- राष्ट्रिय टिम तयारीमा समावेश कराँते, तेक्वान्दो, उसु, बक्सिङ, जुडो, एथलेटिक्स, कुस्ती, कबड्डी, भलिबल र गल्फका प्रशिक्षक तथा संघका पदाधिकारीलाई कार्ययोजनासहित आउन राखेपको निर्देशन
नेपालले अर्को वर्ष जापानमा आयोजना हुने २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को तयारी गरिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलाडीलाई मिसन २०२६ भनी तीन वर्षदेखि राष्ट्रिय टिम तयारीमा राखेको छ । राखेपले आगामी एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको छ । एसियाडमा योजनाअनुरूप नतिजा निकाल्न र प्रशिक्षण उत्कृष्ट बनाउन सहभागी खेलका प्रशिक्षक तथा पदाधिकारीलाई राखेपले एक साताभित्र कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएको छ ।
मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा सहभागी १० खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षकलाई मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुदपरिसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले अर्को सातासम्म कार्ययोजना ल्याउन निर्देशक दिएका हुन् । कराँते, तेक्वान्दो, उसु, बक्सिङ, जुडो, एथलेटिक्स, कुस्ती, कबड्डी, भलिबल र गल्फका प्रशिक्षक तथा संघका पदाधिकारीलाई एक साताभित्र कार्ययोजना बुझाउन घिसिङले निर्देशन दिएका हुन् ।
‘एसियाली खेलकुद आउन अब मात्र १३ महिना बाँकी छ । यो अवधिमा कुन–कुन समय के गर्ने भन्ने स्पष्ट र ठोस कार्ययोजना एक साताभित्र कार्ययोजना बुझाउनुस्,’ घिसिङले भने, ‘मिसन २०२६ देशलाई खुसी बनाउने योजना हो । यो जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने योजना हो ।’ राखेपले ०७८–७९ देखि राष्ट्रिय टिम तयारी थालेको हो । अहिले एसियाडको तयारीमा पारा–ओलम्पिकका खेलाडीले पनि प्रशिक्षण गरिरहेका छन् । सदस्यसचिव घिसिङले आगामी एसियाडसम्म आफू पदमा नरहे पनि खेलाडीको प्रशिक्षण कुनै पनि हालतमा रोकिन नहुने जनाए । ‘त्यतिवेलासम्म म पूर्व भइसकेको हुन्छु, तर खेलाडीले निरन्तर प्रशिक्षणको अवसर पाउनु पर्छ’ उनले भने, ‘अनि मात्र खेलाडीले पदक जित्न सक्छन् ।’
एसियाडमा स्वर्णसहितको दोहोरो पदक जित्ने लक्ष्यमा राज्यले मात्र नभएर खेल संघले पनि उत्तिकै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । ‘यो योजनालाई सफल बनाउन राज्यको मात्र नभएर खेल संघको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भने ।
मिसनको बजेट दुई करोड ७० लाख
सरकारले मिसन २०२६ का लागि अहिले दुई करोड ७० लाख बजेट राखेको छ । खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बजेटतर्फ ध्यान नदिएर तयारीमा जुट्न घिसिङले आग्रह गरेका छन् । ‘मिसन २०२६ को हाल दुई करोड ७० लाख मात्र छ । यसैमा चिन्ता नगर्न आग्रह छ । संघहरूबाट ठोस योजना आए बजेटका लागि गम्भीर भएर पहल हुनेछ,’ उनले भने । खेलाडीहरूको सहभागिता र प्रशिक्षणको दायरा फराकिलो बनाउन अन्तर्राष्ट्रिय महासंघ तथा दूतावाससँग सहकार्य गर्नुपर्ने घिसिङले औँल्याएका छन् ।
प्रशिक्षणलाई प्रभावकारी बनाइने
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणलाई अझ कसरी सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन र सुझाव लिन बैठक राखेको बताए । खेलाडीको फिटनेस टेस्टपछि प्रशिक्षण सुरु हुने विष्टले जानकारी दिए । राखेपले ०८०–८१ देखि मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको हो । कुनै पनि एसियाली खेलकुद वा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लामो समयको तयारी सुरु गरिएको यो नै पहिलोपटक हो ।