मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

आइतबार, ७ बैशाख, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ। त्यस कार्यक्रमका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न आयोगले भनेको छ।

निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम अद्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।

उक्त कार्यक्रमबमोजिम गत चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भैसकेको छ। मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेबसाइटमा प्रकाशनसमेत भएकामा अद्यावधिक कार्य सम्पन्न भएपछि वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुने उनले जानकारी दिइन्।

आयोगका अनुसार मतदाता नामावली अद्यावधिक प्रयोजनका लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनुपर्ने भए दिन सकिनेछ।

त्यसैगरी, एकभन्दा बढी स्थानमा नाम समावेश भएमा हटाउन तथा मृत्यु भएका एवं नागरिकता त्याग गरेकाको नाम मतदाता नामावलीबाट हटाउन यही वैशाख ७ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। यस अवधिमा नयाँ नाम दर्ता तथा अद्यावधिक कार्य निरन्तर भइरहने पनि आयोगले स्पष्ट पारेको छ।

सुझावित समाचार