बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

शुक्रबार, २० असार, २०८२
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास लन्डनको संयुक्त आयोजनामा लन्डनमा आयोजित कार्यक्रममा ढकालले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताउँदै बेलायती व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरेका हुन्।

नेपाल र बेलायतबिचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो।

कार्यक्रमलाई विशेष सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतबिच दुई सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको, गोरखा सैनिकहरू भर्ती, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको ठसलो योगदान रहेको चर्चा गर्दै दुई देशबिचको यो सम्बन्धलाई व्यापार र लगानीमार्फत थप उचाइमा पुर्याउनुपर्ने बताए।

नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको चर्चा गर्दै उनले  नेपालको रणनीतिक भौगोलिक अवस्थिति, युवा र दक्ष जनशक्ति, कम श्रम लागत र विस्तार भइरहेको मध्यम वर्गले लगानीमैत्री वातावरण निर्माण गरेको उल्लेख गरे।

सूचना प्रविधिमा नेपाली युवाको सिप र दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवाको प्रतिस्पर्धी हब बनाउन सकिने बताउँदै उनले लगानीकर्तालाई नेपालमा लगानीका लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिबद्ध रहेको आश्वासन दिए।

सुझावित समाचार