धारिलो हतियार प्रहार गरी भाइले गरे आफ्नै दाजुको हत्या

शुक्रबार, १० साउन, २०८२
डिजिटल संस्करण

चुरे जंगलको नजिक पर्ने सिराहाको गोलबजार नगरपालिका मुसहर्निया पुराण्डिह गाउँमा आपसी विवादको क्रममा आफ्नै भाइले धारिलो हतियार प्रहार गरी दाजुको हत्या गरेका छन् । 

मदिरा सेवन गरी घर फर्किएका गोलबजार- ३ मुसहर्निया पुराण्डिहका करिब २५ वर्षीय श्याम सदाले धारिलो हतियार प्रहार गर्दा बिहीबार राति सहोदर दाजु करिब ३५ वर्षीय लेलहा भनिने मोतीराम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारले घटनाको पुष्टि गर्दै मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाएको छ । घटनालगत्तै फरार भएका भाइको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति करिब ७ र ८ बजेको बिचमा घटना भएको हो । झन्डै डेढ घण्टापछि आफूहरूकहाँ खबर आएलगत्तै प्रहरी परिचालन गरिएको गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले जानकारी दिए । उनका अनुसार प्रहरी घटनास्थल पुग्दा स्थानीयले दाजुलाई अस्पताल पठाइसकेको र भाइसमेत फरार भइसकेका थिए ।

‘घटनास्थलमा प्रयोग गरिएको हतियार, प्रहार गर्ने व्यक्तिसमेत भेटिएन,’ उनले भने, ‘फरार रहेका भाइको खोजीका लागि प्रहरी परिचालन गरिएकाे छ ।’

गाउँबाट मदिरा सेवन गरेर घर फर्किएलगत्तै श्याम र उनकी श्रीमती कौशिल्यादेवीबिच झगडा भएपछि छुट्याउन गएका दाजु मोतीराममाथि धारिलो हतियार प्रहार भएको गोलबजार- ३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिए । मजदुरी गरेर जीविका चलाउँदै आएका मृतक दाजुकी श्रीमती गर्भवती छिन् ।

See More On

सुझावित समाचार