श्रम मन्त्रालयका नासुसहित ६ जना सिआइबीको हिरासतमा

आइतबार, ८ असार, २०८२
डिजिटल संस्करण
श्रम मन्त्रालयका नासुसहित ६ जना सिआइबीको हिरासतमा

नासु पशुपति अधिकारी

किर्ते कागजातका आधारमा बिमा रकम ठगीकोे प्रयास 

किर्ते कागजपत्रका आधारमा १० लाखको बिमा रकम ठगीको प्रयास आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नायब सुब्बा (कम्प्युटर अपरेटर) पशुपति अधिकारीसहित ६ जना पक्राउ परेका छन् । वैदेशिक रोजगारबाट फर्किएपछि मृत्यु भएकी महिलाको बिमा रकम ठगीको प्रयास अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई सातादेखि हिरासतमा राखी लिखत किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको हो ।

नासु अधिकारीसहित मोहन नेपाली, रामबहादुर नेपाली, निरकुमार मल्ल, रामबहादुर तामाङ र कान्छामान तामाङ हिरासतमा छन् । उनीहरूमध्ये कान्छामान वैदेशिक रोजगारबाट फर्किएपछि मृत्यु भएकी सोमा थिङका श्रीमान् हुन् । 

सिआइबीका एसएसपी होबिन्द बोगटीका अनुसार पक्राउ परेका ६ मध्ये नासु अधिकारीसहित चारजना दुई वर्षअघि यस्तै अपराधमा पक्राउ परेर छुटेका व्यक्ति हुन् । त्यतिवेला नासु अधिकारी वैदेशिक रोजगार बोर्डकै सचिवालयमा कार्यरत थिए । उनीसहितको मिलेमतोमा वैदेशिक रोजगारमा गई मृत्यु भएकाको बिमा रकममा ठगी गरेका थिए । त्यतिवेला सरकारी वकिल कार्यालयले मुद्दा नचलाई मिलापत्र गराएपछि उनले उन्मुक्ति पाएका थिए । अहिलेको घटना भने अलि फरक प्रकृतिको छ ।

यसरी भएको थियो बिमा रकम हत्याउने प्रयास

करिब ६ वर्ष वैदेशिक रोजगारीमा युएई बसेकी सोमाको नेपाल फर्किएपछि श्रीमान्सँग विवाद भएको थियो । त्यही क्रममा उनले २५ असार ०७९ मा काभ्रेपलाञ्चोकको बनेपामा आत्महत्या गरेकी थिइन् । उनका श्रीमान् कान्छामान र निरकुमार मल्ल साथी हुन् । कान्छामानले वैदेशिक रोजगारीमा गएर मृत्यु भएकालाई सरकारले बिमाबापतको पैसा दिने कुरा निरकुमारलाई सुनाउँछन् । तर, मृत्यु भएको एक वर्षभित्र त्यसका लागि निवेदन दिइसक्नुपर्ने हुन्छ । एक वर्ष अवधि कटिसकेको थियो । 

निरकुमार र रामबहादुर पहिलेदेखि नै यस्तै धन्दा गर्दै आएका गिरोह हुँदै नासु अधिकारीसम्म पुग्छन् । त्यसपछि उनीहरू नक्कली कागजपत्र बनाएर १० लाख रुपैयाँ हात पार्ने योजनामा लाग्छन् । अधिकारीले उनीहरूलाई नक्कली कागजपत्र बनाउन सुझाउँछन् । सोहीअनुसार उनीहरूले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– १० को पत्रदेखि अध्यागमन विभागको नक्कली पत्रसमेत तयार गर्छन् । अझ अचम्म त श्रम अवधि सकिएकाले मृत्यु भइसकेका व्यक्तिको नाममा नक्कली श्रम बनाउँछन् । सोही आधारमा फेरि विदेश गएर आएको देखाउन अध्यागमन विभागले लेखेको पत्रसमेत किर्ते बनाएको एसएसपी बोगटी बताउँछन् । 

त्यसपछि १६ पुस ०८१ मा मृत्यु भएको भनेर वडाको नक्कली कागज बनाएर बोर्डमा पेस गरेका थिए । आत्महत्या गरेकामा त्यसलाई कालगतिले मृत्यु भएको भनेरसमेत गलत विवरण राखिएको थियो । आत्महत्याको पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले यसरी उनीहरूले फर्जी काम गरेका हुन् । 
पत्रहरू शंकास्पद लागेपछि वैदेशिक रोजगार बोर्डको सचिवालयले रोशी गाउँपालिका– १० लाई पत्राचार गरी त्यसबारे बुझ्दा सोमाको पहिले नै मृत्यु भएको खुल्छ । सोही आधारमा बोर्डले थप अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गरेको हो । 

अनुसन्धानका क्रममा नासु अधिकारीले नै सबै कागजपत्र बोर्डमा पेस गरेको देखिएको एसएसपी बोगटी बताउँछन् । त्यसका लागि उनको बोर्डका केही कर्मचारीसँग पनि मिलेमतोको आशंका गरिएको छ । सोही कारण त्यससम्बन्धी निवेदन कसले दर्ता गरेको थियो भन्नेसमेत जवाफ बोर्डको सचिवालयले प्रहरीलाई दिन सकेको छैन । 

यो घटनामा संलग्न नासु अधिकारीसहित मोहन नेपाली, रामबहादुर नेपाली र रामबहादुर तामाङलाई यस्तै घटनामा ०७९ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । नासु अधिकारी गत महिनासम्म मन्त्रालयमै कार्यरत थिए । उनले बोर्डमार्फत किर्ते गरेर धेरै फर्जी काम गरेको प्रहरीको आशंका छ । 

See More On

सुझावित समाचार