विऔपनिवेशीकरणका लडाकु थियोंगो

बिहिबार, २३ जेठ, २०८२
डिजिटल संस्करण

थियोंगोका अनुसार साँचो अर्थमा विऔपनिवेशीकरण (डिकलनाइजेसन) तब मात्र सम्भव हुन्छ, जब जनताको चेतना विदेशी भाषाबाट मुक्त हुन्छ 

ङुग्गी वा थियोंगो नाच्न अत्यन्तै मन पराउँथे, सम्भवतः लेख्नभन्दा पनि बढी । ८० पार गरिसकेपछि र मिर्गाैलाको रोगले थलिँदा संगीतको केवल सम्झनाले नै उनी नाच्न थाल्थे । संगीत उनको खुट्टाबाट यसरी बग्थ्यो, जसरी शब्द उनका हातबाट पानामा झर्थे । म उनलाई सधैँ नाचिरहेको देखिने गरी सम्झनेछु । २८ मेमा ८७ वर्षको उमेरमा उनको निधन भयो । उनले गहिरो नवप्रवर्तन र मौलिक आलोचनाको यस्तो विरासत छाडे, जसले हामी लेखक, शिक्षक, अभियन्ता र साधारण नागरिकलाई उपनिवेशवादी जगविरुद्ध थप सजग र सशक्त हुन प्रेरणा दिन्छ ।

मेरा लागि उनी प्रेरणा थिए, जसले मलाई काकुमा शरणार्थी शिविरसम्म डोर्यायो, जहाँ भाषा र संस्कृति स्वतन्त्र रूपमा मिसिन्थे र मुटुबाट सोच्ने स्वतन्त्रता सम्भव हुन्थ्यो । थियोंगोका लागि यही लेखनको सबैभन्दा ठुलो वरदान थियो । पहिल्यै अफ्रिकी साहित्यको स्तम्भका रूपमा चिनिएका थियोंगो नोबेलका दाबेदार पनि भएका थिए । जब २००५ मा मैले उनलाई भेटेँ, उनको लेखन, शिक्षण र राजनीति एक–अर्काबाट छुट्टिने सक्दैनन् भन्ने बुझेको थिएँ । सधैँ हाँसिरहने थियोंगोको अनुहारले बाहिरी रूपमा खुसी देखाए पनि त्यो मुस्कानभित्र एक गहिरो आक्रोश लुकेको थियो, जुन बाल्यकालदेखि प्रौढसम्म भोगेका हिंसात्मक शासकीय संरचनाका घाउबाट जन्मिएको थियो ।

उनका श्रवणविहीन भाइलाई बेलायती सैनिकले चेकपोइन्टमा रोक्न दिएको आदेश नबुझेर अघि बढेपछि गोली हानेर हत्या गरेको थियो । यो हत्या र माउ–माउ विद्रोहको घटना, जसले उनका अरू दाइलाई उपनिवेशवादी शासनविरुद्ध खडा गराएको थियो, त्यसले थियोंगोको मानसपटलमा गहिरो छाप छाड्यो । यसले उनलाई हिंसा र विभाजन नै स्थायी उपनिवेशवादका दुई मूल इन्धन हुन्, जुन औपचारिक रूपमा स्वतन्त्रता प्राप्त भएपछि पनि निरन्तर क्रियाशील रहन्छ भन्ने बोध गरायो ।

यी घटना भएको आधा शताब्दीपछि पनि जब बेलायती शासनबाट केन्याली स्वशासनमा सत्तान्तरणको कुरा उठ्थ्यो, थियोंगो उपनिवेशवाद केवल बेलायतीको विदाइसँगै सकिएको होइन, बरु नयाँ केन्याली शासककै हातबाट अझ गहिरिएर जरा गाड्दै गएको छ भन्थे । एक लेखक र नाटककारका रूपमा अघि बढ्दै गर्दा उनी भाषालाई हतियार बनाउँदै बेलायती ‘सांस्कृतिक बम’ले मेटाएका अफ्रिकी पहिचान पुनः जोड्ने क्रान्तिकारी बौद्धिक बने । उनको पहिलो नाटक ‘द ब्ल्याक हर्मिट’ सन् १९६२ मा कम्पालामा मञ्चन भयो र त्यसपछि उनलाई ‘महादेशको आवाज’ का रूपमा चिनियो । र, सन् १९६४ मा आएको उपन्यास ‘विप नट चाइल्ड’ पूर्वी अफ्रिकी लेखकद्वारा अंग्रेजीमा लेखिएको पहिलो उपन्यास बन्यो । उनको ख्याति बढ्दै जाँदा अन्ततः थियोंगोले अंग्रेजी भाषा त्यागे र आफ्नै मातृभाषा गिकुयुमा लेख्ने निर्णय गरे । उनी साँचो मुक्ति मातृभाषामै सम्भव छ भन्ने विश्वास गर्थे ।

मातृभाषा गिकुयुमा फर्कनुले केवल थियोंगोको लेखकीय यात्रा मात्र नभई सम्पूर्ण जीवन नै परिवर्तित भयो । जब उनले अंग्रेजी वा राष्ट्रिय भाषा स्वाहिली नभई गिकुयुमै सत्ताको आलोचना गर्न थाले, केन्याली शासक आत्तिए । नतिजा सन् १९७७ मा उनलाई विनामुद्दा एक वर्ष जेल हालियो । जेलभित्र रहँदा र मातृभाषामा लेख्दै गर्दा उनले उपनिवेशवाद गइसकेको थिएन बरु नयाँ शासककै हातबाट नयाँ रूप लिइरहेको थियो भन्ने बोध गरेका थिए । यो ‘नवउपनिवेशवाद’ परम्परागत बुझाइभन्दा भिन्न थियो । उनका लागि नवउपनिवेशवाद भन्नुको अर्थ स्वतन्त्रता लागि लडेका र स्वतन्त्र भएका जोमो केन्याटाजस्ता नेताले आफ्नै जनतामाथि औपनिवेशिक प्रविधि र भाषामा शासन गर्नु थियो । त्यसैले, उनी साँचो अर्थमा विऔपनिवेशीकरण (डिकलनाइजेसन) तब मात्र सम्भव हुन्छ, जब जनताको चेतना विदेशी भाषाबाट मुक्त हुन्छ भन्थे । र, उनका लागि यो स्वतन्त्रताको पहिलो सर्त मातृभाषामा लेख्न पाउने अधिकार थियो ।

थियोंगोको नवउपनिवेशवादसम्बन्धी सोचले प्रायः मान्यता नपाए पनि यो मान्यता क्वामे एन्क्रुमाहजस्ता उपनिवेशविरोधी अफ्रिकी चिन्तकबाट गहिरो रूपमा प्रेरित थियो । उनको विचार आजका ‘विऔपनिवेशीकरण’ र ‘आदिवासी दृष्टिकोण’का प्राज्ञिक बहसभन्दा झन्डै एक पुस्ता अगाडि सोचिएको थियो । उपनिवेशपछिको चिन्तनको संस्थापक पुस्तामा एड्वर्ड सइद, होमी भाभा र गायत्री स्पिभाकसँगै थियोंगोलाई पनि राखिन्छ । उनी विशेषतः सइदसँग आत्मीयता राख्थे र उनलाई ‘भाइ’ मान्थे । दुवैका लागि उपनिवेशवाद कुनै बितेको इतिहास थिएन, अर्थात् उपनिवेशवाद आज पनि जिउँदो र हिंसात्मक रूपमा उपस्थित यथार्थ थियो । सइदका लागि त्यो इजरायली कब्जा थियो, थियोंगोका लागि आफ्नै मुलुकको नयाँ सत्ताले पुरानै औपनिवेशिक शैली दोहोर्याइरहेको थियो ।

थियोंगो र सइदको सम्बन्ध उनीहरू दुवै उपनिवेश शासनमा हुर्किएको साझापनमा आधारित थियो । थियोंगोका लागि सत्ताको दमनकारी प्रदर्शन उपनिवेशवादी संस्कृतिको मूल थियो र त्यसविरुद्ध बोल्ने पहिलो माध्यम भाषा नै थियो । सइदले अंग्रेजी र आफ्नो मातृभाषा अरबीबिचको तनावलाई ‘प्राथमिक अस्थिरता’ माने, जुन उनी प्यालेस्टाइन फर्किंदा मात्र शान्त हुन्थ्यो । थियोंगोका लागि गिकुयु भाषाले कल्पनाको नयाँ विश्वको सम्भावनाको ढोका खोलिदिन्थ्यो, अर्थात् जेलको झ्यालबाट स्वतन्त्रताको उडान भरिरहेकै चराजस्तो हुन्थ्यो । विडम्बना, जीवनका अन्तिम वर्षमा उनी आफ्नै घर फर्कन सकेनन् । तैपनि, अमेरिकाको क्यालिफोर्नियास्थित अरेन्ज काउन्टीबाट उनले विद्यार्थी र नयाँ पुस्ताका लेखकलाई आफूले व्यहोरेका हरेक उत्पीडनविरुद्ध ‘डर नमानी लेख’ भन्ने आग्रह गरे । यदि तिमीले डरविना लेख्न सक्यौ भने त्यो चराले सधैँ उडान भर्नेछ, उनी भन्थे ।

(लेभाइन युसी इर्भाइनका इतिहासका प्राध्यापक एवं त्यहाँको वैश्विक मध्यपूर्व अध्ययन केन्द्रका निर्देशक हुन्) 
अल जजिराबाट

सुझावित समाचार