पढाइमा अब्बल बन्दै चेपाङ बालबालिका : उत्कृष्ट विद्यालय बन्यो कान्देश्वरी

सोमबार, १२ जेठ, २०८२
डिजिटल संस्करण

चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हासिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका- १३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा आठको परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ ।

कक्षा आठमा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो । यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए । शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न संघसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनले बताए । उनका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा आठको परीक्षा दिएका थिए । त्यसमध्ये एकजनाले ए प्लस, सात जनाले ए र दुईजनाले बी प्लस ल्याएका छन् ।

‘पहिलो वर्षमा नै यसरी उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छौँ,’ उनले भने, ‘शिक्षक र विद्यार्थीको अथक मिहिनेतले यहाँसम्म आइपुगेका हौँ ।’ चेपाङ बालबालिका मात्र अध्ययनरत यस विद्यालयको नतिजाले सबैलाई उत्साहित बनाएको बताए । यस विद्यालयमा लक्ष्मी प्रतिष्ठानले आवासीय सुविधासहित छात्रावास सञ्चालन गरेपछि चेपाङ बालबालिकाको शिक्षामा सुधार आएको हो । ‘यहाँ बिहान ४ बजेदेखि राति ९ बजेसम्म नै विद्यार्थीलाई अध्यापन गराइन्छ,’ उनले भने, ‘शिक्षकहरू पनि आवासीय रूपमै बसिरहनुभएको छ ।’ 

राप्ती नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये कान्देश्वरी आधारभूत विद्यालयसहित तीनवटा स्कुलले कक्षा आठको परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले जानकारी दिइन् । यस नतिजालाई नगरपालिकाले समेत सकारात्मक रूपमा लिएको उनले बताइन् । लामिछानेले बजार क्षेत्रका विद्यालयसँगै विकटमा रहेको विद्यालयले पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण कान्दाको विद्यालय बनेको बताइन् ।

कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रूपमा चिनिन्छ । सवारीसाधन र बिजुलीसमेत नपुगेको यस ठाउँ शिक्षाको क्षेत्रमा रूपान्तरण हुँदै गइरहेको स्थानीय सीताबहादुर चेपाङले बताए । उनले पछिल्लो समय बालबालिकामा पढाइप्रति लगाव बढेको भन्दै हरेक अभिभावकमा आफ्ना छोराछोरी स्कुल पठाउनुपर्छ भन्ने धारणाको विकास भएको बताए । 

यहाँ पुग्न अझै पनि दुई–तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ । यहाँका विद्यार्थी कक्षा आठ उत्तीर्ण भएपछि अन्य ठाउँमा जानुपर्ने बाध्यता छ । गरिबीका कारण यहाँका बालबालिकाले बिचमै पढाइ छाड्ने गर्दछन् । पछिल्लो समय आठ कक्षा उत्तीर्ण बालबालिकालाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको प्रधानाध्यापक थपलियाले बताए ।  

यहाँ २०७२ साल अगाडि कक्षा तीनसम्म मात्रै अध्यापन हुने गरेको थियो । ०६७ मा एकै घरका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि यहाँ विभिन्न संघसंस्था र राज्यको ध्यान केन्द्रित हुन थाल्यो । लक्ष्मी प्रतिष्ठान र मितेरी फाउन्डेसनले गरिबी र अभाव देखेर चेपाङ समुदायको उत्थान र बालबालिकाको शिक्षाका लागि काम गर्न थाले ।

स्कुलमा लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको छ भने फाउन्डेसनले दुई शिक्षकको व्यवस्था गरिदिएपछि कक्षा आठसम्मको पढाइ सम्भव भएको हो । त्यसभन्दा अघि यहाँका अधिकांश बालबालिकाले कक्षा तीन पढेपछि बिचमै पढाइ छाड्ने गरेको विद्यालयका प्रधानाध्यापक थपलियाले बताए । ‘अहिले पनि अभिभावकको पढाउने क्षमता छैन, विभिन्न संघसंस्थाले सहयोग नगरेमा यहाँका बालबालिका पढ्नबाट वञ्चित हुनेछन्,’ उनले भने । 

विभिन्न दाताको सहयोगमा कक्षा आठसम्मको पढाइ गरे पनि दरबन्दी अभावका कारण कक्षा सञ्चालन गर्न समस्या आएको थपलियाले बताए । उनका अनुसार निम्नमाध्यमिक विद्यालयमा १० जना शिक्षकको दरबन्दी आवश्यक पर्छ । अहिले सातजना शिक्षकको दरबन्दी रहेको उनले बताए । विद्यालयमा शौचालय, पुस्तकालयको अभाव रहेको भन्दै उनले राज्यले विकटको विद्यालयमा ध्यान दिनुपर्ने बताए । 

पचासजना विद्यार्थी पनि नहुने यस विद्यालयमा अहिले १५० जना अध्ययनरत छन । विद्यार्थीको संख्या बढ्दै गएपछि स्रोतसाधनको आवश्यकतासमेत बढेको उनले बताए । रासस

सुझावित समाचार