२५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न

सोमबार, २९ बैशाख, २०८२
डिजिटल संस्करण

कास्कीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना कास्कीको पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका भएर बहने सेती नदीमा निर्माण गरिएको हो।

२०७७ भाद्रदेखि निर्माण सुरु गरिएको आयोजनाबाट उत्पादिन विद्युत् नेपाल विद्युत् प्राधिकरणले २७ कात्तिक २०८१ देखि खरिद गर्न सुरु गरेको थियो। आयोजनाको सम्पूर्ण निर्माणको काम भने हालै सकिएको हो। कोरोना संक्रमण कायमै रहेको समयमा सुरु गरिएको आयोजना निर्माणको गति सुरुमा केही सुस्त देखिएको थियो। कोरोनाको कारण आयोजनाको म्याद एक वर्ष थप भएको थियो।

नदी जलप्रवाहमा आधारित आयोजनाको मुख्य स्टेसन माछापुच्छ्रे गाउँपालिका– २ सार्दिखोलामा निर्माण गरिएको छ। सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध बाधेर ६ हजार चार सय मिटर लामो सुरुङमा पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट पावर हाउसमा खसालिएको छ। पावर हाउसमा रहेका १२.५ मेगावाट क्षमताका दुईवटा टर्वाइनमा पानी खसालेर विद्युत् उत्पादन गरिएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए। स्थानीयवासीसँगै पालिका र सरोकारवाला निकायबाट पाएको सहयोगका कारण आयोजना समयमै सम्पन्न गरिएको उनले बताए।

६ अर्बको लागतमा निर्माण गरिएको आयोजनामा तीन वित्तीय संस्थाले तीन अर्व ५० करोड लगानी गरेका छन्। आयोजना निर्माणको लागि एनएमबि बैंकको अगुवाइमा तीन संस्थाले ऋण लगानी गरेका हुन्। आयोजनामा एनएमबिले दुई अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड ऋण लगानी गरेका हुन्। अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी, आइपिओलगायतबाट जुटाइएको आयोजनाबाट वार्षिक ८७ करोडको विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ।

असोज २०७५ मा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनीमा एक हजार पाँच सयभन्दा बढी लगानीकर्ताहरूको लगानी रहेको छ। उत्पादित विद्युत् आयोजनाको मुख्य स्टेसनबाट चार किलोमिटर दूरीमा माछापुच्छ्रे गाउँपालिकास्थित लाहाचोकमा रहेको १३२ केभी सबस्टेसन लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। विद्युतगृहबाट सबस्टेसनसम्मको प्रसारण लाइनमा विद्युत् पुर्याउन १३ वटा टावर निर्माण गरिएको छ।

भिजन लुम्बिनीले सेतीको निर्माण सम्पन्नपछि २४.८ मेगावाटको बज्र मादी जलविद्युत् आयोजना निर्माण गर्न लागेको र यसका लागि लगानीसमेत सुनिश्चित भएको अध्यक्ष पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार बज्र मादीका लागि एनएमबि बैंक र कृषि विकास बैंले संयुक्त लगानी गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिसकेका छन्।

सुझावित समाचार