नारायणीमा बेपत्ता दुवै दाजुभाइ मृत फेला

बिहिबार, ४ बैशाख, २०८२
डिजिटल संस्करण

नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ। मंगलबार दिउँसो मध्यबिन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

उनीहरू दाजुभाइका छोरा हुन्। अन्य पाँचजना साथीसँग नारायणी तथा अरुणखोलाको संगमस्थल उल्टी दोभानमा नयाँ वर्षको अवसर पारेर ड्राई पिकनिक खान गएका उनीहरू नारायणी नदीमा पौडी खेल्न जाँदा बगाएर बेपत्ता भएका थिए।

उक्त घटनामा १४ वर्षीय प्रज्वल पौडेलको शव हिजो बुधबार फेला परे थियो भने १५ वर्षीय विजय पौडेलको शव आज बिहीबार फेला परेको नवलपुर प्रहरीले जनाएको छ। आज फेला परेको शव घटनास्थलदेखि ३ किमि पश्चिमतर्फ नारायणी नदीमा फेला परेको हो।

शव मुचुल्कापश्चात् पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डन्डा लगिएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा शव खोजिएको थियो।

सुझावित समाचार