सगरमाथा संवादलाई सुझाव

सगरमाथा संवादले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउन सक्नुपर्छ

सोमबार, २९ बैशाख, २०८२
डिजिटल संस्करण

सगरमाथा संवाद नेपाल सरकारद्वारा सञ्चालित एक अन्तर्राष्ट्रियस्तरको बहुसरोकारवाला संवाद मञ्च हो, जसले विश्व, क्षेत्रीय र राष्ट्रिय महŒवका प्रमुख मुद्दामा गहन विचार–विमर्शका लागि विभिन्न क्षेत्रका व्यक्तिलाई एकसाथ जुटाउँछ । यस संवादको उद्देश्य सकारात्मक परिवर्तन ल्याउन साझा दृष्टिकोण विकास गर्नु र त्यसलाई अगाडि बढाउनु हो ।

संवाद मञ्चको नाम विश्वको सर्वोच्च शिखर सगरमाथा (माउन्ट एभरेष्ट)बाट राखिएको हो जसले मित्रता, साझा भलाइ र सामूहिक कल्याणको भावना बोकेको प्रतीकका रूपमा काम गर्छ । पृथ्वीको सबैभन्दा अग्लो स्थान भएकाले सगरमाथा विश्व घटनाको ‘उचाइको साक्षी’ पनि हो । यसले मानवता र प्रकृतिबिचको सामञ्जस्यपूर्ण सम्बन्धका मूल्यलाई जीवन्त राख्ने प्रेरणा दिन्छ । नेपाल स्वयं प्राचीन इतिहास, प्राकृतिक सम्पदा र विविध सांस्कृतिक परम्पराले भरिएको भूमि हो । हिमालय क्षेत्र— विशेषगरी सगरमाथाको फेदी विचार, ध्यान, शान्ति र ज्ञानप्राप्तिका स्थलका रूपमा प्राचीन समयदेखि चिनिँदै आएको छ । 

‘सगरमाथा संवाद २०२५’ को संस्करण नेपाल सरकारद्वारा १६ देखि १८ मे २०२५ सम्म काठमाडौंमा आयोजना गरिँदै छ, जसको मुख्य नारा ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ रहेको छ । यो कार्यक्रम एक अन्तरक्षेत्रीय, बहुसरोकारवाला मञ्चको रूपमा आयोजना हुनेछ, जसमा राष्ट्र तथा सरकार प्रमुखहरू, सांसद, नीति–निर्माता, अन्तरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज, थिंकट्यांक शिक्षाविद्, महिला, युवा तथा सञ्चारकर्मी सहभागी हुनेछन् । प्रत्येक दुई वर्षमा आयोजना हुने संवादले सहकार्य, विचार आदान–प्रदान र वैश्विक मुद्दामा अनुभव साझेदारीका माध्यमबाट दिगो भविष्यको दिशामा सामूहिक पहल गर्न विश्व समुदायलाई एक ठाउँमा ल्याउने प्रयास गर्छ । 

सगरमाथा संवादको औचित्य :  आजको अन्तर–निर्भर संसारमा, समकालीन चुनौतीलाई सम्बोधन गर्न र साझा समाधानका बाटो पहिल्याउन खुला, सहकार्यपूर्ण संवाद अत्यावश्यक छ । यस्तो संवादका लागि नेपाल एक अत्यन्त उपयुक्त स्थलका रूपमा प्रस्तुत हुन्छ– जहाँ शान्तिपूर्ण राजनीतिक परिवर्तन, समावेशी लोकतन्त्र, महिला सशक्तीकरण र समाजका सीमान्तकृत समुदायको सशक्तीकरणका प्रेरणादायी कथा पाइन्छन् । साथै, अन्तर्राष्ट्रिय शान्ति स्थापनामा सक्रिय सहभागिता र जलवायु परिवर्तनजस्ता विश्वव्यापी संकटसँग जुझ्न प्रतिबद्ध राष्ट्रका रूपमा नेपालले एक समर्पित भूमिका निर्वाह गर्दै आएको छ । 


सगरमाथा संवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालालाई एकत्रित गरी जलवायु संकटमा साझा दृष्टिकोण विकास गर्ने अवसर प्रदान गर्नेछ 
 

नेपाल केवल भौगोलिक दृष्टिले सुन्दर देश मात्र होइन, यो एक प्राचीन सांस्कृतिक र आध्यात्मिक धरोहरले भरिएको भूमि पनि हो । हिमालय क्षेत्र ऋषिमुनि, साधक, बोधिसत्व र विचारकको तपोभूमि रहँदै आएको छ । यही पृष्ठभूमिले प्रवचन, मनन, ध्यान, प्रकृतिसँगको समन्वय र ज्ञानको खोजलाई नेपालको मौलिक परम्परा बनाएको छ । ‘वादे वादे जायते तत्वबोधः’ अर्थात् संवादबाट ज्ञान प्राप्त हुन्छ भन्ने संस्कृत उखान होस् वा ‘सर्वे भवन्तु सुखिनः’ भन्ने मानवीय भावना— यी सबैले नेपालका मूल्य र दृष्टिकोणलाई निर्देशित गर्छन् । सगरमाथाजस्तै विशाल र प्रेरणादायी हिमालयले हामीलाई क्षितिजभन्दा परसम्म सोच्न, गहिरो रूपमा विचार गर्न र साझा हितका लागि जुट्न प्रेरित गर्छन् । 

राजनीतिक संक्रमण र लोकतान्त्रिक संविधानको सफल कार्यान्वयनसँगै नेपाल अब स्थायित्व र समावेशी विकासतर्फ उन्मुख भएको छ । सामाजिक–आर्थिक रूपान्तरणका आकांक्षासहित, देशले दिगो विकासका लक्ष्य र न्यायसंगत समाज निर्माणलाई आफ्नो प्राथमिकता बनाएको छ । यस्ता विश्वव्यापी लक्ष्य प्राप्त गर्न नेपालले क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारीको खाँचोलाई गहिरोसँग महसुस गर्दै आएको छ । यही सन्दर्भमा, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा दीर्घकालीन योगदान, परमाणु अप्रसारका पक्षमा वकालत र विश्वशान्तिका प्रयासमा अग्रसर नेपाल आज पनि साझा संवादका माध्यमबाट विश्वव्यापी सहकार्यलाई सुदृढ गर्न इच्छुक छ । 

यसकारण नेपालले संवाद, विचार, अनुभव र प्रेरणा साटासाट गर्न विश्वभरिका नेता, नीति–निर्माता, बुद्धिजीवी र सरोकारवालालाई एकत्रित गराउने सक्षम र स्वागतयोग्य प्लाटफर्मको भूमिका निर्वाह गरिरहेको छ । सगरमाथा संवादजस्ता पहल यिनै प्रयासका प्रतिफल हुन्, जसले साझा भविष्य निर्माणतर्फको यात्रामा सारा मानवजातिलाई एकसाथ उभ्याउने सम्भावना बोकेको छ । 

सगरमाथा संवादको उद्देश्य :  नेपालले वातावरण, अर्थतन्त्र र अन्य सामाजिक–सांस्कृतिक क्षेत्रसँग सम्बन्धित समकालीन विश्वव्यापी मुद्दामा विचार–विमर्श गर्न एक बहुसरोकारवाला र अन्तरक्षेत्रीय संवाद मञ्चका लागि उपयुक्त स्थल प्रदान गर्ने उद्देश्य राखेको छ । यसप्रकारको मञ्चले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारका विषयमा गहिरो छलफलको अवसर सिर्जना गर्दै विश्वसमुदायबिच सहकार्य र समझदारीलाई प्रवद्र्धन गर्न योगदान पुर्याउने विश्वास गरिएको छ । 

यस संवादमा राष्ट्र तथा सरकार प्रमुख, मन्त्री, सांसद, नीति–निर्माता, विशेषज्ञ, सञ्चारकर्मी, व्यवसायी समुदाय, फराकिलो नागरिक समाज, युवा तथा छलफल भइरहेका मुद्दाबाट प्रत्यक्ष प्रभावित व्यक्तिको सहभागिता रहनेछ । विविध पृष्ठभूमिका यी सहभागीले अनुभव, दृष्टिकोण र समाधानका उपाय साझा गर्दै समसामयिक चुनौतीमाथि बहस, सहकार्य र समाधानमुखी सोच विकास गर्ने अवसर प्राप्त गर्नेछन् । 

सगरमाथा संवादको दीर्घकालीन सोच : वर्तमान समयका सबैभन्दा सान्दर्भिक विषयहरू– जस्तै वातावरण, अर्थतन्त्र, तथा सामाजिक–सांस्कृतिक क्षेत्र, जसले मानवजातिको समग्र कल्याणमा प्रत्यक्ष प्रभाव पार्छन्, तिनमा खुला, स्पष्ट, अन्तत्र्रिmयात्मक र रचनात्मक विश्वव्यापी संवाद सञ्चालन गर्ने उद्देश्य यो पहलले लिएको छ । 

यस मञ्चको मुख्य उद्देश्य यस्ता जटिल र अन्तरसम्बन्धित विषयबारे गहिरो छलफल गर्नु मात्र नभई तिनको दीर्घकालीन समाधानका लागि विभिन्न सरोकारवालाको प्रतिबद्धता र संकल्पलाई पुनर्जीवित गर्नु पनि हो । विचार, अनुभव र रणनीतिको आदान–प्रदानमार्फत यो मञ्चले साझा चुनौतीको समाधानमा एकजुट प्रयास गर्न प्रेरणा दिने विश्वास लिएको छ । 

सगरमाथा संवाद २०२५ : नेपाल सरकारले आफ्ना महत्वपूर्ण मुद्दामा विश्वव्यापी बहस र विचार–विमर्शको मञ्चका रूपमा सन् २०१९ मा सगरमाथा संवादको स्थापना गरेको हो । यो बहुपक्षीय संवाद मञ्चले हरेक दुई वर्षमा विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका विषयमा बहस गराउने लक्ष्य राखेको छ । पहिलो संवाद सन् २०२० को अप्रिल २ देखि ४ सम्म आयोजना गर्ने तयारी हुँदै गर्दा कोभिड– १९ महामारीका कारण अन्तिम समयमा उक्त कार्यक्रम स्थगन गर्नुपरेको थियो । 

सरकारले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउन आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्ने भएको छ जसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आव ०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममार्फत दिएका हुन् । सो संवादमा व्यक्त गरिने धारणाका आधारमा जलवायुअनुकूलन तथा असर न्यूनीकरणका कार्यक्रम लागू गरिने र सन् २०४५ भित्र खुद शून्य कार्बन उत्सर्जन गर्ने नेपालको प्रतिबद्धता पूरा गर्न दीर्घकालीन रणनीति कार्यान्वयन गरिनेसमेत उनले स्पष्ट पारेका छन् । 

सगरमाथा संवाद २०२५ को पूर्वसन्ध्यामा जलवायु संकटबाट प्रभावित समुदायको आवाज उठाउन जनमञ्च आयोजना गरिएको छ । यही २१ वैशाखमा काठमाडौंमा सम्पन्न यो कार्यक्रम विभिन्न अभियान, महासंघ, सञ्जाल, गठबन्धन र नागरिक समाजका विभिन्न पक्षको सहकार्यमा सम्पन्न भएको छ । जनमञ्चको उद्देश्य जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्यसँग जोडिएका मुद्दामा अग्रपंक्तिका समुदायको आवाज सगरमाथा संवादसम्म पुर्याउनु रहेको छ । 

यस कार्यक्रममा बालबालिका, महिला, आदिवासी, साना किसान, अपांगता भएका व्यक्ति, अल्पसंख्यक र सीमान्तकृत समुदायहरूको सहभागिता थियो । जनमञ्च घोषणापत्र जारी गरेर यसलाई सगरमाथा संवादमा संवेदनशील समुदायका तर्फबाट माग प्रस्तुत गर्ने प्रमुख दस्तावेज तयार गरिनेछ । ५०० भन्दा बढी सहभागी यस कार्यक्रममा नीति–निर्माता, जलवायुविज्ञ, अनुसन्धानकर्ता, अन्तर्राष्ट्रिय संस्था र विकास साझेदारका प्रतिनिधि पनि सहभागी थिए । जनमञ्चले जलवायु प्रभावको सामना गर्ने र साझा स्रोतमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरेको थियो । 

सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । जसको मूल उद्देश्य जलवायु परिवर्तनले मानवजीवन र हिमाली पारिस्थितिकीमा पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिनु हो । २ देखि ४ जेठसम्म काठमाडौंमा आयोजना हुने तीनदिने अन्तर्राष्ट्रिय मञ्चमा करिब ५० देशका ३०० उच्चपदस्थ प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रमको पहिलो दिन उद्घाटन समारोह र प्लेनरी सेसनपछि ‘पर्वतभन्दा बाहिर : पर्वतलाई महासागरसँग जोड्दै’ शीर्षकअन्तर्गत चारवटा विषयगत सेसन हुनेछन् । जसमा हिमनदी संरक्षण, पहाडी क्षेत्र र टापुहरूको सम्बन्ध, जलवायुअनुकूल कृषि र सामुदायिक नेतृत्वका पहल समेटिनेछन् । 

दोस्रो दिन हरित अर्थतन्त्र, क्षति न्यूनीकरण, जलवायु न्याय र विज्ञान–प्रविधिको प्रयोगजस्ता चार मुख्य थिमअन्तर्गत आठवटा सेसन सञ्चालन हुनेछन्, जहाँ स्वच्छ ऊर्जा, पर्वतीय संस्कृति, जोखिम मूल्यांकन, समावेशी विकास, लंैगिक समानता र दिगो सहरका विषयमा गहन छलफल गरिनेछ । तेस्रो दिन, ४ जेठमा सहभागीलाई सगरमाथा क्षेत्रको हवाई अवलोकन गराइनेछ र त्यसपछि संवादको घोषणापत्र जारी गरी कार्यक्रम समापन गरिनेछ । यो मञ्चले राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालालाई एकत्रित गरी जलवायु संकटमा साझा दृष्टिकोण विकास गर्ने अवसर प्रदान गर्नेछ । 

संवादको सफलताका लागि केही सुझाव : सगरमाथा संवाद २०२५ नेपाल सरकारका लागि ऐतिहासिक अवसर प्रस्तुत गर्दै छ । यसको पूर्ण र अपेक्षित सफलताका लागि केही महत्वपूर्ण सुझाव छन् । पहिलो, स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नु महत्वपूर्ण छ विशेष गरी जलवायु परिवर्तनबाट प्रभावित समुदायलाई प्रमुख सरोकारवालाका रूपमा प्रस्तुत गर्दै वास्तविक समाधानलाई वैश्विक मञ्चमा ल्याउनुपर्छ । दोस्रो, दिगो परिणाम प्राप्त गर्न प्रभावकारी नीति र कार्ययोजना निर्माण गर्नु अत्यावश्यक छ, जसले संवादमा उठेका विचारलाई कार्यान्वयनयोग्य बनाउन मद्दत पुर्याउँछ । तेस्रो, पारदर्शिता र जवाफदेही प्रवद्र्धन गर्नु महत्वपूर्ण छ, जसले सरकारको प्रतिबद्धता र कार्यक्षमतामा विश्वास बढाउँछ ।

चौथो, जलवायु वित्त र प्रविधिको प्रवाहलाई प्राथमिकता दिनु जरुरी छ, जसबाट नेपाललाई अन्तर्राष्ट्रिय जलवायु कोष र पुनर्नवीकरणीय ऊर्जा स्रोतमा लगानी सुनिश्चित गर्न मद्दत पुग्नेछ । पाँचौँ, नयाँ साझेदारी र नेटवर्क निर्माण गर्नु महत्वपूर्ण छ, जसले विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर साझा प्रयासलाई बल पुर्याउनेछ । छैटौँ, शिक्षा र जनचेतनालाई बढावा दिनु आवश्यक छ, जसले जलवायु परिवर्तनबारे समाजमा व्यापक बुझाइ र समझको विकास गर्नेछ । सातौँ, तत्कालीन र दीर्घकालीन समाधानमा ध्यान दिनु महत्वपूर्ण छ, जसले जलवायु परिवर्तनका प्रभावलाई नियन्त्रणका लागि कार्यान्वयनयोग्य रणनीति तयार गर्न मद्दत पुर्याउँछ । 

अन्तिम, साझेदारीका अवसरको अधिकतम उपयोग गर्दै नेपालले अन्तर्राष्ट्रिय सहयोग र साझेदारीका माध्यमबाट जलवायु परिवर्तनको प्रभावलाई कम गर्नका लागि थप प्रभावकारी कदम उठाउन सक्छ । यी सबै सुझाव कार्यान्वयन गर्दै नेपालले सगरमाथा संवादलाई सफलतापूर्वक आयोजना गर्न र वैश्विक जलवायु संघर्षमा योगदान पुर्याउन सक्छ । 
(यादव नेपाल सरकारका शाखा अधिकृत हुन्)

सुझावित समाचार