बजेटको मिति सारेर १५ जेठलाई गणतन्त्र राष्ट्रिय उत्सव मनाउन एमालेको प्रस्ताव

बुधबार, १४ जेठ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेले बजेटको मिति सारेर १५ जेठलाई गणतन्त्र स्थापनाको राष्ट्रिय उत्सव मनाउने गरी संविधान संशोधन गर्न सकिने बताएको छ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूबिच सहमति गरेर १५ जेठमा गणतन्त्र स्थापनाको राष्ट्रिय उत्सव मनाउने व्यवस्था संविधानमा लेखेर बजेट ल्याउने मिति परिवर्तन गर्न सकिने बताए।

अन्य मुलुकमा पनि गणतन्त्र स्थापनालाई राष्ट्रिय उत्सवकै रूपमा मनाउने अभ्यास रहेको भन्दै पोखरेलले बिहीबार एमालेले आयोजना गर्ने गणतन्त्र जन्मोत्सवलाई साझा राष्ट्रिय कार्यक्रमका रूपमा लिएर सहभागी हुन सबै दलका नेता-कार्यकर्ता र आमजनसमुदायलाई अपिल गरे।

एमालेले बिहीबार भृकुटीमण्डपदेखि रत्नपार्कसम्म जनजाति र अल्पसंख्यकहरूको पहिचानसहित सांस्कृतिक झाँकी प्रस्तुत गरेर गणतन्त्र जन्मोत्सव मनाउने तयारी गरेको छ। महासचिव पोखरेलले ०४६ को परिवर्तन र गणतन्त्र स्थापनापछि देशको विकासमा भएको परिवर्तनबारे प्रकाश पारेका थिए।

सुझावित समाचार