अत्यधिक मदिरा सेवन गरेर झापामा दुईजनाको मृत्यु भएको छ । एकजनालाई कन्काईको सडक किनारमा र अर्का व्यक्तिलाई बिर्तामोडमा सुँगुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कन्काई– ४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र सिवाकोटी मृत भेटिएका हुन् ।
शिवसताक्षी नगरपालिका– ११ घर भई हाल कन्काई– ४ मा बस्दै आएका सिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबाट जानकारी पाएको उनले बताए । निजले कन्काईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए ।
यसैगरी, बिर्तामोड नगरपालिका– ६ शुभबिहानी टोलस्थित सुँगुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका छन् । मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ ।
स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा मगरले सुँगुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आएका थिए । उनको सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘मृत भेटिनुभएका दुवैजना अत्यधिक मदिरा सेवन गर्दै आउनुभएको अनुसन्धानका क्रममा खुलेको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’
केही दिनयता झापामा तापक्रम बढेर उच्च गर्मी भएकाे भन्दै बेलुका अत्यधिक मदिरा सेवन गरी सुतेका वेला दुवैको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको उनले बताए । सिवाकोटीको शव सडकको किनारमा खाली खुट्टा भुइँमा पल्टिएको अवस्थामा र मगरको शव खोरको भुइँमा घोप्टो परेको अवस्थामा फेला पारेको थियो ।