विद्युत् र सिँचाइ क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलरबराबर ऋण स्वीकृत गरेको छ । विश्व बैंकले आज प्रेस विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैंक निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको जनाएको हो । नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवामा सुधार गरी कृषि उत्पादन बढाउने उद्देश्यका लागि उक्त ऋण सुविधा उपलब्ध गराइएको हो ।

जसमध्ये, विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर ऋण सुविधा लिइएको छ । उक्त रकमबाट कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाइने जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चाचन हुने आपूर्ति प्रणाली सुधार परियोजनाले सबस्टेसन निर्माण, वितरण संरचनाको स्तरोन्नति तथा त्यसको निगरानी गर्ने स्वचालित प्रणाली विकास गर्ने उद्देश्य राखिएको जनाइएको छ ।

त्यस्तै, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरण (फेज–३) का लागि १३ करोड ७० लाख अमेरिकी डलरबराबर ऋण स्वीकृत भएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराई कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्य यो परियोजनाले राखेको छ । यो परियोजनाबाट थप १७ हजार पाँच सय हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पुर्याइने र यसबाट करिब एक लाख ६० हजार मानिस लाभान्वित हुने ठानिएको छ ।

सुझावित समाचार