प्रिसाका बाबु भन्छन्– दिउँसो ३ बजे छोरीसँग फोनमा कुरा गरेँ, राति ८ बजे मृत्युको खबर आयो

शनिबार, २० बैशाख, २०८२
डिजिटल संस्करण

ओडिसामा नेपाली छात्राको मृत्यु प्रकरण

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह बिहीबार दिउँसोसम्म ठिकठाक थिइन् । उनले दिउँसो मात्र नेपालमा रहेका बुबा श्यामलाल साह कलवारसँग फोनमा कुरा गरेकी थिइन् । ‘छोरीसँग दिउँसो ३ बजे फोनमा कुरा भएको थियो, एकदम प्रेमसँग कुरा भएको थियो, कुनै असामान्य व्यवहार देखाइनन्,’ छोरीको मृत्युको खबरपछि शुक्रबार राति ओडिसाको भुवनेश्वर पुगेका श्यामलालले भने, ‘राति ८ बजे मृत्युको खबर आयो ।’ 

श्यामलालले स्थानीय प्रहरी र विश्वविद्यालयसँग घटनाको निष्पक्ष छानबिनको माग गरेको ओडिसाबाट सञ्चालित ओडिसाटिभीको अनलाइन संस्करणमा उल्लेख छ । ओडिसा राज्य सरकारले मृतक प्रिसाको परिवारलाई घटनाबारे निस्पक्ष छानबिन हुने बताइरहेको छ । तर, विश्वविद्यालयमा एकपछि अर्काे घटना हुन थालेपछि अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा र मनोवैज्ञानिक अवस्था सम्बन्धी गम्भीर प्रश्न उठाएको छ ।

जेठी छोरी प्रिसाको मृत्युको खबरपछि बुवाआमा र भाइ ओडिसा पुगेका हुन् । परिवारका सदस्य आएपछि मात्र पोस्टमार्टम गर्ने गरी भुवनेश्वर प्रहरीले शव सुरक्षित राखेको बिहीबार नै दूतावासलाई जानकारी दिइएको थियो । दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दासका अनुसार शनिबार शव पोस्टमार्टम गर्ने ओडिसा प्रहरीले जानकारी दिएको छ । 

भारतको राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रियंक कानुनगोले गत माघमा भएको घटनालाई अहिलेको घटनासँग जोडेकी छन् । किटमै अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत ४ माघमा मृत फेला परेकी थिइन् । ‘अघिल्लो पटक यस्तै घटना हुँदा मानव अधिकार आयोगले अनुसन्धान गरेको थियो, विद्यार्थीको सुरक्षाबारे प्रक्रियागत त्रुटि औँल्याएर सिफारिस गरेको थियो,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘ तर विश्वविद्यालयले ओडिसा उच्च अदालतमा निवेदन दियो, उच्च अदालतले आयोगको सिफारिस रोक लगायो । अहिलेको घटनाबारे पनि हामी जानकारी लिइरहेका छौँ ।’

प्रिसा साहको परिवार बस्दै आएको वीरगन्ज महानगर– १५ भिस्वास्थित घर । किटमा बिटेक प्रथम वर्षमा अध्ययनरत प्रिसा विश्वविद्यालयको होस्टेलमा बिहीबार साँझ मृत भेटिएकी थिइन् । बुबा, आमा र भाइ ओडिसा हिँडेपछि घरमा ताला लागेको छ ।

सर्लाहीको कविलासी नगरपालिका– ८ कविलासी स्थायी घर भए पनि प्रिसाका आमाबुबा वीरगन्ज महानगरपालिका– १५ भिस्वा बस्दै आएका छन् । श्यामलाल बाराको सिम्रौनगढ नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी हुन् । प्रिसाका भाइ भने सेन्ट जेभियर कलेजमा पढिरहेका छन् । बिटेक प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया प्रिसा बिहीबार साँझ विश्वविद्यालय छात्राबासको आफ्नै कोठामा मृत भेटिएको घटनापछि कविलासी र भिस्वा शोकमा डुबेका छन् । चारजना सदस्य रहेको प्रिसाका परिवार चाडपर्वको समयमा गाउँ जान्थ्यो । 

किटमा बिटेक प्रथम वर्षमा अध्ययनरत पर्सा वीरगन्जकी १९ वर्षीया प्रिसा साह विश्वविद्यालयको होस्टेलमा बिहीबार साँझ मृत भेटिएकी थिइन् । घटनामा विश्वविद्यालयले पनि आन्तरिक छानबिन समिति गठन गरेको छ । घटनाबारे ओडिसास्थित प्रहरीले आवश्यक जाँचबुझ गरिरहेको दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले बताए ।

बिहीबार अचेत अवस्थामा छात्राबासमा साहको अवस्था देखेपछि प्रशासनले प्रहरीलाई तत्कालै खबर गरेको र उनलाई केआइएमएस अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको विश्वविद्यालयको विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालयले घटनाको अनुसन्धानका लागि प्रहरीलाई पूर्ण सहयोग गरिरहेको तथा परिवारसँग पनि समन्वयमा रहेको शुक्रबार विज्ञप्तिमार्फत उल्लेख गरेको छ । 

किटमै अध्ययनरत रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल मृत फेला परेको साढे दुई महिनामा फेरि अर्काे घटना भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार होस्टेल प्रशासनले हाजिर लिने क्रममा बिहीबार साँझ साढे ७ बजे उनी बस्ने १११ नम्बर कोठाको ढोका ढकढकाउँदा नखुलेपछि बलपूर्वक ढोका खोलेर प्रवेश गर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

किट विश्वविद्यालयका विद्यार्थीको सुरक्षामा नेपालको चासो, भारतको प्रत्याभूति
किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्यु प्रकरणपछि नेपाल सरकारले विद्यार्थीको सुरक्षा प्रत्याभूतिमा चासो जनाएको छ । परराष्ट्र मन्त्रालयले किटमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि समन्वय गरिरहेको जनाएको छ ।  किटमा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्, तीमध्ये नेपाली विद्यार्थीको संख्या कम्तीमा १२ सय छ ।

भारतीय विदेश मन्त्रालयले पनि विदेशी विद्यार्थीको सुरक्षा, हितमा सरकार गम्भीर भएको र यसका लागि ओडिसा राज्य सरकारसँग समन्वय भइरहेको जनाएको छ । ‘यस दुःखद घटनाका सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान हुन तथा उक्त शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि मन्त्रालयले आवश्यक समन्वय गरिरहेको छ,’ परराष्ट्रद्वारा शुक्रबार साँझ जारी विज्ञप्तिमा भनिएको छ । घटनाबारे नेपाली दूतावास, भारतीय विदेश मन्त्रालय, ओडिसा राज्य सरकारका सम्बद्ध निकायलगायतसँग निरन्तर समन्वय भइरहेको परराष्ट्रले जनाएको छ । भारतीय विदेश मन्त्रालयले नेपाली छात्राको मृत्युको घटनामा दुःख व्यक्त गर्दै घटनाको जाँचबुझका लागि ओडिसा राज्य सरकारसँग समन्वय भइरहेको पनि उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीको हित, सुरक्षा र सकुशलतालाई विदेश मन्त्रालयले गम्भीरतापूर्वक लिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ । 

सुझावित समाचार