ट्रम्पका सय दिन : युक्रेनलाई एक्ल्याउने, रुससँग नजिकिने

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण

राष्ट्रपतिमा निर्वाचित हुनुअघि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’भित्र युक्रेन र रुसबिच युद्धविराम गराउने वाचा गरेका थिए । तर, राष्ट्रपतिको कार्यभार सम्हालेको तीन महिना बितिसक्दा पनि युद्ध अझै जारी छ र युद्धविरामको सम्भावना पहिलेभन्दा अनिश्चित छ । यद्यपि, इस्टर सन्डेको अवसरमा पुटिनले केही घण्टाका लागि युद्धविराम गरेका थिए ।

अमेरिकी राष्ट्रपति आफ्नो प्रशासन र रुसी अधिकारीबिच बारम्बार वार्ता भए पनि निष्कर्ष परिणाममुखी हुन सकेको छैन । उनले सार्वजनिक रूपमा युक्रेनका युद्धकालीन नेता भ्लोदिमिर जेलेन्स्कीलाई ‘तानाशाह’ भएको आरोप लगाएका छन् ।

यसैबिच उनले पुटिनसँग न्यानो सम्बन्धको खोजी सुरु गरेका छन् । यसले किभलाई एक्ल्याएको छ भने वासिंटन र युरोपबिच फाटो ल्याएको छ । ह्वाइट हाउससँग घनिष्ठ सम्बन्धको सम्भावनामा अहिले धेरै रुसी खुसी छन् भने युक्रेनमा दीर्घकालीन शान्तिको विचार मलीन भएको छ ।

‘केही भइरहेको छैन । वास्तविक शब्दमा मानिसहरूले हरेक दिन साइरन सुन्छन्, बमहरू देख्छन् र मानिसहरू मारिन्छन्,’ किभ स्कुल अफ इकोनोमिक्सका प्रमुख टिमोफी माइलोभानोभको भनाइ उद्धृत गर्दै फ्रान्सले समाचार संस्था एएफपीले अगाडि लेखेको छ, ‘पुटिनले मूलतः सबैलाई मुर्ख बनाइरहेका छन् ।’ जनवरीमा ट्रम्पको पद वहाली भएयता अमेरिकी अधिकारीले युद्धविराममा पुग्ने प्रयासमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलसँग धेरै चरणको वार्ता गरेका छन् ।

रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ । पछिल्ला दुई हप्तामा मात्र ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा दर्जनौँ मानिस मारिएका छन् । युक्रेनको सेनाले रुसको पश्चिमी कुर्स्क क्षेत्रमा पनि आफ्नो पकड गुमाएको छ । कुर्स्क उनीहरूको एक मात्र उल्लेखनीय सौदाबाजीको विषय थियो । ‘अहिलेसम्म त्यहाँ कुनै परिवर्तन भएको छैन । वास्तवमा हाम्रो सहरमा यो झन् खराब भएको छ,’ युक्रेनको सुमीकी २९ वर्षीया फोटोग्राफर अन्ना क्लिस्किनाले ट्रम्पबारे भने । अप्रिल १३ मा दुई रुसी ब्यालेस्टिक मिसाइल क्लिस्किनाको सहरमा प्रहार हुँदा ३५ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएका थिए ।

युद्धविराममा हुन सकेन प्रगति
ट्रम्पको प्रयासका बाबजुद युद्धविराममा खासै प्रगति भएको छैन । पुटिनले मार्चमा आफूमाथि प्रस्तुत गरिएको विनासर्त पूर्ण युद्धविरामका लागि अमेरिकी–युक्रेनी संयुक्त प्रस्तावलाई अस्वीकार गरे । दुवै पक्षले ऊर्जा क्षेत्रमा आक्रमण रोक्न सहमति जनाए । यद्यपि, कुनै औपचारिक सम्झौता कहिल्यै हुन सकेन । दुवैले एक–अर्कालाई यसको उल्लंघन गरेको आरोप लगाए ।

रुसी सेना पूर्वी युक्रेनको युद्धभूमिमा गत वर्षको अन्त्यको तुलनामा सुस्त गतिमा अघि बढेको छ । रुसी सेना किभको सेनालाई कुर्स्क क्षेत्रबाट लगभग पूर्ण रूपमा बाहिर धकेलेको छ र युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रको सीमावर्ती क्षेत्रमा अघि बढेको छ । युक्रेनी सैनिक ओलेक्सान्डरले ट्रम्पबारे सधैँ ‘नकारात्मक’ धारणा रहेको बताए । २२ वर्षीय युक्रेनी युवाले भने, ‘उनी राजनीतिज्ञ होइनन् । बरु एक सोम्यान हुन् । ट्रम्प प्रशासनले मार्चमा छोटो समयका लागि युक्रेनलाई सैन्य सहायता कटौती गरेको थियो । यसले किभलाई ठुलो धक्का दिएको थियो । यो निर्णय ट्रम्पका पूर्ववर्ती जो बाइडेनको युक्रेनलाई समर्थन गर्न ‘जे पनि गर्नुपर्छ, जबसम्म गर्नुपर्छ’ भन्ने नीतिको आश्चर्यजनक परिवर्तन थियो । ट्रम्पले एकपटक जेलेन्स्कीलाई प्रतिस्थापन गर्न नयाँ चुनावको आह्वान गरेका थिए । यसलाई उनले झुटो रूपमा ‘चार प्रतिशत स्वीकृति रेटिङ’ भएको दाबी गरेका थिए । फेब्रुअरीमा ओभल अफिसमा भएको टेलिभिजन बैठकमा ट्रम्पले जेलेन्स्कीलाई हप्काएपछि दुईबिचको तनाव चरममा पुगेको थियो ।

See More On

सुझावित समाचार