चिनियाँ सम्मानबाट ‘उत्साही’ बन्दै आज स्वदेश फर्किँदै पूर्वराष्ट्रपति भण्डारी

सोमबार, १९ जेठ, २०८२
डिजिटल संस्करण
  •  नेपालको नेतृत्व लिन भण्डारीलाई चिनियाँ पक्षको शुभकामना 
  •  चीनसँग नयाँ आधारमा नयाँ विश्वासको सम्बन्ध स्थापित भयो : एमाले नेता कर्ण थापा

चीनको दशदिने भ्रमण सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किँदै छिन् । राजधानी बेइजिङ र गान्सुमा उच्चस्तरीय वार्ता तथा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँगको संवाद र सभ्यतासँग सम्बन्धित कार्यक्रलाई सम्बोधन गरेर उनी सिचुआन प्रान्तको छेन्दु हुँदै स्वदेश फर्किन लागेकी हुन् । चीनमा हरेक भेटवार्ता र सम्बोधनमा भण्डारीले एमाले नेता र भावी नेतृत्वको रूपमा आफूलाई उभ्याएकी छिन् । 

शुक्रबार गान्सु प्रान्तमा चिनियाँ उपराष्ट्रपतिसँग अनौपचारिक साइडलाइन भेट गरेकी पूर्वराष्ट्रपति भण्डारीले अघिल्लो सोमबार बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख (मन्त्रीसरह ओहोदाका) लिउ जियान्चाओसँग औपचारिक भेटवार्ता गरेकी थिइन् । दशदिने औपचारिक भ्रमणमा भएका भेटवार्ता एवं छलफलबाट पूर्वराष्ट्रपति उत्साही भएकी छिन् । भ्रमण टोलीमा रहेका भण्डारीनिकट एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले भ्रमण सफल र उपलब्धिमूलक भएको बताए । ‘नयाँ आधारमा नयाँ विश्वास र सम्बन्ध स्थापित भयो । समग्रमा यो भ्रमण उपलब्धिमूलक रह्योे । यसले दुई देशको सम्बन्धलाई महत्वपूर्ण योगदान पुर्याएको छ,’ थापाले नयाँ पत्रिकासँग भने । 

पूर्वराष्ट्रपति भण्डारी चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा अघिल्लो शनिबार चीन आएकी हुन् । उनलाई चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको वरिष्ठ नेताका रूपमा सम्मान र व्यवहार गरेको थियो । चीन सरकारले उनलाई सरकार प्रमुखसरहको सम्मान र सुरक्षा दिएको थियो । 

गान्सुको डुनहुवाङ सहरमा शुक्रबार आयोजित कार्यक्रमपछि चिनियाँ उपराष्ट्रपति झेङसँग भण्डारीको भेट भएको थियो । थापाका अनुसार उक्त भेट औपचारिक नभएर साइडलाइन थियो । ‘बेइजिङदेखि गान्सु प्रदेशसम्मका हरेक औपचारिक अनौपचारिक भेटमा पूर्वराष्ट्रपतिज्यूलाई सबैले नेपालको वरिष्ठ राष्ट्रिय नेता भन्दै सबैलाई मिलाएर लैजान सक्ने सर्वस्वीकार्य नेताका रूपमा व्याख्या भएको थियो,’ एमाले नेता थापाले भने, ‘उहाँले सबै नेताहरूसँग सहज र गम्भीर कुराकानी गर्नुभयो । देशलाई केन्द्रमा राखेर उहाँले गरेको कुराकानीबाट चिनियाँ पक्ष पनि प्रभावित भएको छ ।’

 नेपालको नेतृत्व लिन शुभकामना
चिनियाँ नेताहरूले भण्डारीसँग भेटमा कम्युनिस्ट शक्तिहरूलाई मिलाएर अघि बढ्न र नेपालको नेतृत्व लिन शुभकामना दिएका थिए । गान्सुमा चिनियाँ नेताहरूले नयाँ जिम्मेवारीका लागि भन्दै शुभकामना दिएका थिए । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का केन्द्रीय सदस्य एवं गान्सु प्रान्तीय पार्टी उपप्रमुख तथा प्रान्तका गभर्नर रिन जेहेसँग पनि भण्डारीको भेटवार्ता भएको थियो । 

भण्डारीले गत सोमबार बेइजिङमा सिपिसी अन्तर्राष्ट्रिय विभागका प्रमुख (मन्त्री) लिउ जियान्चाओसँग भेटवार्ता गरेकी थिइन् । सोमबारै उनले सिपिसी अन्तराष्ट्रिय विभागद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनलाई एमाले नेताका रूपमा सम्बोधन गरेकी थिइन् । गान्सु प्रान्तमा पनि पूर्वराष्ट्रपति भण्डारीसँग एमाले सचिव रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापा, एमाले सांसद देवी भट्टचन, एमाले नेतृ एवं पूर्वसांसद गोमा देवकोटालगायत सहभागी छन् । 

 बेइजिङ वार्ता महत्वपूर्ण
भण्डारीले चीन यात्राका क्रममा गत सोमबार चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागका प्रमुख (मन्त्री) लिउ जियान्चाओसँग महत्वपूर्ण वार्ता गरेकी छिन् । बाँकी भेटवार्ताहरू त्यसकै निरन्तरता थिए । चिनियाँ नेता लिउले बैठकमा नेपालको राजनीतिक स्थिरताका लागि भण्डारीको अगुवाईमा वामपन्थी पार्टीहरूबिच सहकार्य र एकताका लागि प्रोत्साहित गरेका थिए । लिउले सिपिसीको नेपालमा कांग्रेसलगायत सबै पार्टीसँग सम्बन्ध रहेको र सहकार्य भइरहेको उल्लेख गर्दै राजनीतिक स्थिरताका लागि नेपालमा वाम पार्टीहरूबिच सहकार्य र एकता हुनुपर्ने बताएका थिए । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङले समय अभाव र विदेशी सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग मात्रै उनले भेटवार्ता गर्ने प्रचलनका कारण भण्डारीको भेट हुन नसकेको बताएका थिए । लिउले राष्ट्रपतिको सम्झना सुनाएका थिए । 

लिउले पूर्वराष्ट्रपति भण्डारीलाई पटक–पटक नेपालका वरिष्ठ नेता भनेर सम्बोधन गर्दै वामपन्थी पार्टीहरूबिच एकताका लागि नेतृत्वदायी भूमिका लिन सुझाव दिएका थिए । भण्डारीले पनि वामपन्थी एकता र सहकार्यका लागि प्रयास गरिरहेको र थप प्रयास हुने बताएकी थिइन् । भण्डारीलाई चिनियाँ पक्षले विश्वास गर्न सकिने शीर्ष नेताका रूपमा उभ्याएको पनि अर्थ लगाइएको छ । चिनियाँ नेता लिउले नेपालमा अहिलेको राजनीतिक पद्धतिलाई चीनले समर्थन गर्ने स्पष्ट पारेका थिए । 

सुझावित समाचार