पाचन प्रणालीलाई आराम दिने फास्टिङ थेरापी

शनिबार, २१ असार, २०८२
डिजिटल संस्करण

स्वेच्छा वा खुसीले केही वा सबै खाना, पेय पदार्थ वा दुवैबाट निश्चित समयका लागि अलग रहने प्रक्रियालाई उपवास अर्थात् फास्टिङ भनिन्छ । उपवासबाट गरिने उपचार पद्धतिलाई फास्टिङ थेरापी भनिन्छ । प्राकृतिक उपचारमा उपवासलाई सबैभन्दा महत्वपूर्ण विधि मानिन्छ । 

उपवासलाई खानाको कुनै अतिरिक्त भारविना प्राकृतिक रूपले शरीर सफाइ गर्ने प्रक्रिया मानिन्छ । पाचन प्रणालीमा सक्रिय अंगलाई उपवासले आराम दिन्छ । सुरुमा एक सीमित समयका लागि उपवास बस्नुपर्छ र त्यसपछि बिस्तारै समयावधि बढाउँदै जानुपर्छ । 

फास्टिङलाई ईसापूर्व ४५० वर्षदेखि नै उपचार विधिका रूपमा प्रयोग गरिन्थ्यो । फास्टिङको श्रेय हिपोक्रेट्सलाई दिइन्छ । सबै धर्म संस्कारमा उपवास अर्थात् ‘फास्टिङ’लाई महत्व दिएको पाइन्छ ।

खानपिनका आधारमा उपवासका विभिन्न विधि छन् । निराहार, जलाहार वा फलाहार उपवास बस्न सकिन्छ । पूर्ण रूपमा भोकै बसिने उपवास निराहार उपवास हो । पूर्ण निराहारमा पानीसमेत पिइँदैन । पानीजस्तो तरल पदार्थ पिएर बस्ने उपवास जलाहार उपवास हो । फलफूल खाएर बस्ने उपवास फलाहार उपवास हो । आंशिक निराहार पनि बसिन्छ । फलफूल, जुस खाएर बसिने उपवासलाई आंशिक उपवास पनि भनिन्छ । 

जडीबुटी खाएर उपवास 
रोगलाई नाश गर्ने एकै किसिमको परिकार वा जडीबुटी मात्रै खाएर बसिने उपवासलाई ‘कल्प उपवास’ नाम दिएको पाइन्छ । विभिन्न जडीबुटीले ‘आमरस’लाई निष्क्रिय बनाउन मद्दत गर्छन् । खाद्य पदार्थ नखाए पनि यस्ता जडीबुटी तथा मनतातो पानी पिएर उपवास बस्नु उचित हुन्छ । खाली पेटै उपवास बस्नुपर्छ भन्ने छैन । फलफूल खानुका साथै जुस, दुध, पानीजस्ता पेय पदार्थ पिएर पनि उपवास बस्न सकिन्छ । 

कसरी बस्ने उपवास ?
व्यक्तिको शारीरिक अवस्थाअनुसार चिकित्सकको परामर्शमा मात्रै उपवास बस्नुपर्छ । स्वास्थ्यका लागि हरेक दिन एक छाक मात्रै खानु उचित हुन्छ । कतिपय अवस्थामा पानीसम्म नपिई पनि उपवास बस्ने चलन छ । कसैले भने फलफूल खाएर बस्ने, एक छाक मात्रै खाएर पनि उपवास बस्ने गर्छन् । दिन बिराएर, एक साता, पन्ध्र दिन, एक महिना, वर्षमा एकपटक पिरियोडिक उपवाससमेत बस्न सकिन्छ । सामान्यत: बालबालिकाबाहेक सबै उमेर समूहका व्यक्ति उपवास बस्न सक्छन् ।

फाइदा 
शरीरमा जम्मा भएका विकार तत्व, विष एवं फोहोर पदार्थलाई निष्कासन गर्न मद्दत गर्छ । मृत कोषिका प्रतिस्थापन गरी नयाँ कोषिका बन्ने प्रक्रियालाई द्रुत पार्छ । विभिन्न अंगलाई विशेष गरी पाचनप्रणाली र सोसँग सम्बन्धित अंगलाई आराम दिन्छ । कुनै रोग जस्तै अपच, मोटोपन, दम, उच्च रक्तचाप, र अन्य पाचन प्रणालीसम्बन्धी रोगमा फलदायी हुन्छ । खाली पेट बस्नाले पेट र आन्द्राको ऊर्जा शरीरका अन्य अंगमा पुगेर काम गर्न सक्छन् । पेट खाली राख्नाले ‘ग्यास्टोइन्टेस्टिनल सिस्टम’ले आराम गर्न पाउँछ । 

See More On

सुझावित समाचार