्थ्य संकट र राजनीतिक असफलता

सोमबार, १३ साउन, २०८२
डिजिटल संस्करण

विश्वभरि एक अदृश्य, तर खतरनाक संकट सुषुप्त ढंगले फैलिँदै छ जसले रोगको जोखिम बढाइरहेको छ, मानिसको आयु घटाइरहेको छ र हाम्रो सामाजिक सम्बन्धका तन्तुलाई कमजोर बनाइरहेको छ । जब कुनै व्यक्ति पर्याप्त सामाजिक सम्पर्कबाट वञ्चित हुन्छ, आफूलाई आफ्नो सम्बन्धमा असहाय अनुभव गर्छ वा नकारात्मक वा तनावपूर्ण सम्बन्ध व्यहोर्छ त्यस अवस्थालाई सामाजिक विच्छेदन भनिन्छ । यो विच्छेदन स्वास्थ्य र समग्र जीवनस्तरका लागि एक गम्भीर, तर लामो समयदेखि बेवास्ता गरिएको खतरा बनेको छ । सामाजिक विच्छेदनका विभिन्न रूपमा एक्लोपन र सामाजिक एकाकीपन समावेश छन् ।

आजको दिनमा विश्वका लगभग प्रत्येक ६ मध्ये एकजनाले आफूले एक्लो महसुस गरेरहेको बताएका छन् । किशोरकिशोरी, युवा वर्ग र न्यून आय भएका मुलुकमा यो अनुपात थप बढी छ । तर, सामाजिक एक्लोपन केवल भावनात्मक अवस्था मात्र नभई यसका प्राणघातक शारीरिक प्रभाव पनि हुन सक्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदनअनुसार सन् २०१४ देखि २०१९ को अवधिमा सामाजिक एक्लोपन बर्सेनि आठ लाख ७१ हजारको मृत्युको कारक थियो, अर्थात् प्रतिघण्टा सयौँ मानिसले एक्लोपनकै कारण ज्यान गुमाइरहेका छन् । अर्थपूर्ण सम्बन्ध बनाउन र कायम राख्न सक्ने क्षमता अर्थात् सामाजिक स्वास्थ्य, शारीरिक र मानसिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण पक्ष हो । र, यसलाई पुष्टि गर्ने प्रस्ट प्रमाण मौजुद छन् । बिडम्बना, यो तेस्रो पक्षलाई स्वास्थ्य प्रणाली र नीति–निर्माताले लामो समयदेखि नजरअन्दाज गरिरहेका छन् ।

अर्थपूर्ण सम्बन्ध कायम राख्न सक्ने क्षमता अर्थात् सामाजिक स्वास्थ्य शारीरिक र मानसिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण छ 

सामाजिक सम्बन्धसम्बन्धी डब्लुएचओको यो प्रतिवेदन राष्ट्र संघको स्वास्थ्य महासभाले पहिलोपटक सामाजिक सम्बन्धमाथि प्रस्ताव पारित गरेपछि सार्वजनिक गरिएको हो । यो प्रतिवेदनले सामाजिक विच्छेदनलाई गम्भीर वैश्विक स्वास्थ्य संकटका रूपमा स्थापित गर्दै निर्णायक नेतृत्व र कामकारबाहीको खाँचो देखाएको छ । यसले प्रमाणमा आधारित रणनीति प्रस्तुत गर्दै व्यक्तिबाट समाजसम्मको सम्बन्ध बलियो बनाउन सकिने उपाय देखाएको छ ।

मानव प्रजाति सम्बन्धका लागि नै बनेको हो । बाल्यकालदेखि नै सामाजिक सम्बन्धले हाम्रो मस्तिष्कको विकास, भावनात्मक स्थायित्व र समग्र जीवन गुणस्तर निर्धारण गर्छ । यसविपरीत, सामाजिक विच्छेदनले हृदयाघात, मस्तिष्कघात, डिप्रेसन, चिन्ता, डिमेन्सिया र अकाल मृत्युको खतरा बढाउँछ । यसले विद्यार्थी र कर्मचारीको कार्यक्षमता घटाउँछ र समाज तथा अर्थतन्त्रमा अर्बौं डलरको क्षति पुर्याउँछ । तर, सुखद पक्ष के हो भने समाधान उपलब्ध छन् । प्रतिवेदनले नीतिनिर्माणदेखि समुदायस्तरीय कार्यक्रम, जनचेतना अभियान र व्यक्तिगत सहयोगसम्मका उपाय प्रभावकारी हुन सक्ने देखाएको छ । सकारात्मक उदाहरण विश्वका विभिन्न देशमा देख्न सकिन्छ ।

दक्षिण अफ्रिकामा वृद्ध र गरिबलाई लक्षित गरी सहकर्मी सहयोग कार्यक्रम सञ्चालन गरिएको छ । दक्षिण कोरियामा वृद्धवृद्धालाई संगीत, कथावाचन, बगैँचाकर्म, र आत्मसहायता समूहजस्ता गतिविधिमा संलग्न गराउने ‘सामाजिक व्यवस्था’ कार्यक्रम लागू गरिएको छ । जिबुटीमा सामाजिक सम्बन्धलाई समग्र विकास नीतिमा समावेश गरिएको छ ।

अल्बानियामा वृद्धसम्बन्धी नीति र स्पेनमा मानसिक स्वास्थ्य नीतिमा सामाजिक सम्बन्धलाई जोडिएको छ । डेनमार्क, जर्मनी, जापान, फिनल्यान्ड, नेदरल्यान्ड्स र स्विडेनले सामाजिक एकता र सम्बन्ध सुदृढ गर्न समर्पित राष्ट्रिय रणनीति अघि सारेका छन् । अस्ट्रेलिया, बेलायत र अमेरिकाजस्ता देशमा भने ससाना सद्भावपूर्ण कार्यलाई प्रोत्साहन गर्ने राष्ट्रिय अभियान सञ्चालन गरिएका छन् । 

हामी विश्वका सबै देशलाई सामाजिक सम्बन्धलाई राष्ट्रिय प्राथमिकतामा राख्न आह्वान गर्छौंं । यो केवल व्यक्तिगत स्वास्थ्यको विषय होइन । यसले आर्थिक समृद्धि, राष्ट्रिय लचिलोपन र सामाजिक एकता निर्माणमा समेत भूमिका खेल्छ । जहाँ विश्वास र सम्बन्ध बलिया छन्, ती समाज नवप्रवर्तनशील, सुरक्षित र संकटको सामना गर्न सक्षम हुन्छन् । कोभिड–१९ महामारीले यसलाई स्पष्ट बनायो । कोभिडकालमा लकडाउनले शारीरिक दूरी बढाउँदा मानवीय सम्बन्धको आवश्यकता झनै महसुस गरियो र यसको अभावले पुर्याउने क्षति पनि झनै उजागर भयो ।

डब्लुएचओको प्रतिवेदनले नीति, अनुसन्धान, हस्तक्षेप, मापन र सहभागिता भन्ने पाँच स्तम्भमा आधारित अन्तर्राष्ट्रिय योजना अघि सारेको छ । यसले सामाजिक सम्बन्ध सुदृढ गर्न केही मुख्य उपाय अपनाउन सुझाव दिएको छ । पहिलो, स्वास्थ्य, शिक्षा र श्रम नीतिमा सामाजिक सम्बन्धलाई स्पष्ट रूपमा समावेश गर्न आवश्यक छ ।

कुन उपाय प्रभावकारी छन् भन्ने बुझ्न थप अनुसन्धानमा लगानी गर्नु आवश्यक छ । यसबाहेक सांस्कृतिक सान्दर्भिकता र मितव्ययी कार्यक्रमको विस्तारमा विशेष ध्यान दिनुपर्ने रहेको छ । सामाजिक विच्छेदनको अवस्था र प्रगतिलाई मापन गर्न भरपर्दो तथ्यांक संकलन गर्नुपर्नेछ । अन्ततः, सामाजिक लाञ्छना हटाउने र जनमानसमा सकारात्मक दृष्टिकोण निर्माण गर्ने अभियान सञ्चालन गर्नु जरुरी रहेको प्रतिवेदनले औँल्याएको छ ।

यो अभियानमा सामाजिक एक्लोपनमा पीडा भोगेका आवाज सुन्नु अत्यावश्यक छ । यिनै मतले प्रभावकारी समाधानको खाका तयार गर्न सक्छन् । हामी नेतृत्वदायी भूमिकामा रहनेहरूलाई अब भने निष्क्रिय रहने छुट छैन । हरेक दिनको विलम्ब एक नयाँ पीडा, एउटा अनावश्यक मृत्यु र एउटा गुमेको सम्भावना हो । तर, हामीले सामूहिक रूपमा, दयाका साथ र निर्णायक रूपमा अघि बढ्यौँ भने हामी स्वस्थ, एकीकृत र लचिलो समाजको निर्माण गर्न सक्छौँ । सामाजिक स्वास्थ्य कुनै विलासिता होइन, यो मानवीय आवश्यकता हो । मौजुदा समयमा सामाजिक स्वास्थ्यलाई राजनीतिक प्राथमिकतामा राख्नु सबैभन्दा आवश्यक देखिएको छ ।

(घेब्रियेसस विश्व स्वास्थ्य संगठनका महानिर्देशक हुन्, मूर्ति र म्पेम्बा विश्व स्वास्थ्य संगठनको सामाजिक सम्बन्ध सम्बन्धित समितिका सहअध्यक्ष हुन्) अलजजिराबाट

सुझावित समाचार