विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा ‘सिरिजंघा पर्यटन महोत्सव–२०८२’ को आयोजना गरिएको छ। कञ्चनजंघामा पर्यटन प्रवर्द्ध, प्रचारप्रसार गरी पर्यटकको आगमन गराउने उद्देश्यले कञ्चनजंघा क्षेत्रको करिब तीन हजार चार सय मिटर उचाइ रहेको सिरिजंघा गाउँपालिका–८ याम्फुदिनको झोरेनीमा महोत्सव आयोजना गरिएको हो ।
झोरेनीमा तीनदिने पर्यटन महोत्सव आयोजना गरिएको छ । सिरिजंघा गाउँपालिकाले आयोजना गरेको पर्यटन महोत्सव सोमबार सम्पन्न भएको छ। महोत्वसमा जलवायु परिवर्तनले हिमालमा पारिरहेको असर साथै लोपोन्मुख हिमाली जीवजन्तुको अवस्था पहिचान गरी संरक्षणको उपाय अवलम्बन गर्दै पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबोले बताए ।
कञ्चनजंघा क्षेत्रमा पाइने दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु रेडपान्डा (हाब्रे), हिमचितुवासहित झारल, मुनाल, कस्तुरी, डाँफेजस्ता जीवजन्तुको पहिचान गरी संरक्षण गर्नु महोत्सवको उद्देश्य रहेको र कञ्चनजंघा हिमालसँगै दुर्लभ वन्यजन्तुको संरक्षण गरी पर्यटकलाई आकर्षित गर्ने वातावरण निर्माण गर्नु महोत्सवको उद्देश्य रहेको डा. माबोले जानकारी दिए ।
महोत्सवले कञ्चनजंघा हिमालको थप प्रचारप्रसार हुनेमा स्थानीय सरकार विश्वस्त रहेको गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताए । पर्यटन महोत्सवमा साहसिक पदयात्रा, हाफ खुला म्याराथन प्रतियोतिगा, याक तथा चौँरी प्रदर्शनीलगायतका विभिन्न कार्यक्रम गरिएको थियो । त्यस्तै, याक चौँरी प्रदर्शनी कार्यक्रमका कारण हिमाली भेगमा याकचौँरी पालन गर्दै आएका किसान महोत्सवप्रति आकर्षित भएकोसमेत बताइएको छ ।
महोत्वसमा साहसिक खुला हाफ म्याराथन प्रतियोगिता राखिएको थियो । सो प्रतियोगितामा विजेता प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख आठ हजार ५८६, एक लाख आठ हजार ५८६ र ५८ हजार ५८६ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताए ।
याकचौँरी प्रदर्शनीमा सहभागी भई प्रथम हुनेलाई २८ हजार ५८६ रुपैयाँ र अन्य प्रदर्शनीमा सहभागिता जनाउने सबैलाई आठ हजार ५८६ रुपैयाँका दरले सान्तवना पुरस्कार प्रदान गरिएको र कञ्चनजंघाको उचाइअनुसार पुरस्कार राशिको अन्तिम अंक निर्धारण गरिएकोसमेत प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिए । महोत्सव कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङनामको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।