प्रमुख कुटिएपछि कैलाली भन्सार कार्यालय ठप्प

कुटपिटमा संलग्न नगर प्रहरी प्रमुखविरुद्ध किटानी जाहेरी

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएको विरोधमा भन्सार कार्यालय ठप्प भएको छ । धनगढी उपमहानगरका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीसहितको टोलीले शनिबार राति १० बजेतिर भन्सार कार्यालय परिसरमा तिम्सिनामाथि कुटपिट गरेको थियो ।

कार्यालय प्रमुखमाथि कुटपिट भएको विरोधमा भन्सार कार्यालयका कर्मचारी एजेन्टले आइतबार दिनभर कार्यालयको कामकाज ठप्प पारेका छन् । सुरक्षाको माग गर्दै कर्मचारी कुटपिटको विरोधमा उत्रिएपछि कैलाली भन्सार कार्यालयबाट आइतबार कुनै पनि सामान आयात–निर्यात भएन ।

कैलाली भन्सार कार्यालयले अहिले दैनिक करिब तीन करोड रुपैयाँ राजस्व संकलन गर्छ । कार्यालयको सेवा बन्द भएपछि आइतबार राजस्व संकलन नभएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत खिम अर्यालले बताए । ‘कार्यालय प्रमुखमाथि कुटपिटपछि असुरक्षा महसुस गरेका छौँ, काम गर्ने वातावरण छैन,’ उनले भने, ‘कुटपिटमा संलग्नलाई कारबाही र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेर पेनडाउन गरेका हौँ ।’ आयात रोकिएपछि व्यवसायी मारमा परेका छन् । यो नाकाबाट निर्यात भने खासै हुँदैन ।

सार्वजनिक भएको सिसिटिभी फुटेजमा कार्यालय परिसरभित्र भन्सार प्रमुख तिम्सिनामाथि कुटपिट भएको देखिन्छ । नगर प्रहरी र भन्सार प्रमुखबिच भन्सारको ब्यारियलनजिक विवाद भएको र कार्यालय परिसरभित्र प्रवेश गरेपछि कुटपिट भएको हो । एउटा स्कारपियोले धनगढी–अत्तरिया ६ लेन सडकको मिडियनमा लगाएको जाली भत्काएर भागेको सूचनापछि नगर प्रहरी प्रमुख धामी नेतृत्वको टोली गाडी खोज्न राति कैलाली भन्सारको बेरियलसम्म पुगेको थियो ।

सूचना अधिकारी अर्यालले कार्यालय प्रमुख तिम्सिना खाना खाएर राति ब्यारियल बन्द गरेको छ/छैन भनेर हेर्न आएको र त्यहाँ खटिएका कर्मचारीलाई ब्यारियल राम्रोसँग बन्द गर्नू भनी निर्देशन दिएर फर्कने क्रममा नगर प्रहरीले कुटपिट गरेको बताए । ‘हाम्रो गाडी चेकजाँच गर्ने को हो भनेर भन्सारभित्रै प्रवेश गरेर निर्घात कुटपिट भएको हो,’ अर्यालले भने, ‘सिसिटिभी रहेको थाहा पाएपछि नभएको ठाउँमा लगेर लछारपछार गरिएको छ ।’

नगर प्रहरी निरीक्षक धामीले भने मापसे गरेको अवस्थामा सडकमा भेटिएका भन्सार प्रमुखसँग सामान्य धरपकड मात्र भएको दाबी गरेका छन् ।

सुझावित समाचार