भिजिट भिसाको र्‍याकेट नै चलाएको अवस्थामा मन्त्रीले कर्मचारीको जिम्मा लिन्नँ भनेर पन्छिन पाइँदैन: सूर्यनाथ उपाध्याय, पूर्वप्रमुख, अख्तियार

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

भिजिट भिसामार्फत हुने मानव तस्करीमा र्याकेट(गिरोह) नै चलाएको अवस्थामा गृहमन्त्रीले कर्मचारीलाई दोष दिएर आफू पन्छिने नपाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले बताएका छन्। कुनै १/२ जना कर्मचारी मात्र भ्रष्टाचारमा संलग्न नभई संगठित रूपमा भएको देखिएपछि यस्तोमा मन्त्रीले छानबिनका लागि तयार हुुनुपर्ने उनको भनाइ छ। 

नयाँ पत्रिकासँगको कुराकानीमा उपाध्यायले भने–
अध्यागमनको भिजिट भिसामा र्याकेट नै चलाइएको देखिन्छ । यो विषय सामान्य होइन। आफूले सरुवा गरेका कर्मचारीले त्यहाँ र्याकेट चलाउँदा पनि गृहमन्त्रीले आफूलाई थाहा छैन, कर्मचारीको जिम्मा लिन्नँ भन्न पाइन्छ र? बदनाम सहसचिवलाई छानेर गृह मन्त्रालयले किन अध्यागमनमा पठायो? यो एउटा कर्मचारीको मात्र बदमासी भएको भए कर्मचारी नै जिम्मेवार हुन्थ्यो, तर सबै मिलेर र्याकेट चलाएको देखिन्छ । र्याकेटमा त सबैले बाँडेर खाने होलान् नि ? त्यसकारण यस्ता विषयमा मन्त्रीले चोखो छु भनेर बोलेर मात्र उम्किन मिल्दैन। छानबिनका लागि तयार हुनुपर्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख रहेका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ। गृह मन्त्रालयकै संरक्षणमा भट्टराईलगायत अध्यागमन कर्मचारीले भिजिट भिसामा असुली धन्दा चलाएको आरोप लाग्दै आएको छ। सोही कारण गृहमन्त्री रमेश लेखकको विपक्षी दलहरूले राजीनामासमेत मागेर संसद् अवरुद्ध गरिरहेका छन्। गृहमन्त्री लेखकले भने कर्मचारीले गल्ती गर्दैमा आफूले त्यसको जिम्मा नलिने बताउँदै राजीनामा नदिने अडान राखेका छन्। 

सुझावित समाचार