बाँदर धपाउने क्रममा भरुवा बन्दुक लागेर एकको मृत्यु

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

संखुवासभाको सभापोखरीमा भरुवा बन्दुक लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सभापोखरी गाउँपालिका– ५ घर भएका वर्ष २५ का कुमार लिम्बू रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले बताए।

उनका अनुसार सभापोखरी गाउँपालिका– ५ बाह्रबिसे सुखिबुङ भन्ने ठाउँमा शुक्रबार जंगलमा बाँदर धपाउन कुमारसहित तीनजना गएका थिए। बाँदर धपाउने क्रममा अचानक चिप्लिएर लड्दा साथीले बोकेको भरुवा बन्दुक लागेर कुमारको घटनास्थलमा नै मृत्यु भएको भनी उनीहरूले बाह्रबिसे प्रहरी चौकीमा खबर गर्न आएका डिएसपी बस्नेतले जानकारी दिए।

घटनास्थल बाह्रबिसेबाट करिब ५–६ घण्टाको दूरीमा पर्छ। घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सूर्यप्रसाद अधिकारीको कमान्डमा चारजनाको टोली खटिएको डिएसपी बस्नेतको भनाइ छ।

निज दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको नाम सार्वजनिक गरिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार