नारायणगढ–बुटवल सडकको यात्रा अझै कष्टकर

बिहिबार, १२ असार, २०८२
डिजिटल संस्करण

वैकल्पिक मार्ग प्रयोग गर्न भनिए पनि दाउन्नेमा सवारीसाधनको लाइन कम हुन सकेन

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड राम्ररी चल्न नसकेको १० दिनभन्दा बढी भइसक्यो । दुम्किबासको विनयी खोला, दाउन्नेको खुर्सानी खोला र विश्वकर्मा बाबा मन्दिर गरी तीन ठाउँमा यात्रा गर्न कष्टकर छ । यात्रा सहज गराउन विनयी खोलाको पुल छिट्टै खोल्ने र दाउन्ने खण्डमा १० दिनमा पाँच सय टिपर गिट्टी बिछ्याउने भनिए पनि दुवै कामले पूर्णता पाउन सकेको छैन । ठेकेदार कम्पनी दुम्किबासको पुल तत्काल खोल्ने पक्षमा छैन । अविरल वर्षाले दाउन्नेको सडक दैनिकजसो हिलो र चिप्लोले गाडी गुड्न सक्ने अवस्था भएन । डाइभर्सन पटकपटक बगाएपछि दुम्किबास र दाउन्नेमा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको हो ।

दाउन्ने र दुम्किबासमा सडक पूर्ण रूपमा बन्द हुँदा एक दिनमै तीन हजारभन्दा बढी सवारीसाधन रोकिए । यसबिचमा सडक आयोजनाले सूचना निकालेर वैकल्पिक मार्ग प्रयोग गर्न भने पनि बुटवल–नारायणगढ सडकखण्डमा सवारीसाधन आउने क्रम रोकिएन । सूचनापछि केही चाप घटे पनि बस, ट्रक, साना तथा हल्का सवारीसाधन चली नै रहे । सामान्य अवस्थामा छोटो दूरीका सवारीसाधनलाई नगन्दा पनि दैनिक पाँच हजार सवारीसाधन गुड्ने यो सडकमा अहिले दैनिक दुई–तीन सयको हाराहारीमा मात्र त्यो पनि यात्रुवाहक बस र हल्का सवारीसाधन मात्र चलेको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जराले बताए । उनका अनुसार अहिले पनि नवलपुर खण्डमा हजारभन्दा धेरै ठूला तथा मालवाहक सवारीसाधन होल्डमा छन् ।

होल्डमा रहेका सवारीसाधनलाई दुई–तीन दिनमा एकपटक दुम्किबासको विनयी खोलामा अस्थायी डाइभर्सन बनाएर पठाउने गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले दाउन्नेमा पछिल्लो दुई दिनयता घाम लागेका कारण यात्रा केही सहज भए पनि बसहरू फस्ने र निकाल्ने क्रम चलिरहेको बताए ।

दाउन्नेको पूर्वी खण्डमा नौ किलोमिटर सडकमा १० दिनभित्र पाँच सय टिप गिट्टी हालेर सडक सञ्चालन गर्ने आयोजनाले जनाए पनि त्यसअनुसार काम हुन नसकेको ट्राफिक प्रहरी निरीक्षक बन्जाराले बताए । दाउन्ने खण्डमा काम भइरहे पनि खासै उपलब्धिमूलक हुन नसकेको उनको भनाइ छ । पूर्वबाट आउने मालवाहक सवारीसाधनलाई नारायणगढबाट पोखरा, स्याङ्जा हुँदै बुटवलको बाटो र बुटवलबाट आउने मालवाहक सवारीसाधनलाई पाल्पा, पोखरा, मुग्लिन हुँदै पठाइने गरेकाले अहिले नारायणगढ–बुटवल सडकमा सवारीसाधनको चाप निक्कै काम छ । तथापि, दाउन्नेमा जाम हुने क्रम भने अझै नरोकिएको बन्जाराले बताए ।

गैँडाकोट, कावासोती, अरुणखोला, बर्दघाट, दुम्किबासलगायत क्षेत्रमा होल्डमा रहेको सवारीसाधनलाई अस्थायी डाइभर्सन बनाएर पास गराउने प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

दुम्किबासको विनयी खोलामा पुल निर्माणको काम सकिएको २० दिन पुगेको छ । तैपनि पुल तत्काल खोल्ने पक्षमा ठेकेदार पक्ष चाइना स्टेट कम्पनी देखिएको छैन । १४ असारमा सञ्चालनमा ल्याइने भनेको पुल ढिलोमा २० असारसम्म सञ्चालनमा ल्याउने पक्षमा ठेकेदार पक्ष देखिएको छ । चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाले दुम्किबासको विनयी खोलाको पुल सञ्चालनमा ल्याउन अझै कम्तीमा १० दिन लाग्न सक्ने बताए । ‘पुल निर्माण सम्पन्न भएको ४५ दिनपछि मात्रै सञ्चालनमा ल्याउनुपर्ने हो, तर यात्रुहरूको समस्यालाई ध्यानमा राखेर २१ असारतिर सञ्चालनमा आउन सक्छ,’ उनले भने । 

सुझावित समाचार