प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा कांग्रेसको बैठकमा छलफल नहुनु दुर्भाग्य होः डा.शेखर कोइराला (भिडियोसहित)

मंगलबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका विषयमा कांग्रेसको बैठकमा छलफल नहुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। सभापति शेरबहादुर देउवाको निवासमा सोमबार भएको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा छलफल हुनुपर्नेमा आफ्नोबारेमा मात्रै केन्द्रित रह्यो भन्ने सुन्दा अचम्म लागेको उनको भनाइ छ। 

बैठकमा छलफल भएको विषय हास्यास्पद भएको उनको भनाइ छ। ‘हिजो नेपाली कांग्रेसको सभापतिको घरमा पदाधिकारीहरूको बस्नुभयो, छलफल गर्नुभयो, मलाई त के लागेको थियो भने यो छलफलमा प्रधानमन्त्रीले के बोलेको भनेर यो विषय उठ्ला, भन्ने लागेको थियो,’ उनले भने, ‘तर, दुर्भाग्य यो विषय उठेन, दुर्भाग्य भन्छु, देशमा यति सिरियस कुरा भइरहेको छ, प्रधानमन्त्रीजीले सिरियस कुरा गरिरहनुभएको छ, नेपाली कांग्रेसको पदाधिकारी बैठकमा अनि उहाँहरूले यो विषयमा छलफल गर्नुहुन्छ, छलफल मेरो विषयमा हुन्छ। योभन्दा हास्यास्पद के हुन्छ?’ 

प्रधानमन्त्री ओलीले १५ जेठमा काठमाडौं एमालेले कब्जा गर्नुपर्ने भनेर निर्देशन दिएका थिए। सो विवादित अभिव्यक्तिका विषयमा कांग्रेस मौन बस्न नहुने डा.कोइरालाको भनाइ छ।  

देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर–राजनीति र मुठभेडको भाषा बोल्दासमेत कांग्रेसले यसबारेमा आधिकारिक रूपमा कहीँकतै नबोलेकोमा आफूलाई छक्क लागेको बताए। प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने उनले बताए। 

विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उदघाटन गर्दै कोइरालाले भने– 'के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे–जे गरे पनि कांग्रेसले छुट दिँदै जाने?’ पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएकोमा चिन्तासमेत व्यक्त गरे। 

सुझावित समाचार