रौतहट जिल्ला फुटबल संघ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बाँकेको नेपालगन्ज रंगशालामा आइतबार भएको खेलमा आयोजक बाँके–११ लाई ३–० ले हराउँदै रौतहटले अन्तिम चारमा स्थान पक्का गरेको हो । रौतहटको जितमा जेनिफर रानामगर, समीक्षा राई तथा पियुली रोयले एक–एक गोल गरेका थिए । राजकुमार दर्लामीको प्रशिक्षणमा रहेको रौतहटका अधिकांश खेलाडीसँग नेपालको उमेर समूहको अनुभव थियो । रौतहटले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।
अब, रौतहटले फाइनल प्रवेशका लागि १० वैशाखमा नेपाल एपिएफ र कर्णाली प्रदेश फुटबल संघबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत सोमबार एपिएफले कर्णालीको सामना गर्नेछ । रौतहटका प्रशिक्षक भोजराज घिमिरेले फराकिलो गोलअन्तरले जित निकाल्ने लक्ष्य पूरा नभएको बताए । ‘आयोजकविरुद्ध धेरै स्कोर हुने अपेक्षा थियो, तर खेलाडीबिच तालेमल मिलेन, खेलाडीले आफैँ गोल गर्ने कोसिस गर्दा गाह्रो भयो,’ घिमिरेले भने । बाँके–११ का प्रशिक्षक सानु तामाङले योजनाअनुसार खेल्न गाह्रो भएको बताए । ‘अपेक्षाअनुसार खेल्न सकेनौँ, विपक्षी निकै राम्रा थिए,’ तामाङले भने, ‘आगामी दिनमा नयाँ खेलाडीका साथ बलियो रूपमा प्रस्तुत हुन्छौँ ।’
बाँकेविरुद्ध जेनिफरको उत्कृष्ट प्रदर्शन
रौतहटकी जेनिफरले खेलको २७औँ मिनेटमा १–० को अग्रता गोल गरिन् । सेनु परियारको पासमा उनले ६ यार्ड बक्सबाट उत्कृष्ट हेडिङ गोल गरेकी हुन् । रौतहटले दोस्रो हाफको सुरुवातमै २–० को अग्रता बनायो । जेनिफरको पासमा समीक्षाले गोल गरिन् । जेनिफरकै पासमा भारतीय खेलाडी पियुलीले रौतहटलाई ३–० को अग्रता दिलाइन् । प्रतियोगिताबाट आयोजक बाँकेसँगै सुदूरपश्चिम प्रदेश र भारतको सिलिगुडी एफसी बाहिरिएका छन् । बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् ।
आगामी खेलमा सुधार आउँछ
भोजराज घिमिरे, प्रशिक्षक, रौतहट
कमजोर टोलीविरुद्ध फराकिलो गोलअन्तरको जित निकाल्नुपर्ने थियो । एक किसिमले खेलाडीहरू ‘सेल्फिस’जस्तै देखिए । यहाँको मैदानका कारण पनि खेल्न गाह्रो भयो । विपक्षी पनि कमजोर देखियो । यसको फाइदा खेलाडीले उठाउन सकेनन् । सेमिफाइनलमा बलियो टोलीविरुद्ध यस्तो खेल खेल्न मिल्दैन ।
सोचेजस्तो खेल भएन
सानु तामाङ, प्रशिक्षक, बाँके
रौतहटविरुद्ध अपेक्षाअनुसार खेल्न सकेनौँ । विपक्षी निकै राम्रो रहेछ । सुरुमा जुन योजना बनेको थियो, मैदानमा खेलाडीले लागू गर्न सकेनन् । आगामी दिनमा नयाँ खेलाडीका साथ आउनेछौँ । लगातारको तयारीमा टोली राम्रो बन्नेछ । प्रतिस्पर्धामा गोलरक्षक राधिका ओली घाइते हुँदा दबाबमा आयौँ ।