जनसंख्या र भूगोलका हिसाबले जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तहको रूपमा रहेको सिराहाको लहान नगरपालिका– १२, पडरिया थारूटोलस्थित नयाँ भवनबाट वडा कार्यालय र स्वास्थ्य चौकीको सेवा प्रवाह थालनी गरिएको छ । नगरपालिकाको समपूरक कोष र संघीय सरकारको अनुदान गरी ७५ लाख रुपैयाँको लागतमा निर्मित दुईतले भवनबाट बिहीबार एक समारोहबिच नगर प्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष बद्रीनारायण चौधरीले संयुक्त रूपमा रिबन काटेर सेवा प्रवाहको थालनी गरेका हुन्। नवनिर्मित भवनको भुइँतलामा स्वास्थ्य चौकी र माथिल्लो तलामा १२ नं. वडा कार्यालयको सेवा प्रवाह थालिएको हो ।
भवनको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले लहान नगरपालिकाअन्तर्गतका २४ वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने गरी काम गरिरहेको बताए । ‘१२ नं. वडा क्षेत्रका सेवाग्राही नागरिकले पनि वडाको आफ्नै भवनबाट सेवा लिन पाउनेछन्,’ उनले भने, ‘यो भवन सबैको साझा उपलब्धि हो, अब एउटै भवनबाट स्वास्थ्य र प्रशासनिक सेवा लिन सकिनेछ ।’ उनका अनुसार स्थानीय तहको दोस्रो निर्वाचनपछि तीन वर्षको अवधिमा १३ वटा वडा कार्यालयको भवन निर्माण गरी आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको र आगामी आव ०८२/८३ मा थप पाँचवटा वडा कार्यालय भवन निर्माण सम्पन्न गरी सेवा दिन थालिनेछ ।
गत आर्थिक वर्ष ०८०/८१ देखि उपभोक्ता समितिमार्फत भवन निर्माण थालिएको वडाध्यक्ष बद्रीनारायण चौधरीले बताए। ‘पहिलोपटक वडाध्यक्ष निर्वाचित भएको ०७४ सालदेखि नै वडा कार्यालय भवनको पहल थालेको थिएँ, आठ वर्षपछि बल्ल आफ्नै भवन भयो,’ उनले भने। आफ्नै भवन नहुँदा यसअघि भाडाको घरमा दुईवटा कोठाबाट सेवा प्रवाह गर्दा भोग्दै आएको कठिनाइ अन्त्य भएको उनले बताए।
स्वास्थ्य चौकी पडरिया थारू टोलका प्रमुख अरविन्दकुमार चौधरीले वर्षौँ पुरानो जीर्ण भवनको दुईवटा कोठाबाट सेवा दिन समस्या झेलिरहेका वेला नयाँ भवन बनेपछि स्वास्थ्य सेवा सहज र प्रभावकारी बन्ने बताए । ‘बर्खामा छत चुहिने, वेलावेलामा छतको प्लास्टर उप्किएर झर्ने समस्याले हैरान भएका थियौँ,’ उनले भने, ‘एउटा कोठामा गर्भवती जाँच र अर्को कोठामा स्टोर, चौकीका कागजात राख्न, बिरामी जाँच्न भोग्दै आएको समस्या हटेको छ ।’ उनका अनुसार नयाँ भवनमा गर्भवती जाँच, परिवार नियोजन सेवा, प्रशासन, बिरामी जाँच, ड्रेसिङ, बाल रोग उपचारका लागि छुट्टाछुट्टै वार्डको व्यवस्था गरिएको छ ।