दोस्रो एनपिएल : मिनी अक्सनमा ४ सय ५८ खेलाडी

आइतबार, ११ साउन, २०८२
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनको मिनी अक्सनका लागि चार सय ५८ जना नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यानले पहिलोपटक मिनी अक्सन २४ साउनमा आयोजना गर्ने घोषणा गरेको हो । पहिलो एनपिएलमा सबै टिमले ११ जनासम्म खेलाडी सीधै खरिद गरेका थिए । 

यसपटक क्यानले एक अनिवार्य मार्कीसहित ६ खेलाडी रिटेन गर्न पाउने मापदण्ड बनाएको थियो । सोहीअनुसार आठ टिमले ५६ खेलाडी रिटेन गरेका छन् । अब, सहभागी टिमले रिटेन नगरेका खेलाडीको मूल्यबराबर अरू खेलाडी किन्न पाउनेछन् । 

यसअघि अक्सनका लागि क्यानले जुलाई १२ देखि २२ खेलाडी दर्ता खुलाएको थियो । अब, यो सिजनको मिनी अक्सनमा सहभागी आठ टोलीले ५ देखि ६ खेलाडी टोलीमा आबद्ध गर्नेछन् । 

दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण एनपिएलमा सहभागी ८ फ्रेन्चाइज टोलीहरूलाई उपलब्ध गराई प्राविधिक समितिले तयार गरेको मापदण्ड र फ्रेन्चाइज टोलीले इच्छ्याएका खेलाडीको सूचीबाट अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली प्रकाशन गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् । 

क्यानले दोस्रो सिजनको एनपिएल आगामी नोभेम्बरमा गर्ने तयारी गरिरहेको छ । त्यसका लागि सहभागी टोलीले तयारी तीव्र बनाएका छन् । कर्णाली याक्सले नेपाली प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिँदा काठमाडौंले नयाँ प्रशिक्षक मोन्टी देसाईलाई अनुबन्ध गरेको छ ।

अन्य ६ टिमले प्रशिक्षक सार्वजनिक गर्न बाँकी नै छ । यसपटक एनपिएल कीर्तिपुरस्थित पुनर्निर्माण भएको मैदानमा हुनेछ । क्यानले रातको समय फ्लडलाइटमा प्रतियोगिता गर्ने तयारी थालेको छ । 

See More On

सुझावित समाचार