देश चौतर्फी विकासको गतिमा छ : प्रधानमन्त्री ओली

शनिबार, १० साउन, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले नेपाल अहिले चौतर्फी विकासको गतिमा अघि बढिरहेको दाबी गरेका छन् । शुक्रबार बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको अन्त्यपछि देश समृद्धिको दिशामा अघि बढेको बताएका हुन् । देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका क्षेत्रमा उल्लेखनीय फड्को मारेको उनले बताए ।

प्रधानमन्त्री ओलीले विकासमा हुलाकी राजमार्गको उदाहरण दिँदै अहिले उक्त परियोजनाको निर्माण तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए । ‘हुलाकी राजमार्गमार्फत अब हामी मेचीदेखि महाकालीसम्म जोडिन गइरहेका छौँ, यसले पूर्व–पश्चिम यातायात प्रणालीमा क्रान्तिकारी सुधार ल्याउनेछ,’ उनले भने । देशभर १० देखि १२ वटा स्मार्ट सिटी निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिँदै उनले यसले सहरी पूर्वाधारमा गुणस्तर वृद्धि गर्ने, व्यवस्थित सहरीकरण गर्ने र समग्र आर्थिक विकासलाई टेवा पुर्याउने बताए ।

मधेश प्रदेशमा फैलिएको गम्भीर सुक्खा अवस्थालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको संकटलाई योजनाबद्ध ढंगले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संकटग्रस्त क्षेत्र घोषणा मात्र गरेर जनताको पीडा समाधान नहुने भन्दै तत्कालीन तथा दीर्घकालीन उपायहरू अघि सारिने उल्लेख गरे । प्रधानमन्त्री ओलीले परवानीपुर गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको हातबाट गराए ।  

प्रधानमन्त्री ओलीले मधेश प्रदेशका अधिकांश जिल्लामा सडक तथा पुल निर्माणकार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । तर, केही निर्माणकार्यमा ठेकेदारको लापरबाहीका कारण ढिलाइ भएको उल्लेख गर्दै सरकारले ती ढिलाइ हटाउन कडाइका साथ अघि बढ्ने बताए ।

सुझावित समाचार