१९ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात

बिहिबार, ८ साउन, २०८२
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०८१/८२ मा पूर्वीनाका काँकडभिट्टाबाट रु. १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टीतेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव ०८०/८१ को तुलनामा रु. ९० करोड ८२ लाख अर्थात् ४.४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ६.५० प्रतिशत अर्थात् रु. ५९ करोड ६९ लाख १० हजार ले बढेको सूचना अधिकारी हुमागाईंले बताए ।

कार्यालयको तथ्यांकअनुसार गत आव ०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट रु. नौ अर्ब ७१ करोड ३२ लाख ९२ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा रु. आठ अर्ब ९२ करोड ८५ लाख मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो ।

यसैगरी, रु. सात अर्ब तीन करोड ३२ लाख मूल्य पर्ने ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ । यसैगरी, उक्त अवधिमा रु. दुई अर्ब ८२ करोड मूल्य पर्ने २५ हजार ५६८ मेट्रिकटन एलपी ग्यास, रु. ६६ करोड चार लाख मूल्य पर्ने सात हजार २९२ किलोलिटर एटिएफ र रु. २५ करोड ४९ लाख मूल्य पर्ने दुई हजार ८५२ किलोलिटर मट्टीतेल आयात भएको छ ।

सुझावित समाचार