प्रधानमन्त्री केपी ओलीले मधेशको सुक्खाग्रस्त समस्या समाधानका लागि तत्काल पाँच सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । शुक्रबार सुक्खाग्रस्त क्षेत्रको हेलिकोप्टरबाट हवाई अवलोकन गरेपछि महोत्तरीमा निर्माण सम्पन्न पुल उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीले समस्याको अल्पकालीन समाधानका लागि डिप बोरिङ जडान गर्ने घोषणा गरेका हुन् ।
अनावृष्टिका कारण आइपरेको समस्या प्रत्यक्ष देखेको र अवलोकनमा आउनुअघि सुनिसकेको समेत भन्दै उनले यसको अल्पकालीन र दीर्घकालीन समाधानमा सरकार प्रतिबद्ध रहेको बताए । उनले तत्कालीन र दीर्घकालीन योजनामार्फत मधेशको सुक्खाको समस्या समाधान गर्न सरकार अगाडि बढ्ने बताउँदै हाललाई डिपबोरिङ जडान गरिने बताए । एउटा डिपबोरिङले कम्तीमा पनि ६० बिघा जग्गा सिञ्चित गर्न सकिने भन्दै उनले तत्काल यो कार्य अघि बढाउने बताए ।
त्यस्तै उनले चुरेमा पानीको रिजर्भवायर बनाउने तथा तालतलैया निर्माण गरी जमिनको सतह सन्तुलनको उपाय गरिने बताए । मनसुनका वेलासमेत तराई–मधेशमा कम पानी परेकाले रोपाइँका लागि मात्रै होइन, पिउने पानीकै अभाव निम्तिएको छ । मधेशमा मध्यबर्खामै चरम खडेरी देखापरेपछि सरकारले बुधबार मधेशका आठवटै जिल्लालाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेको दुई दिनपछि शुक्रबार प्रधानमन्त्री सुक्खाग्रस्त क्षेत्रको अवलोकनका लागि निस्किएका हुन् ।
हेलिकोप्टरबाट सुक्खाग्रस्त क्षेत्रको अवलोकनपछि महोत्तरीको मटिहानी नगरपालिकामा रहेको विग्ही नदीमा निर्माण भएको पुल उद्घाटन गर्न आइपुगेका प्रधानमन्त्री ओलीले सरकारका सबै अंग तथा निकायलाई सुक्खा संकटको समाधानमा विशेष ध्यान दिन निर्देशनसमेत दिए । उनले गैरसरकारी संघ–संस्थालाई समेत सम्बोधन गर्दै सबैले क्षमताअनुसारको सहयोग गर्न आग्रह गरे ।