भूगर्भविद्ले सुरु गरे जमिनमुनि भासिएको गाडी खोज्न

मंगलबार, २३ बैशाख, २०८२
डिजिटल संस्करण

गत शुक्रबार जमिनमुनि भासिएर हराएको गाडीको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेर काम थालेको छ। मंगलबार बिहान हेटौँडा आइपुगेको टोलीले काम थालेको हो । टोलीले घटनास्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रबारे अध्ययन गर्नेछ । खानी तथा भूगर्भ विभागबाट चारजनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । 

विभागका भूगर्भविद नारायण अधिकारीले घटनास्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताए । घटनास्थलको सतहमुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गी केही उपकरण प्रयोग गर्ने तयारी रहेको उनले बताए । टोलीले प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्रको विषयमा अध्ययन गर्ने उनको भनाइ छ ।

म्याग्नेटो मिटरको  आधारमा भूगोलको चुम्बकीय क्षेत्र तथा पदार्थ (एनोमेलिक)को अवस्था पत्ता लगाउने (डिटेक्ट) उनले बताए । गत शुक्रबार हेटौँडा उपमहानगरपालिका– १६ र १७ को सिमानानजिकै गैरीगाउँमा भित्री सडकखण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिंगल क्याप बाेलेरो गाडी (भ्यान) जमिन भासिएर बेपत्ता भएको थियो ।

ना.४च ४८३३ नम्बरको उक्त गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासि जमिन नै भासिएर जमिनमुनि बेपत्ता भएको थियो । लगातार चार दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले आइतबार उक्त स्थानको अध्ययनका लागी भूगर्भविद्लाई ल्याएर अध्ययन गर्ने गरी पत्राचार गरेको थियो ।

See More On

सुझावित समाचार