भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कस्मिरको पहलगाममा भएको दुःखद आतंकवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गरेका छन्। उनी आज राति भारत फर्कनेछन् ।
यो आक्रमण मंगलबार बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यावसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। घटनामा कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् । जसमा २२ जना भारतीय पर्यटक, दुईजना स्थानीय नागरिक र दुईजना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन्।
यस आतंकवादी हमलाको जिम्मेवारी लस्कर–ए–तोएबा नामक पाकिस्तानस्थित आतंकवादी समूहको छाया संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ। प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् । यस घटनापछि गृहमन्त्री अमित शाह सुरक्षा स्थिति मूल्यांकन गर्न श्रीनगर पुगेका छन् ।
ट्रम्पद्वारा गहिरो दुःख प्रकट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मु–कस्मिरको पहलगाममा भएको दुःखद आतंकवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गरेका छन् । सो आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहेको ह्वाइट हाउसको प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिए।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा लेभिटले भने, ‘पहलगामको लोकप्रिय पर्यटक स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमार्फत जानकारी गराइएको छ। प्रारम्भिक जानकारीअनुसार घटनामा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ र धेरैजना घाइते भएका छन्। राष्ट्रपति ट्रम्प यथाशीघ्र प्रधानमन्त्री मोदीसँग वार्ता गर्नेछन् र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्नेछन्।’
राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा समेत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘कस्मिरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्याएको छ। अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतसँग दृढतापूर्वक साथ दिनेछ। हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’