कञ्चनपुरकोे भीमदत्त नगरपालिका वडा नं १३ मा ऐलानी जग्गा नापजाँच सुरु भएको छ। वडाध्यक्ष रामबहादुर बोहराले मंगलबारदेखि वडाको दक्षिण भूगोल जिरो प्वाइन्ट हात्तीसारबाट ऐलानी जग्गा नापजाँच सुरु गरिएको बताए।
वडाध्यक्ष बोहराले वषौँदेखि भूमिहीन, सुकुमबासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नाप्न सुरु गरिएको बताए।
आफूले चुनावका वेला गरेको वाचाअनुरूप नागरिकलाई जमिनको स्वामित्व दिलाउने वडाध्यक्ष बोगटीले बताए। छुट भएकालाई समावेश गर्न आयोगसँग छलफल गरिने उनको भनाइ छ।
वडासचिव हर्कबहादुर धामीले यसअघि भूमिहीन दलिततर्फ १३, सुकुमबासीतर्फ ३ र अव्यवस्थित बसोबासीतर्फ ३१८ जनाले फारम भरेको बताए। वडासचिव धामीले नापजाँचको कामकाज सुरुवात भएसँगै जग्गाधनी प्रमाणपत्र वितरणका लागि आयोगमार्फत अघि बढ्ने बताए।
भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले देशभर आयोगले तीव्र रूपमा जमिनकोे कामकाज अघि बढाएको बताउँदै नपाजाँचसँगै लालपुर्जा वितरण गरिने उल्लेख गरे।
१९ वडा रहेको भीमदत्त नगरपालिकाले सबै वडाहरूमा जमिन नापजाँच हुने जनाएको छ। भीमदत्त नगरका मेयर पदम बोगटीले नगरका सबै भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी, भूमिहीन दलितलाई चुनावी प्रतिबद्धताअनुरूप जमिनको मालिक बनाउने बताउँदै आएका छन्। मेयर बोगटीले सबै जिम्मेवार निकायलाई भूमिको समस्या समाधानतर्फ गम्भीर भएर लाग्न आग्रह गरेका छन्।
भूमि आयोग कञ्चनपुरले यसअघि दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरीसहितका भूमिहीन जनतालाई लालपुर्जा वितरण गरिसकेको छ।