रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

बिहिबार, ८ साउन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिष्कार गरेका छन् ।  

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद डा. तोसिमा कार्कीलाई बोल्न समय दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको मागअनुरूप छानबिन गर्न समिति नबनाइएकाले नबस्दासम्म विरोध गरिरहने बताइन् ।  

त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको मागबमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए । 

दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू संसद् बैठक कक्षबाट बाहिरिएका छन् ।

सुझावित समाचार