दब्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

शुक्रबार, ६ असार, २०८२
डिजिटल संस्करण

बागलुङ नगरपालिका– १०, दब्ल्याङमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दब्ल्याङमा सडक बगाएको हो।

सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ। करिडोर अवरुद्ध हुँदा बागलुङ सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिणी क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गंगाराम विकले बताए। करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारीसाधनसमेत बाटोमै थन्किएका छन्। 

कालोपत्र गर्ने काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर भत्काएको छ । कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने प्रहरी सहायक निरीक्षक विकले बताए।

सुझावित समाचार