नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन लुकाएको आरोप लगाएका छन्।
गोरखा भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा गठन गरिएको उक्त आयोगको प्रतिवेदन सरकारले लुकाएको आरोप लगाएका हुन्।
‘देशका विद्यार्थीलाई देशमै राख्न र शिक्षा प्रणाली सुधार गर्न मेरो सरकारले आयोग गठन गरेको थियो। तेस्रो कार्यकालमा त्यो प्रतिवेदन खोजेर कार्यान्वयनका लागि निर्देशन दिइएको थियो। तर, हालका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो प्रक्रिया रोक्नुभएको छ। शिक्षा सुधारमा हामीले अघि बढाएका सकारात्मक पहल रोकिएका छन्,’ उनले भने।
अध्यक्ष प्रचण्डले बुढीगण्डकी आयोजनाजस्तो राष्ट्रिय गौरवको परियोजना अपेक्षाअनुसार अगाडि नबढेकोमा चिन्ता व्यक्त गरे। उनले आयोजनालाई सहमतिमा अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाए।
प्रचण्डले संघीयता कार्यान्वयनमा माओवादी केन्द्र नेतृत्वको सरकार जति गम्भीर हालको सरकार नरहेको टिप्पणीसमेत गरे। संघ, प्रदेश र स्थानीय तहबिच अधिकार बाँडफाँट र समन्वय आवश्यक रहेकोमा उनको जोड थियो।
संविधानले तोकेको संघीय संरचना कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण नहुँदा प्रदेश सरकारहरू अप्ठ्यारोमा परेको उल्लेख गर्दै उनले सरकार त्यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे।