पुष्पलालको अगुवाइमा स्थापित एउटा मात्र नेकपा ७५ वर्षमा आइपुग्दा दर्जनभन्दा बढी टुक्रामा छरिनु कम्युनिस्ट इतिहासकै दुर्भाग्य हो
पुष्पलालको अगुवाइमा ७५ वर्षअघि २२ अप्रिल १९४९ मा लेनिनको जयन्तीको दिन भारतको कलकत्तास्थित श्याम बजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । पार्टी स्थापना गर्दा महासचिवमा पुष्पलाल र सदस्यमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी रहेका थिए । पार्टी स्थापनाको दुई दिनपछि २४ अप्रिलमा नेपाली जनताका नाममा अपिल (पर्चा) प्रकाशित भयो । पर्चामा निरंकुश शासन अन्त्य गर्ने, जनताको पूर्ण नागरिक स्वतन्त्रता प्रत्याभूति गर्ने र किसान तथा मजदुरको अधिकारका लागि किसान मजदुरकै सरकार गठन गर्ने र सामन्तवाद साम्राज्यवादविरोधी नवप्रजातन्त्र ल्याउन कम्युनिस्ट पार्टी स्थापना भएको उल्लेख थियो ।
पार्टी स्थापनाको चार महिनापछि १५ सेप्टेम्बर १९४९ मा जारी पार्टीको प्रथम घोषाणपत्रमा नेपाली क्रान्तिको भावी दिशा १२ बुँदामा उल्लेख गरिएको थियो । जसमा सामन्तवाद एवं साम्राज्यवादविरोधी नयाँ जनवादी क्रान्ति, किसान र मजदुरको नेतृत्वमा निर्वाचित सरकार, संविधान सभाबाट संविधान निर्माण, क्रान्तिकारी भूमिसुधार, श्रमिक एवं किसानको अधिकारको सुनिश्चितता, स्वाधीन अर्थतन्त्र निर्माण र सर्वसुलभ शिक्षाजस्ता आधारभूत विषय उल्लेख थिए ।
११–१६ असोज विसं. २००८ गतेसम्म सम्पन्न प्रथम सम्मेलनमा महासचिव पुष्पलालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मुलुकमा नयाँ जनवादी क्रान्ति गरेर अर्धसामन्ती र अर्धऔपनिवेशिक स्थिति अन्त्य गर्ने नेपाली क्रान्तिको कार्यदिशा उल्लेख गरिएको थियो । २००७ को क्रान्तिबाट १०४ वर्षको जहानियाँ राणाशासन अन्त्य भए पनि दिल्ली सम्झौताले राजा, कांग्रेससँगै राणाको अस्तित्व रहने बाटो तयार गर्यो । राजा त्रिभुवन गद्दीमा फर्किए । त्यस वेला त्रिभुवनले संविधानसभाबाट नयाँ संविधान जारी हुने घोषणा गरे । तर, ०१५ सम्म पुग्दा राजा महेन्द्रले संविधानसभालाई तुहाइदिए । ०१४ मा भएको पार्टीको दोस्रो महाधिवेशनमा पुष्पलालले पेस गरेको संविधानसभा र गणतन्त्रको कार्यदिशा पारित भयोे । तर, महासचिव भने डा. केशरजंग रायमाझी भए । तर, उनले राजापरस्त नीति लिए । तत्कालीन राजा महेन्द्रले ०१७ मा बहुदलीय व्यवस्थामाथि ‘कु’ गरी निरंकुश निर्दलीय पञ्चायती व्यवस्था लागू गरे, राजनीतिक दल प्रतिबन्धित भए ।
३० वर्ष लामो पञ्चायतविरुद्ध वामपन्थी र कांग्रेसले भूमिगत संघर्ष गरे । ०४६ मा ऐतिहासिक जनआन्दोलन भयो, पञ्चायती व्यवस्था ढल्यो र ०४७ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो । ०५२ यता माओवादीको नेतृत्वमा एक दशक लामो सशस्त्र संघर्ष भयो । ०५८ मा राजा वीरेन्द्रको परिवारसहित दरबारभित्रै हत्या भएपछि ज्ञानेन्द्र राजा भए । उनले ०५९ मा सत्ता आफ्नो हातमा लिए । सशस्त्र संघर्ष गरिरहेको माओवादी, एमालेलगायत वामपन्थी दल र कांग्रेससहितका सात राजनीतिक दलबिच १२ मंसिर ०६२ मा १२ बुँदे सहमति भएपछि निरंकुश राजतन्त्र अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रका लागि ०६२ फागुनदेखि आँधीबेहरीयुक्त शान्तिपूर्ण जनआन्दोलन सुरु भयो । जनआन्दोलन विद्रोहको रूप लिँदै जनक्रान्तिमा परिणत भएपछि अन्ततः ११ वैशाख ०६३ मा राजा ज्ञानेन्द्रले घुँडा टेके र निरंकुश राजतन्त्रको अन्त्यसँगै विघटित प्रतिनिधिसभा पुनस्र्थापित भयो । प्रतिनिधिसभाले राजामा निहित अधिकार कटौतीको घोषणा गर्यो । ०६४ मा संविधानसभा निर्वाचन भयो । ०६५ मा संविधानसभाको पहिलो बैठकले निरंकुश राजतन्त्र अन्त्य र गणतन्त्र घोषणा गर्यो । पुष्पलालले पार्टी स्थापनाका वेला अगाडि सारेको संविधानसभा र गणतन्त्रको एजेन्डा ०६५ सालमा पूरा भयो । झन्डै सात वर्ष लगाएर दोस्रो संविधानसभाबाट संविधान घोषणा भयो । वामपन्थी दलको सहकार्यबाट जनता सार्वभौम सत्ता सम्पन्न रहने र समाजवादको आधार निर्माण गर्ने संविधान बन्यो ।
कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष व्यतीत हुँदा नेपाली समाजमा विकास भएको चेतनाको जगले द्वन्द्वात्मक भौतिकवादी एवं माक्र्सवादी विचारलाई सुदृढ गराउँदै लगेको छ । कुल जनसंख्याको झन्डै ६० प्रतिशत बालिगले कम्युनिस्ट पार्टीका नीति, विचार र कार्यक्रमबाट आकर्षित भई निर्वाचनमा वामपन्थी उम्मेदवारलाई मत दिएका छन् । सुरुमा पाँचजनाबाट स्थापित कम्युनिस्ट पार्टीमा आज लाखौँलाख मानिस आबद्ध छन्, यसका साथै युवा, महिला, किसान, मजदुरलगायत पेसागत संगठन र ट्रेड युनियनमा लाखौँ संगठित भएका छन् ।
०५१ मा अल्पमतको र ०७४ मा संसद्मा झन्डै दुईतिहाइको विजय हासिल गरी वामपन्थीको सरकार गठन भयो । यसरी वामपन्थीकै नेतृत्वमा नौपटक सरकार गठन भयो । गठबन्धनको हिसाबले बहुदल कालदेखि नै एमाले सरकारमा सामेल हुँदै आएको छ । ०५४ मा त पूर्वपञ्चको पार्टी राप्रपाका लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर एमाले सरकारमा सामेल भएको थियो । यसपछि एमालेले पूर्वपञ्चसँग गरेको चुनावी तालमेलबाट पूर्वपञ्चहरू संसद्भित्र आएर संविधान र गणतन्त्रविरुद्ध गतिविधि गर्दै आएका छन् । एमालेले राजावादी पूर्वपञ्चसँग गठबन्धन गर्नु ठुलो गल्ती थियोे । यसबिच छोटै अवधिको भए पनि मनमोहन अधिकारी नेतृत्वको सरकार भने लोकप्रिय रहेको मूल्यांकन गर्न सकिन्छ ।
वामपन्थीहरू बहुदल आएपछि संसदीय राजनीतिमा सहभागी भए पनि तिनले संसद्लाई क्रान्तिकारी ढंगबाट उपयोग गर्न सकेनन् । राष्ट्रियताको मामिलामा पनि क्रान्तिकारी दृष्टिकोण राखेर भूमिका निर्वाह गर्न सकेनन् । असमान महाकाली सन्धि, नागरिकता प्रकरण, सार्वजनिक संस्थानको निजीकरण, एमसिसीलगायत विभिन्न विषयमा वामपन्थीले आफूलाई खरो रूपमा उतार्न सकेनन् । क्रान्तिकारी भूमि सुधार, शिक्षा, स्वास्थ्य र खानेपानीमा भएको निजीकरण, युवाको विदेश पलायनमा पनि यिनको धेरथोर अंसियारी छ । वामपन्थीहरूकै कार्यकालमा ठुल्ठुला अनियमितता र भ्रष्टाचार बढेको स्थिति छ । नवउदारवादी पुँजीवादी अर्थनीतिकै ‘फ्रेमवर्क’मै भूमिका निर्वाह गरेका कारण वामपन्थीहरू र बुर्जुवा वर्गबिच खासै अन्तर देखिन्न । वामपन्थीहरू जो जनप्रतिनिधि बने वा सरकारमा पुगे उनीहरूमध्ये कतिपयले उत्पादन र रोजगारी बढाउने उद्योगको साटोमा स्कुल, कलेज, अस्पताल, मेनपावर, रियल स्टेटलगायत क्षेत्रमा लगानी गरे । यसकारण पनि शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरण र व्यापारीकरण अन्त्य गर्न वामपन्थीले नै चाहिरहेका छैनन् ।
पुष्पलालको अगुवाइमा स्थापित एउटा मात्र नेकपा ७५ वर्षपछि आइपुग्दा दर्जनभन्दा बढी टुक्रमा छरिनु कम्युनिस्ट इतिहासकै दुर्भाग्य हो । कम्युनिस्ट पार्टीबिचको विभाजन र अनेकताले वाम आन्दोलनलाई गम्भीर क्षति पुर्याएको छ । ०७४ को आमनिर्वाचनमा एमाले र माओवादीबिच वाम गठबन्धन बनाएर चुनाव लड्दा झन्डै दुईतिहाइ जित हासिल भयो । परिणामतः वामपन्थीको एकल बहुमतको सरकार गठन सम्भव भयो । तर, पार्टीको नीति, विचार र कार्यक्रमलाई आत्मसात् गरी सरकार सञ्चालन भएन । उल्टै संविधानविपरीत तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद्को दुई–दुईपटक विघटन गरेपछि एमाले र माओवादीबिच एकता भंग भयो र नेकपा नामको एकीकृत पार्टी एमाले र माओवादीकै नाममा अलग भए ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई अब नयाँ कार्यदिशासाथ अगाडि बढाउनुपर्ने युगीन आवश्यकता छ । नेपाली अर्थ–राजनीतिमा हाबी हुँदै गएको दलाल पुँजीवादलाई नियन्त्रण र अन्त्य गरी राष्ट्रिय पुँजी निर्माण गर्नु जरुरी छ । औद्योगिकीकरणको थालनीसँगै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी मुलुकलाई समाजवादी बाटोमा अगाडि बढाउनुपर्ने ऐतिहासिक दायित्व वामपन्थीसामु आएको छ । नेपालका कम्युनिस्ट पार्टीले अब छुट्टाछुट्टै चुलोचौको बाल्नु आवश्यक छैन । अब माओवादी केन्द्रले माओवादको छुट्टै नाम किन राख्नुपर्यो ? एमालेले पुँजीवादी क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादलाई अब पनि आत्मसात् गरी हिँड्न आवश्यक छैन । विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी, नेकपा मसाललगायत पार्टीले अब समाजवादी क्रान्तिको कार्यक्रम तय गरी अघि बढ्न आवश्यक छ । यसैबिच नेकपा एकीकृत समाजवादीले नेपाली विशेषताको समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडि सारिसकेको सन्दर्भमा सही विचार र कार्यक्रमका आधारमा कम्युनिस्ट पार्टीबिच एकताको अत्यन्त खाँचो छ ।
तर, सिद्धान्त, विचार, कार्यक्रम र कार्यदिशा समान भएर पनि नेतृत्व व्यवस्थापनका कारण कम्युनिस्टबिच तत्काल एकता हुन नसक्ने तर्क पनि सुनिन्छ । तर, वामपन्थीबिच जसरी भए पनि एकता आवश्यक छ । जति वामपन्थी फुट्दै जान्छन्, त्यति नै बुर्जुवा वर्गले राष्ट्रिय राजनीतिमा पकड कायम गर्छन् । कम्युनिस्ट पार्टीबिच नीति, सिद्धान्त र कार्यक्रमिक प्रतिबद्धताका आधारमा एकताको सम्भावना छ । शीर्ष नेतृत्वमध्ये एकले अर्कालाई स्विकारेर अघि बढ्न सके एकता हुन सहज हुन्छ । तर, एमाले र माओवादीबिच एकतापछिको दुई अध्यक्षको मोडेल पनि स्विकार्न सकिने तर्क पनि सुनिन्छ । तर, यो खालको नेतृत्व व्यवस्थापन सफल हुन सकेन । बरु शीर्ष नेतृत्वले एकले अर्कालाई स्विकार्न नसके पहिलो पुस्ताका शीर्ष नेतृत्व रहेको ‘प्रेसिडियम कमिटी’ वा ‘स्टेयरिङ कमिटी’ बनाएर शीर्ष नेतृत्वले अभिभावकत्वको भूमिका निर्वाह गर्ने र दोस्रो पुस्ताको नेतृत्वले पार्टीको दैनिक कार्यकारी सांगठनिक कामको नेतृत्व गर्ने नीति अवलम्बन गर्दा पार्टीभित्र एउटा नयाँपन सिर्जना हुनेछ । यसले राष्ट्रिय राजनीतिमा पनि सकारात्मक सन्देश प्रवाह हुनेछ ।
नेतृत्व हस्तान्तरणको प्रश्न उठ्दा पहिलो पुस्ताका नेतृत्वले खोइ कोही पनि तयार छैनन् वा उमेरले छेक्दैन भनेर कार्यकारी नेतृत्वमा रहिरहन लालायित हुने परिपाटीले पनि समस्या उत्पन्न गरेको छ । परिवर्तनको प्रवाहसँगै हिजो नेतृत्व गरेर आएका नेताको काम र भूमिकाले पनि जनता निराश छन् । तसर्थ, वैचारिक र सैद्धान्तिक एकता तथा नेतृत्व व्यवस्थापनलाई नयाँ ढंगबाट सोच्ने हो भने कम्युनिस्ट पार्टीबिच ध्रुवीकरण र एकीकरणको आवश्यकता छ । एकता र सहकार्यका लागि सबै पार्टीभित्र दोस्रो पुस्ताका नेतृत्वले आफूलाई अगाडि ल्याउन सके छरिएका कम्युनिस्ट घटकबिच एकता भई पुष्पलालले स्थापना गरेको एक मात्र कम्युनिस्ट पार्टी निर्माणको दिशामा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सकिन्छ ।
अन्त्यमा , कम्युनिस्ट पार्टीबिच माक्र्सवाद लेनिनवादको आलोकमा समाजवादी क्रान्तिको कार्यक्रम तयार गरी यसका आधारमा सहकार्य र एकता गर्न आवश्यक छ । वामपन्थीहरू एकताबद्व भएनन् भने अल्पमतमा रहेका बुर्जुवा वर्गले नै सत्ताको नेतृत्व गर्नेछन् । यसबाट मुलुक झनै दुरुह अवस्थामा धकेलिनेछ । तसर्थ एकताबद्व कम्युनिस्ट पार्टीका माध्यमबाट निर्वाचनमा विजय हासिल गरी सरकारको नेतृत्व गर्दै मुलुकमा आर्थिक–सामाजिक रूपान्तरण र विकास गरेर समाजवादी क्रान्ति सफल पारी मुलुकमा समाजवाद स्थापना गर्ने महान् अभियानमा वामपन्थी सामेल हुनुपर्छ ।
खनाल नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य हुन्