अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जंगल नपस्दा र जंगली जनावर नदेख्दा केही कुरा बिर्सिएजस्तो, केही कुरा छुटेजस्तो अनि जनावरले आफूलाई पर्खेजस्तो । तीन वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जमा ‘नेचर गाइड’का रूपमा कार्यरत एलिना चौधरीका लागि जंगल केवल कार्यक्षेत्र मात्र होइन, आत्मशान्ति र सन्तुष्टिको स्रोतसमेत बनेको छ । उनको दिनचर्या अब स्वदेशी–विदेशी पर्यटकलाई प्रकृति र वन्यजन्तुको अवलोकन गराउँदै बित्छ ।
असहजता, चुनौती, कठिनाइ यी सबैसँग जुध्दै पर्यटकलाई हाम्रो प्रकृति र वन्यजन्तुको जानकारी दिनु अनि तिनीहरूको अनुहारमा खुसी देख्नुजस्तो आनन्द अरू केमा मिल्ला र ? एलिना भन्छिन्, प्रकृतिसँग बिताएको प्रत्येक क्षण अमूल्य हुन्छ, त्यसलाई महसुस गर्न जान्नु नै आनन्द रहेछ ।
बाल्यकाल जंगलछेउमै बितेकाले एलिनाका लागि जंगली जनावरसँगको जम्काभेट सामान्य थियो । बिहान चराचुरुंगीको गुञ्जन, शीतल हावाको स्पर्श, हरियालीको आनन्द यिनै कुराले उनलाई प्रकृतिप्रति झन् नजिक बनायो । यही लगावले व्यावसायिक रूपमा नेचर गाइड बन्न प्रेरित गर्यो ।
नेचर गाइडको औपचारिक तालिमपछि उनले चितवनको मेघौलीस्थित बाराही जंगल लजबाट आफ्नो यात्रा सुरु गरेकी थिइन् । अचेल उनको दैनिकी पर्यटकको तालिकाअनुसार कहिले बोट सफारी गाइड, कहिले जिप सफारी गाइड त कहिले ‘जंगल वाक’मा गाइडका रूपमा हुने गर्छ ।
‘अलि बढी चुनौतीचाहिँ जंगल वाकमा हुन्छ,’ एलिना भन्छिन्, ‘कतिवेला कुन जंगली जनावरसँग जम्काभेट हुने हो, थाहा हुँदैन, डर हुन्छ, तर त्यही डरभित्रको रोमाञ्चकता नै जंगल सफारीको सौन्दर्य हो ।’ उनी प्रकृतिका विविधताको ज्ञानसँगै जंगली जनावरसँग जोगिने विशेष कला नेचर गाइडमा हुनुपर्ने बताउँछिन् ।
सन् २०१९ मा नेचर गाइडको प्रमाणपत्र प्राप्त गरेकी एलिनाले आत्मविश्वास, साहस, निडरता र ज्ञानलाई आफ्नो सबल पक्ष बनाउँदै आएकी छिन् । वन्यजन्तु संरक्षण, दिगो पर्यटन र महिलाको सशक्तीकरणमा योगदान पुर्याएबापत एलिना अन्तर्राष्ट्रिय ‘टफ–टाइगर्स लज न्याचुरलिस्ट अफ दी इयर २०२४’ अवार्डसमेत जित्न सफल भएकी थिइन् । यो उपाधि जित्ने उनी पहिलो नेपाली महिला पनि हुन् ।
एलिनासँग पर्यटकहरूसँग बिताएका कैयौँ सम्झना छन् । तीमध्ये एक घटना उनको स्मरणमा ताजै छ । ‘एक महिनाअघि एक नेपाली पर्यटक जंगल सफारी गर्न आएकी थिइन् । यसअघि १२–१५ पटक जंगल सफारीमा उनले कहिल्यै बाघ देख्ने अवसर मिलेनछ । त्यो दिन संयोगवश, मैले गाइड गरिरहेको वेला उनले बाघ देखिन् । उनी खुसीसँग एकदम भावुक भएर रुन पो थालिन्,’ एलिना भन्छिन्, ‘खै किन हो कुन्नि, मैले सोध्न पनि सकिनँ । सायद, बाघ देख्ने उनको वर्षौँको सपना पूरा भएर पो हो कि ।’ थुप्रै अनुभवसँग एलिनाको दिनचर्या जंगल र नदीकिनारमा प्रकृतिसँग साक्षात्कार गर्दै बितेको छ ।
त्यसो त चितवन राष्ट्रिय निकुञ्जछेउमा घर भएकी २३ वर्षीया सुदीक्षा कुमालको दैनिकी पनि उस्तै छ । स्नातक तेस्रो वर्षमा अध्ययनरत कुमाल बाल्यकालदेखि नै प्रकृति र वन्यजन्तुप्रति रुचि राख्ने उनी आफ्नै दिदीबाट प्रेरणा लिएर नेचर गाइड बन्ने निर्णय गरेको सुनाउँछिन् । उनी भन्छिन्, ‘मेरी दिदी पनि यो क्षेत्रमा हुनुहुन्छ । उहाँकै प्रेरणाले मैले पनि नेचर गाइडको तालिम लिएँ । वन्यजन्तु संरक्षण र प्रकृतिसँग नजिक रहेर काम गर्ने अवसर पाएँ ।’
वातावरण विज्ञान अध्ययन गरेकी पूर्वचितवनकी सकिना महतो आफू पढाइअनुसारको पेसामा रमाइरहेको बताउँछिन् । भन्छिन्, ‘प्रकृतिप्रेमी र जनावर संरक्षणमा बढी चासो भएकै कारण मैले वातावरण विज्ञान पढेँ र यो क्षेत्रलाई पेसा बनाएर अघि बढेकी छु ।’ उनले कठिनाइ भए पनि आत्मसन्तुष्टि मिलेको र नौ महिनादेखि यही पेसामा तल्लीन रहेको बताइन् ।
‘सहज त पक्कै छैन यो अलि जोखिम साहसिकताभित्र पर्छ, कुनै समय यो क्षेत्रमा महिला कल्पना गरिँदैनथ्यो, तर अहिले महिलाका निडरताका साथ आउन थालेका छन्,’ पर्यटकको जंगल अनुभवलाई अविष्मरणीय बनाउन आफ्नो ज्ञान, सीप, कौशलतालाई प्रदर्शन गरिरहेको उनको भनाइ छ ।
चितवन योगी टोलकी बिबिएस अध्ययनरत २० वर्षीय प्रभा कुमाल एक वर्षदेखि यो क्षेत्रमा क्रियाशील हुन् । बाल्यकालदेखि नै वन्यजन्तुप्रति रुचिले उनलाई वन्यजन्तुमा आकर्षित गर्यो । सानैबाट जंगलवरिपरि नै जन्मे–हुर्केका कारण वन्यजन्तुसँगको आत्मीयले नै यस क्षेत्रप्रति आकर्षित गरेको बताउँछिन् । उनले भनिन्, ‘जंगल र जंगली जनावरसँगको अनुभव त पहिले नै थियो, तर व्यावसायिक कलाका लागि नेचर गाइडको विशेष कोर्स पूरा गरी यो क्षेत्रमा प्रवेश गरेँ, यसले थप ज्ञान र आत्मविश्वास बढायो ।’
पुरुषहरूको वर्चस्व रहेको क्षेत्रमा वन्यजन्तु संरक्षण, साहसिक पर्यटन र महिला सशक्तीकरणको नमुनाका रूपमा महिला नेचर गाइडलाई लिन सकिने बताउँछन् बाराही जंगल लजका सञ्चालक विप्लव पौडेल । ‘सुरुमा यो क्षेत्रमा महिलाको संख्या निकै कम थियो । अहिले भने महिला नेचर गाइडहरूको संख्या बढ्दै गएको देख्दा खुसी लाग्छ, उनीहरूको आत्मविश्वास, दक्षता र मिहिनेत प्रशंसनीय छ,’ उनले भने ।
नेचर गाइड महिलाहरूको उपस्थितिले स्थानीय समुदायमा महिला सशक्तीकरणको सन्देश प्रवाह गर्न सहयोगी बनेको पौडेल भन्छन्, ‘हामीले बाराही जंगल लजबाट महिला गाइडहरूलाई प्रवर्द्धन गर्दै आएका छौँ, महिला ज्ञान, सीप र क्षमताका आधारमा अवसर पनि दिँदै आएका छौँ ।’ उनीहरूको सीप विकास, तालिम र अवसरको सुनिश्चिततामा सरोकारवालाले अझ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।
फोटो, भिडियोमार्फत पर्यटन प्रवर्द्धनमा सक्रिय फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले ‘फोटो वाक एट मेघौली यात्रा’मा नेचर गाइड महिलाले पर्यटकलाई गाइडिङ गरिरहेका दृश्य निकै गर्विलो लागेको बताए ।
उक्त यात्राको अनुभव बाँड्दै गुरुङले भने, ‘केही वर्षअघि मात्रै जंगल सफारी, बोट सफारीजस्ता साहसिक गतिविधिमा पुरुष गाइड नै प्रमुख रूपमा देखिन्थे, तर अहिले त्यो ठाउँमा महिला नेचर गाइड देखिनु निकै राम्रो र सकारात्मक पक्ष हो ।’
गुरुङले भने, ‘वन्यजन्तु, जैविक विविधता, स्थानीय संस्कृतिलगायतका ज्ञानसँगै यस क्षेत्रमा महिला सहभागिताले पर्यटन व्यवसायमा मात्र होइन, समाजमा पनि सकारात्मक सन्देश प्रवाह भएको छ । महिलालाई हेर्ने दृष्टिकोण पनि बदलिँदै गएको छ ।’
वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रले नेचर गाइड तालिम सञ्चालन गर्दै आएको छ । जैविक विविधता संरक्षण केन्द्र, सौराहाका वरिष्ठ रेन्जर ऋषि सुवेदीले पर्याप्त ज्ञान, आत्मविश्वास र लगावका साथ नेचर गाइड महिला यस क्षेत्र प्रवेश गरेको बताए ।
‘कुनै समय शून्य सहभागिता हुने नेचर गाइड तालिममा अहिले महिलाको गर्विलो सहभागिता हुँदै व्यावसायिकतमा दक्ष जनशक्तिका रुपमा देख्न पाएका छौँ । यो खुसीको कुरा हो, उनीहरुलाई अब आवश्यक तालिम दिएर थप चुनौतीको सामना गर्न सक्ने बताउनुपर्छ ।’
उनका अनुसार, विक्रम संवत् ०४६/४७ देखि औपचारिक रूपमा सञ्चालनमा आएको नेचर गाइड तालिम सुरुमा विदेशी स्वयंसेवीहरूद्वारा प्रदान गरिन्थ्यो । जब निकुञ्ज नियमावलीमा ‘तालिमप्राप्त नेचर गाइडले मात्र पर्यटक घुमाउन पाउने’ व्यवस्था गरियो, त्यसपछि कोषले १५ दिने पाठ्यक्रम तयार गरी वातावरण मन्त्रालयबाट स्वीकृति लिएर तालिम दिन थाल्यो।
तालिम प्राप्त नेचर गाइडबाट जंगल क्षेत्रभित्र हुने वन्यजन्तु चोरी–निकासीलगायतका अन्य कुराको पनि सूचना आउने भएकाले वन तथा वन्यजन्तु संरक्षणमा पनि नेचर गाइड भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
तालिममा सहभागी हुन कम्तीमा एसइई उत्तीर्ण गर्नुपर्ने हुन्छ । स्थानीय तथा मध्यवर्ती क्षेत्रका व्यक्तिहरूलाई प्राथमिकता दिइन्छ । तालिमपछि लिखित तथा अन्तर्वार्ता परीक्षामा कम्तीमा ६० प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ । उक्त मापदण्ड पूरा गरेपछि मात्र नेचर गाइडका लागि योग्य मानिन्छ । तालिम कोषले आफ्नै स्रोत र साधन प्रयोग गरेर सञ्चालन गर्दै आएको हो । विभिन्न सरोकारवाला संस्थाहरूले पनि समय–समयमा तालिमको माग गर्ने गरेका छन् ।
हालसम्म एक हजार ६ सयदेखि एक हजार सात सयजनाले तालिम लिइसकेका छन् । महिलाको संख्या १० देखि १५ प्रतिशतको हाराहारीमा छ । नेचर गाइडले मासिक रु. ३० हजारदेखि ५० हजारसम्म आम्दानी गरिरहेका छन् । पर्यटकलाई पूर्ण दिनको गाइडिङ गरेबापत रु. एक हजार पाँच सयदेखि दुई हजारसम्म पारिश्रमिक प्राप्त हुन्छ भने आधा दिनको आठ सयदेखि एक हजारसम्म हुने गर्दछ । भारतलगायत अन्य देशमा समेत यहाँबाट तालिम लिएका गाइडले रोजगारी पाएका उदाहरणहरू रहेको सुवेदीले बताए ।
थ्री सिस्टर एड्भेन्चर ट्रेकिङ एन्ड महिला सशक्तीकरण नेपालकी संस्थापक लक्की कार्की परम्परागत रूपमा पुरुषहरूको वर्चस्वमा सीमित पेसामा महिलाले त्यो सीमालाई तोड्दै अगाडि बढ्नु महिला सशक्तिकरणको नमुना भएको बताउँछिन् ।
‘महिला नेचर गाइडहरू आफ्नो पेसा मात्र निर्वाह गरिरहेका छैनन्, उनीहरूले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणादायी शक्ति बनेका छन् । फरक क्षेत्रमा पनि महिला अब्बल छन् भन्ने उदाहरण बनेका छन्,’ कार्की भन्छिन्, ‘पहिले महिलालाई संरक्षणको विषय बनाइन्थ्यो, आज उनीहरू संरक्षणका संवाहक बनेका छन्, हिजो सीमित भूमिका दिइन्थ्यो, आज नेतृत्वदायी र चुनौतीपूर्ण भूमिकामा देखापरिरहेका छन् ।’ कार्कीले महिला गाइडहरूको आत्मविश्वास, अनुभव, ज्ञान सीप, लगाव समझदारीले नेपालको पर्यटनलाई अझ सुरक्षित, समावेशी र आत्मीय बनाउन भूमिका खेलेको बताइन् । रासस