कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित बगरमा एक आधुनिक कभर्डहल निर्माण गरिएको छ। शुक्लाफाँटा नगरपालिका– १० झलारी सुनबरा नदीको बगरमा आधुनिक कभर्डहल निर्माण गरिएको हो । नगरपालिकाले आफ्नै स्रोतमा सुनबरा नदी बगर प्रयोग गरेर कभर्डहल निर्माण गरेको जनाएको छ । यसअघि उक्त क्षेत्र सुनबरा नदीको कटानीले बगरमा परिणत गरेको थियो । नगरपालिकाले त्यही बगर सदुरुपयोग गर्दै खेलाडीका लागि आधुनिक पक्की भवन निर्माण गरेको नगरपालिकाले जनाएको छ ।
शुक्लाफाँटा नगर प्रमुख रणबहादुर महराले खेलाडीको वृद्धि विकासका लागि आधुनिक कभर्डहल निर्माण गरेको बताए । ‘यो कभर्डहल हामीले आफ्नै स्रोतबाट बनाएका हौँ,’ उनले भने, ‘हामीले निर्वाचनअगावै खेलकुद विकासको पनि हामीले एजेन्डा अघि सारेका थियौँ, नगरकै गौरवको योजना अघि बढाएका छौँ ।’ मेयर महराले तीन करोड ५० लाख बजेटमा दुई करोड ६९लाख बजेटमा निर्माण गरिएको बताए । दुई ब्याटमिन्टन कोर्ट, प्यारापिट, चेन्जिङरुम, शौचालायसहित निर्माण गरिएका छन् । मेयर ओझाले आगामी दिनमा कभर्डहल क्षेत्रमै खेलकुद मैदान निर्माण गर्ने योजना रहेको बताए ।
‘खेलाडीको आवश्यकताअनुरूप इन्डाेर प्रतियोगिता सञ्चालन गर्न हामीले बजारनजिकै भवन निर्माण गरेका छौँ,’ मेयर महराले भने, ‘अब नगरका खेलाडीले बाह्य स्थान गएर खेलकुद खेल्नुपर्दैन ।’ शुक्लाफाँटा नगरपालिकाका इन्जिनियर दीपक धामीले कभर्डहल एसएनएस जयलक्ष्मी जेभीले ०६९ असारदेखि सुरु गरी गत ०८१ कात्तिकमै सम्पन्न गरेको बताए । शुक्लाफाँटा नगरका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले उक्त कभर्डहल सञ्चालनका लागि नगर खेलकुद समितिलाई जिम्मेवारी दिइएको बताए । ‘यसलाई हामीले अब नियमित सञ्चालन गर्छौँ,’ उनले भने, ‘नगरकै खेलकुद वृद्धि विकासका लागि राम्रो बनाउने योजना छ ।’ शुक्लाफाँटा नगर खेलकुद समितिका अध्यक्ष चक्र साउदले नगरमा खेलकुदका लागि इन्डोर नहुँदा समस्या भएको बताए । ‘यसअघि हाम्रो यहाँ खेलकुद खेल्न कभर्डह थिएन, खेल्न समस्या हुन्थ्यो,’ उनले भने, ‘अब खेलाडीलाई सहज हुने भएको छ ।’
नदीले बनाएको बगरमा कभर्डहल निर्माण भएपछि स्थानीयसमेत हर्षित भएका छन्। स्थानीय अनिता नेपालीले कभर्डहल निर्माण भएसँगै यहाँ खेलाडीको चहलपहल बढ्ने बताइन् । उनले कभर्डहल र गाउँबस्ती जोगाउन तटबन्ध आवश्यक रहेको औँल्याइन्।