आक्रमणकारीलाई नछाड्ने मोदीको चेतावनी, उपयुक्त प्रतिक्रिया दिइने पाकिस्तानको घोषणा

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कस्मिरको पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आक्रमणका जिम्मेवारलाई कठोर सजाय दिइछाड्ने प्रतिज्ञा गरेका छन् । कस्मिरमा मंगलबार भएको आक्रमणपछि पहिलोपटक सम्बोधन गर्दै मोदीले भने, ‘म सारा विश्वलाई भन्छु– भारतले हरेक आतंकवादी र तिनका समर्थकलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको जुनसुकै कुनामा भए पनि खोज्नेछौँ ।’

भारतले बुधबार इस्लामाबादलाई ‘सीमापार आतंकवाद’लाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक उपायहरूको शृंखलासहित आफ्नो छिमेकीसँगको सम्बन्ध घटाएको थियो । पाकिस्तानले भने पहलगाम आक्रमणमा आफ्नो कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ । बिहार राज्यमा विकास परियोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले मारिएकाहरूको सम्झनामा पहिले दुई मिनेट मौन धारण गरेका थिए । 

सन् १९४७ मा बेलायतले भारतीय उपमाद्विप छाडेदेखि कस्मिर भारत र पाकिस्तानबिच विभाजित छ । तथापि, दुवै देशले यसको सबै भेगमाथि पूर्ण रूपमा दाबी गर्न छाडेका छैनन् । विद्रोही समूहले स्वतन्त्रता वा पाकिस्तानसँगश् बिलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित कस्मिरमा विद्रोह आएका छन् ।

भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमको कडा प्रतिवाद गरेको छ । नयाँ उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री सहबाज सरिफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाएका थिए । सेना प्रमुख जनरल आसिम मुनिरसहित सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए । 

बैठकपछि एक वक्तव्य जारी गर्दै भनिएको छ, ‘पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कदमको जवाफ दृढ र समुचित ढंगले दिइनेछ ।’ भारतले कस्मिरमा भएको एक आक्रमणपछि पाकिस्तानसँगको पानी बाँडफाँट सन्धि निलम्बन गर्ने, प्रमुख सीमा नाका बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकको भिसा खारेज गर्ने निर्णय लिएको छ । त्यस्तै पाकिस्तानले आफ्ना आकाशमार्ग भारतीय विमान कम्पनीका लागि तत्काल प्रभावबाट बन्द गरेको छ । 

त्यस्तै पाकिस्तानमा बसिरहेका भारतीय नागरिकको भिसा रद्द गरिएको छ । तथापि, सिख तीर्थयात्रीलाई यसमा छुट दिइएको छ । इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने प्रयासलाई ‘एक्ट अफ वार(युद्ध कदम)’ भन्दै आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

See More On

सुझावित समाचार