ओडिसामा नेपाली विद्यार्थीको मृत्यु प्रकरण : ‘छोरीको मृत्युको निष्पक्ष छानबिन गरियोस्’

जाँचबुझ गरी एक साताभित्र प्रतिवेदन बुझाउन भारतको राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन

आइतबार, २१ बैशाख, २०८२
डिजिटल संस्करण

मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहका बुबाले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । पुरीस्थित स्वर्गद्वार घाटमा छोरीको दाहसंस्कारपछि स्थानीय मिडियालाई प्रतिक्रिया दिँदै प्रिसाका बुबा श्यामलाल साह कलवारले  भने, ‘हामी  घटनाको उचित अनुसन्धान गरी न्यायको माग गर्दछौँ ।’ गत बिहीबार दिउँसो ३ बजे छोरीसँग टेलिफोनमा कुरा गरेकामा सोही दिन राति मृत्युको खबर सुनेपछि श्यामलाल परिवारसहित भारत पुगेका थिए ।

प्रहरीले भने साहको मृत्यु घटनाको अनुसन्धानका जारी राखेको छ । होस्टेलमा एउटै कोठामा रहने प्रिसाका साथी र होस्टेलका अन्यसहित १० जनासँग प्रहरीले सोधपुछ गरिसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीले प्रिसाको मोबाइल फोन, ल्यापटप जफत गरेर फरेन्सिक जाँचका लागि पठाइसकेको छ । तीन फरेन्सिक चिकित्सकले पोस्टमार्टम गरेको ओडिसा प्रहरीका एडिसनल डेपुटी कमिसनर प्रकाशचन्द्र पालले बताए । ‘पोस्टमार्टम रिपोर्ट आउन केही दिन लाग्छ, त्यसपछि उनको मृत्युको कारणसहित विस्तृत जानकारी थाहा हुन्छ,’ दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले भने । सर्लाहीको कविलासी नगरपालिका– ८ स्थायी घर भएको प्रिसाको परिवार वीरगन्ज महानगरपालिका– १५ भिस्वा बस्दै आएको छ । उनी बिटेक प्रथम वर्षमा अध्ययन गर्थिन् ।  

त्यस्तै, भारतको राष्ट्रिय मानव अधिकार आयोगले प्रिसाको मृत्यु घटनाको गम्भीर जाँचबुझ गरी एक साताभित्र प्रतिवेदन बुझाउन भनेको छ ।  आयोगले ओडिसाका मुख्यसचिव र प्रहरी महानिर्देशक (डिजिपी)का नाममा सूचना जारी गर्दै साहको मृत्यु प्रकरणमा गम्भीर जाँचबुझ गर्न भनेको हो । आयोगले ९ मे अर्थात् २७ वैशाखभित्र जाँचबुझ अनुसन्धान सम्पन्न गर्न निर्देशन दिँदै यसअघि नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणका सन्दर्भमा भएका कारबाहीको प्रतिवेदन पेस गर्न पनि भनेको छ ।

आयोेगले नेपाली छात्राको मृत्युप्रति गम्भीर चासो व्यक्त गर्दै आवश्यक परेमा अनुसन्धानका लागि टोली ओडिसा जाने पनि बताएको छ । ‘आवश्यक परेमा आयोगकोे टोली यस विषयमा अनुसन्धान गर्न भुवनेश्वर आउनेछ । हाम्रो सर्वोच्च प्राथमिकता विद्यार्थीको सुरक्षा हो,’ आयोग सदस्य प्रियांक कानुंगोेलाई उद्धृत गर्दै ओडिसा टिभी अनलाइनले समाचार लेखेको छ । आयोगको सर्वोच्च प्राथमिकतामा विद्यार्थीको हित रहेको र बारम्बार भइरहेका मृत्युका घटनाको अनुसन्धान गर्न उनले बताएका छन् ।

‘किट विश्वविद्यालय, भुवनेश्वरको होस्टेलमा एक नेपाली विद्यार्थी शंकास्पद अवस्थामा मृत फेला परेकी छिन् । तीन महिनाभित्र विश्वविद्यालयमा दोस्रो यस्तो घटना हो । यो मुद्दाले विदेशी विद्यार्थीको सुरक्षाबारे गम्भीर चिन्ता उठाएको छ । आयोगमा परेको उजुरीमा लगाइएका आरोपहरू पहिलो नजरमा पीडितको मानव अधिकारको गम्भीर उल्लंघन भएको देखिन्छ,’ आयोगको पत्र उद्धृत गर्दै ओडिसाका सञ्चारमाध्यमले लेखेका छन् । 

यसअघि प्रकृति लम्सालको मृत्युको जाँचबुझ गर्न गठित आयोगको टोलीले किट प्रशासनको लापरबाहीलाई जिम्मेवार ठहर गरेको थियो । आयोगले विद्यार्थीको सुरक्षामा लापरबाही गरेको पनि जनाएको थियो । उक्त घटनामा किटले माफी मागेको थियो भने लम्सालको मृत्युको विरोधमा उत्रेका नेपाली विद्यार्थी निकाला गर्ने निर्णय र दुव्र्यवहारप्रति क्षमायाचना गरेको थियो । विश्वविद्यालयले लम्सालको नाममा हरेक वर्ष एकजना नेपाली विद्यार्थीलाई किटमा पूर्ण छात्रवृत्ति दिने घोषणा पनि गरेको छ । किटमा भारतीयपछि दोस्रो ठुलो संख्या नेपाली विद्यार्थीको छ । नेपाली विद्यार्थीको संख्या १२ सयभन्दा बढी छ ।

युजिसीले बनायो  छानबिन समिति
किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु प्रकरणमा छानबिनका लागि भारतको विश्वविद्यालय अनुदान आयोग (युजिसी)ले समिति बनाएको छ । किट विश्वविद्यालयको होस्टेलमा एकपछि अर्काे आत्महत्याका घटना हुन थालेपछि इन्दिरा गान्धी खुला विश्वविद्यालयका उपकुलपति नागेश्वर रावको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेर १० दिनको समयावधि दिइएको हो ।

समितिमा राष्ट्रिय शैक्षिक योजना तथा प्रशासन संस्थानका उपकुलपति शशिकला वंजरी र बिहारको गया केन्द्रीय विश्वविद्यालयका पूर्वउपकुलपति एचसिएस राठौर सदस्य छन् । आयोगकी सहसचिव सुनिता सिवाचलाई समितिको समन्वय अधिकारी तोकिएको छ ।

युजिसीका सचिव मनीष जोशीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार प्रिसाको मृत्यु घटनाको जाँच र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन उपाय सुझाउन समितिलाई कार्यादेश दिइएको छ । 

सुझावित समाचार