निजी आवासमा मनसुनजन्य विपदको क्षति आकलन सुरु

बुधबार, ३ बैशाख, २०८२
डिजिटल संस्करण

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण बाढीपहिरोबाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति आकलन कार्यक्रम काभ्रे जिल्लाको रोशी गाउँपालिका–२ बाट शुरु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदबाट सबैभन्दा बढी प्रभावित क्षेत्र रोशीबाट क्षतिको आकलन सुरु गरेको हो।

बुधबार क्षतीग्रस्त क्षेत्र रोशी गाउँपालिका–२ नारायाणटार पुगेर गृहमन्त्री लेखकले सोही स्थानका तीनजना पीडितलाई क्षति आकलन निस्सा उपलब्ध गराउँदै विस्तृत क्षति आकलन सुरुवात गरेका हुन्। ज्यादा प्रभावित जिल्ला र स्थानीय तह भएकाले रोशीबाट सुरुवात गरिएको मन्त्री लेखकले बताए। मन्त्री लेखकले क्षति आकलन सक्नेवित्तिकै निजी आवास पुनर्निर्माण सुरु गर्ने बताए। पुननिर्माणका लागि सबै तह र क्षेत्रको सहयोग आवश्यक हुने भन्दै पीडितको लागि पुनर्निमाणको काममा राजनीति नगरी सबैले सहयोग गर्नुपर्ने बताए। सरकारले पनि नीति, कार्यविधिमा रहेका केही अस्पष्टता हटाएर अघि बढेको उनको भनाइ थियो।

प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले निजी आवासको पुनर्निमाणको साथमा पुल, तटबन्धनलगायतका पूर्वाधार निर्माण गरे मात्र पुनर्निर्माणले पूर्णता पाउने बताए। पूर्वसांसद शिवप्रसाद हुमागाईंले पुनस्र्थापना र पुननिर्माण त्यति सहज नभएको भन्दै सिँचाईलगायतका पूर्वाधार निर्माणमा प्रदेश र संघ सरकारले सघाउनुपर्ने तर्क गरे। भूकम्प र बाढीपहिरोमा फरक रहेको बताउँदै हुमागाईले बाढीपहिरोले काभ्रे जिल्लामा करिब एक हजार घरपरिवारको आवास निर्माणको लागि जग्गा नै बगाएपछि जग्गाविहिन भएको बताए।

बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नारायणटारलगायत काभ्रेका विभिन्न खेतीयोग्य फाँटहरू बगरमा परिणत भएकाले त्यसलाई पुरानै अवस्थामा फर्काउन सरकारले योजना बनाउनुपर्ने बताए। निजी आवाससँगै सडक, पुललगायतका पूर्वाधार पुननिर्माण गरिनुपर्नेमा उनको जोड थियो।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विस्तृत क्षति आकलनपछि पुननिर्माणको ढोका खुल्ने तर्क गरे। नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले अस्थायी आवासको लागि र स्थायी आवासको लागि छुट्टाछुट्टै रकम दिनुभन्दा दुबै जोडेर स्थायी आवास निर्माणको लागि सहयोग गर्नुपर्ने बताए। पीडित बस्न मिल्ने घर बनाउनको लागि आवश्यक रकम सरकारले दिनुपर्ने उनको भनाइ थियो।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले १० शय्याको अस्पताल, औद्योगिक ग्रामको प्रशासकीय भवन, डम्फु जीवन्त संग्रहालयलगायत गाउँपालिकाको गौरवका आयोजना, पाँचवटा झुलुंगे पुल बगाएको बताए। ती आयोजनाहरु तत्काल पुननिर्माण नगरे विद्यालय जान नसकेर बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था बन्ने लामाको भनाइ छ। बाढीपहिरोले रोशीको धेरै नागरिकको खेतबारी बगाएकोले पुननिर्माणसँगै जीविकोपार्जनको पनि योजनाहरु आउनुपर्ने बताए।

रोशीका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाका अनुसार विस्तृत क्षति आकलन रोशी गाउँपालिकाबाट तीनवटा क्लस्टरमा हुने छ। आकलनका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका इन्जीनियरसहित २२ जना प्राविधिक खटिने छन्। पालिकाले अस्थायी आवास निर्माणका लागि विपत पोर्टलमा दाखिला गरेका ५६३ घरधुरीको विस्तृत क्षति आकलन हुनेछ। स्थलगत मूल्याङ्कनपछि प्राविधिकले दिने प्रतिवेदनका आधारमा प्राधिकरणले लाभग्राही यकिन गरेर स्थायी आवास निर्माणको लागि रकम उपलब्ध गराउनेछ।

अस्थायी आवासका लागि काभ्रेमा ७ करोड ३५ लाख निकासा
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले काभ्रे जिल्लाको बाढीपहिरोपीडितको अस्थायी आवास निर्माणका लागि रकम निकासा भएको बताए। बुधबार ७ करोड ३५ लाख ७५ हजार रकम जिल्ला विपद व्यवस्थापन समितिकोे खातामा पठाएको उनले जानकारी दिए। विस्तृत क्षति आकलनपछि स्थायी आवास निर्माणका लागि भुक्तानी गर्न समस्या नहुने उनको भनाइ छ।

सुझावित समाचार