सय वर्षमा आरएसएस : निरन्तरतामा परिवर्तन

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

आरएसएसले हिन्दुत्व प्रवद्र्धन मात्र नभई मुसलमानविरुद्ध भय र आक्रोश सिर्जना गरी ध्रुवीकरणको रणनीति पनि अपनाएको छ 

सन् १९२५ मा केशव बलिराम हेडगेवारले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) स्थापना गरेका थिए, जसलाई उनले ‘हिन्दु राष्ट्रको लघुरूप’का रूपमा कल्पना गरेका थिए । सय वर्षपछि आरएसएस एक विशाल संस्था बनेको छ, जसका ७३ हजार एक सय १७ शाखा छन्, जसले ४५ हजार ६ सय स्थानमा उपस्थिति जनाएको छ । यसका सहयोगी संगठनलाई समष्टिमा ‘संघ परिवार’ भनिन्छ र यी समाजका विभिन्न क्षेत्रमा फैलिएका छन् । 

विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले ४५ लाख सदस्य भएको दाबी गर्छ । मजदुर संगठन भारतीय मजदुर संघ देशकै सबैभन्दा ठुलो ट्रेड युनियन बनेको छ, जसका एक करोड सदस्य छन् र भारतीय किसान संघसँग १० लाख सदस्य छन् । आरएसएसको विद्या भारतीले १४ हजार विद्यालय सञ्चालन गरिरहेको छ, जहाँ ७३ हजार शिक्षकले ३२ लाख विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन् ।

संघ परिवारले पछिल्ला वर्षमा नयाँ सामाजिक वर्गमा पनि पहुँच बनाएको छ । सन् १९९२ मा यसले वकिलका लागि अखिल भारतीय अधिवक्ता परिषद् गठन गर्यो, जुन अहिले भारतभर सबैभन्दा ठुलो कानुनी संगठन भएको दाबी गरिएको छ । सन् २००१ मा आरएसएसले पूर्वसैनिकका लागि अखिल भारतीय पूर्वसैनिक सेवा परिषद् स्थापना गर्यो, जसलाई संघले ‘आरक्षित सेना’का रूपमा अगाडि बढायो ।

आरएसएसले समाजका धेरै क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेर भित्री रूपमा प्रभाव जमाउने प्रयास गर्दै आएको छ । संघ परिवारको एकता मुख्यतः आरएसएसको साझा प्रशिक्षण र विचारधाराबाट आउँछ र यसलाई जिल्लास्तर र राज्यस्तरमा समन्वय समितिमार्फत कायम राखिन्छ । राष्ट्रियस्तरमा वार्षिक अखिल भारतीय प्रतिनिधिसभामा बैठक हुन्छन्, यद्यपि यसको प्रभावकारिता भने केही घटेको देखिन्छ । आरएसएसको विस्तारका पछाडि केवल हिन्दुत्व प्रवद्र्धन मात्र छैन, यसको विकासले मुसलमान समुदायविरुद्ध भय र आक्रोश सिर्जना गरेर हिन्दु समुदायलाई ध्रुवीकृत गर्ने रणनीति पनि समेटेको छ । यो रणनीति तेस्रो सरसंघचालक (प्रमुख) बालासाहेब देवरसको पालामा बलियो बन्यो, जब उनले १९७९–८० मा जनता पार्टी विघटनपछि आरएसएसले राजनीतिक बहुमतविना आफ्नो एजेन्डा कार्यान्वयन गर्न नसक्ने ठानेर ‘हिन्दु भोट बैंक’ निर्माणको बाटो रोजे । यसले राम मन्दिर आन्दोलनजस्ता ठुला हिन्दु परिचालन निम्त्यायो ।

यस क्रममा आरएसएसले साम्प्रदायिक हिंसाका काम बजरंग दलजस्ता नयाँ समूहलाई ‘करार’ गरेर सुम्पियो, जसले आरएसएसको सार्वजनिक छविलाई सफा देखाउने प्रयास गर्यो । तर, सन् २०१४ पछि यस ‘सम्मानजनक’ आवरणभित्रको इस्लामद्वेषी हिन्दुत्व खुलेरै देखा पर्न थाल्यो । तथाकथित ‘लभ जिहाद’को विरोध, गोरक्षा, जबर्जस्ती घरवापसी (मुसलमानको हिन्दुकरण), बढ्दो भिडको हिंसा, डोजर आतंक र दंगा अब सामान्यजस्तै बनिसकेका छन् । भारतीय जनता पार्टी (भाजपा) लाई सत्तामा पुर्याउन सहयोग गरेपछि आरएसएसले राजनीतिक क्षेत्रमा आफ्नो प्रभाव गुमाएको छ । उसो त आरएसएसले पार्टीलाई प्रत्यक्ष रूपमा नचलाए पनि सन् २०१४ सम्म नागपुरस्थित आरएसएसले भाजपाको रणनीति र उम्मेदवार चयनमा महŒवपूर्ण भूमिका खेल्थ्यो । तर, यो अवस्था नरेन्द्र मोदीको उदयपछि परिवर्तन भयो । गुजरातका मुख्यमन्त्री बनेपछि मोदीले आरएसएससँगको दूरी बढाउँदै गए । अन्य हिन्दुत्ववादी नेता आरएसएसबाट टाढिएर उभिन सकेका थिएनन्, तर मोदीले सामाजिक सञ्जाल, यात्रा, होलोग्राम र टेलिभिजनमार्फत आफ्नै सशक्त आधार निर्माण गरे र सन् २००७ मै संघ परिवारलाई बाइपास गर्ने अवस्था बनाए ।

मोदीको लोकप्रियताका कारण विशेषतः आरएसएसका युवा स्वयंसेवक उनलाई समर्थन गर्न बाध्य भए । तर, संघ परिवारभित्रको यो शक्ति सन्तुलन स्थायी हो कि होइन भन्ने अझै अनिश्चित छ । मोदीको युगपछि नागपुरले फेरि भाजपासम्बन्धी मामिलामा निर्णायक भूमिका खेल्न सक्ला ? यो त भविष्यले नै देखाउनेछ । 

र, आरएसएस नेतृत्वमा रहेको हिन्दुत्ववादी वातावरणले अब त्यो नैतिक अधिकार गुमाइसकेको देखिन्छ, जसलाई यसका नेताले जयप्रकाश आन्दोलन वा संकटकालविरोधी संघर्षका दौरान आर्जन गरेका थिए । नानाजी देशमुख, डिपी ठेंगडी र कुषाभाउ ठाक्रेजस्ता नेता सादगी, त्याग र विचारप्रति समर्पणका प्रतीक मानिन्थे, जसले ‘भिन्न सोचको पार्टी’का रूपमा भाजपाको पहिचान बनाउन सहयोग गर्यो । उनीहरूको प्रभाव केवल विचारधाराबाट मात्र नभई व्यक्तिगत त्याग र सरल जीवनशैलीबाट पनि आएको थियो ।

आजको संघ परिवारका नेता यस्ता आदर्श पूरा गर्दैनन् । मोदी सरकारले अघि बढाएको राजनीतिक–आर्थिक मोडेल ठ्याक्कै यो आदर्शविपरीत देखिन्छ । यो मोडेलले साना उद्योगलाई विस्थापित गर्दै केही उद्योगपतिलाई फाइदा पुर्याएको छ, जसलाई १९६० को दशकमा दीनदयाल उपाध्यायले नेहरूवादी विकास मोडलविरुद्ध जोगाउन खोजेका थिए ।

आरएसएसको रूपान्तरण आंशिक रूपमा समय र समाजको परिवर्तनसँगै अवश्यम्भावी थियो । सन् १९२० को दशकदेखि सन् १९९० पछि अत्यधिक परिवर्तन भएको भारतीय समाजमा टिक्न संस्थाले आफूलाई अनुकूल बनाउनुपर्यो । सत्ता प्राप्तिसँगै संगठनमा भ्रष्टाचार प्रवेश गर्नु स्वाभाविक थियो, अर्थात् ‘सत्ताले भ्रष्ट बनाउँछ र निरंकुश सत्ताले पूर्ण रूपमा भ्रष्ट बनाउँछ ।’ तथापि, आरएसएसको निरन्तरता अझै बलियो छ । शाखा प्रणाली अझै यसको मूल कार्यप्रणाली हो र हिन्दु राष्ट्र निर्माणको मूल उद्देश्य आज पनि उस्तै छ । त्यस अर्थमा आरएसएस आफैँमा खासै परिवर्तन भएको छैन, बरु यसले भारतलाई परिवर्तन गरिदिएको छ, जहाँ महात्मा गान्धी र जवाहरलाल नेहरूको विरासतका आधारलाई भत्काइएको छ ।

(जेफ्रेलो सेरी–साइन्सेसपो/सिएनआरएसका अनुसन्धान निर्देशक तथा किंस कलेज लन्डनमा भारतीय राजनीति र समाजशास्त्रका प्राध्यापक हुन्) 
द न्यु इन्डियन एक्सप्रेसबाट

 

सुझावित समाचार