जात्रामय काठमाडौं उपत्यका : काठमाडौंमा गहना खोज्नेदेखि भक्तपुरमा बिस्का र जिब्रो छेड्नेसम्म

सोमबार, १ बैशाख, २०८२
डिजिटल संस्करण
जात्रामय काठमाडौं उपत्यका : काठमाडौंमा गहना खोज्नेदेखि भक्तपुरमा बिस्का र जिब्रो छेड्नेसम्म

भक्तपुरमा जारी बिस्का जात्रा र काठमाडौंको गहनापोखरीमा गहना खोज्ने जात्रा मनाउँदै । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

काठमाडौं उपत्यका यतिवेला जात्रामय बनिरहेको छ । काठमाडौंको गहनापोखरीमा गहना खोज्नेदेखि भक्तपुरमा जारी बिस्का र जिब्रो छेड्ने जात्राले उपत्यका जात्रामय बनेको हो । उपत्यकामा चल्ने जात्रामध्ये भक्तपुरको बिस्कालाई निकै महत्वपूर्ण मानिन्छ । यस्तै जिब्रो छेड्ने, सिन्दुर जात्रा, विष्णुवीर जात्रा, सिद्धिकाली जात्रा, रात्रिको चान्हेसिया जात्रा, गहना खोज्ने जात्राले समेत रौनक बढाइरहेको छ । संस्कृतिविद्का अनुसार यी जात्रा उपत्यकाका ठुला जात्रा पर्वमध्ये पर्छन् । विक्रम संवत्को नयाँ वर्ष फेरिने मौकामा मनाइने यी जात्रासँग नयाँ वर्षको भने कुनै सम्बन्ध छैन । 

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले अहिले काठमाठौं उपत्यका जात्रामय भएको बताए । ‘हिजोआज उपत्यकामा अनेकौँ जात्रा भइरहेका छन् । यी सबै जात्राहरूको स्थानीय महत्व आ–आफ्नै छ । तर, बिस्काको भने राष्ट्रिय महत्व छ,’ उनले सुनाए, ‘बिस्का जात्राका क्रममा चैत मसान्तको दिनमा विश्वध्वज (यःसी) खडा गरेर १ वैशाखमा ढालिन्छ र विश्वध्वज अर्थात् लिंगोमा फहराइने ध्वजा विश्व केतु हो अर्थात् त्यो विश्वकै ध्वजा मानिन्छ ।’ जात्राको क्रममा भैरव र भद्रकालीको जात्रासहित ८ रात ९ दिनसम्म मनाइन्छ ।

बिस्का जात्रासँग सम्बन्धित छन् भक्तपुरको ठिमीमै मनाइने ३२ खटको जात्रा र बोडेको जिब्रो छेड्ने जात्रा । संस्कृतिविद् श्रेष्ठका जात्रामध्येको सबैभन्दा ठुलो जात्रा र त्यसको मूल थलो भक्तपुरको बिस्का जात्रा हो । नेवारहरू जहाँ–जहाँ बस्छन्, त्यहाँ यो जात्रा मनाउने प्रचलन पनि छ । ‘बिस्काको मुख्य केन्द्र भक्तपुर हो, शाह वंशको मूल वासस्थान पनि भक्तपुर नै हो । यहाँको जात्रापर्व अन्य ठाउँमा मनाउने गरिन्छ,’ संस्कृतिविद् श्रेष्ठले भने, ‘हाडीगाउँको जात्रा पनि यही समयमै हुन्छ, तर विक्रम संवत्सँग यी जात्राको कुनै सम्बन्ध छैन, बरु नेपाल संवत्सँग चाहिँ छ ।’ 

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्– उपत्यकाभरि वा देशैभरि मनाइने यी सबै जात्रा–पर्वहरूको एउटै सन्देश हो– सहकाल होस्, शत्रु नाश होस्, सुख–शान्ति होस्, सास छाडेपछि मोक्ष मिलोस् । त्यसैले पनि बिस्का जात्रा लास जलाउने ठाउँमा मनाइन्छ, ताकि आत्मालाई मुक्ति मिलोस् ।

 भक्तपुरमा जिब्रो छेड्ने र बिस्केट जात्राको रौनक 
भक्तपुरमा मनाइने जात्रामध्ये सबैभन्दा चर्चित जात्रा हुन् जिब्रो छेड्ने जात्रा र बिस्केट (बिस्का) जात्रा । जिब्रो छेड्ने जात्राको क्रममा स्थानीय एक व्यक्तिले जिब्रो छेड्छन् भने विस्केट जात्राको अवसरमा दुई टोलले रथलाई आफ्नो पोल्टामा पार्न खोज्छन् । यो जात्रामा मानिसको भिडभाड हुने गर्छ ।

बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा आपसमा सम्बन्धित पनि छन् । आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अवसरमा आइतबार बिहान ११ बजे भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिंगो उठाइयो । विधिपूर्वक पूजाआजा हरेक चैत मसान्तका दिन लिंगो उठाउने प्रचलन रहँदै आएको छ । उक्त लिंगो जात्राको अन्तिम दिन (५ वैशाखमा) ढालिनेछ ।भक्तपुर दरबार क्षेत्रको कुमाले टोलमा आइतबार बिहान लिंगो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरिएको थियो । यस्तै, आइतबार साँझ रथलाई तानेर भेलुखेल लगियो । त्यहाँ लगेपछि नाग–नागिनीको प्रतीकसहित विधिपूर्वक तयार गरिएको ५५ हात लामो लिंगो उठाइएको छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार यो विश्वप्रसिद्ध लिंगो जात्राका रूपमा पनि रहँदै आएको छ । त्यस्तै, सोमबार अर्थात् १ वैशाखमा दिनभर जात्रा हुनेछ ।

 बोडेमा जिब्रो छेड्ने जात्रा सुरु
संस्कृतिविद् श्रेष्ठका अनुसार उपत्यकाभरि वा देशैभरि मनाइने यी सबै जात्रा पर्वहरूको एउटै सन्देश हो, सहकाल होस्, शत्रु नाश होस्, सुख–शान्ति होस्, सास छाडेपछि मोक्ष मिलोस् । त्यसैले पनि बिस्का जात्रा लास जलाउने ठाउँमा मनाइन्छ, ताकि आत्मालाई मुक्ति मिलोस् । मध्यपुरथिमीको बोडेस्थित महालक्ष्मी मन्दिरअगाडि पनि आइतबार बिहान लिंगो उठाइएको छ । यो लिंगो उठाएपछि जिब्रो छेड्ने जात्राको साइत शुभारम्भ हुन्छ । यस क्षेत्रमा पनि आइतबार कुमारीको रथलाई लहिटोलमा पुर्याइएको थियो ।

जात्राकै क्रममा आइतबार राति ९ बजे नीलबाराही जंगलबाट दाउरा ल्याएर महालक्ष्मीलगायत भगवान्को पूजाआजा गरिएको छ । यो वर्ष तान्त्रिक विधिपूर्वक व्रत बसी २८ वर्षीय सुजनवांग श्रेष्ठले २ वैशाखमा जिब्रो छेड्दै छन् । श्रेष्ठले आइतबारदेखि पानी पनि नखाई व्रत सुरु गरेका छन् ।

व्रत अवधिमा पानीसमेत खान मिल्दैन भने महिलासँग बोल्न मिल्दैन । यस्तै कुकुर, बिरालो, कुखुरालगायत पशुपक्षी छुन मिल्दैन । साथै, यो समयमा मध्यपुरथिमी क्षेत्रमा अन्य थुप्रै जात्रासमेत देखाउने गरिन्छ । जसमा सिन्दुर जात्रा, विष्णुवीर जात्रा र सिद्धिकाली जात्रा रात्रिको चान्हेसिया जात्रालगायत छन् । जात्रा पर्व नियाल्न आउनेहरूको संख्या अत्यधिक हुने गर्छ । 

हाँडीगाउँमा गहना खोज्ने जात्रा
उखानै छ, कहीँ नभएको जात्रा हाँडीगाउँमा । उपत्यका जात्रैजात्राको सहर हो । त्यसमध्ये पनि यहाँको एउटा प्राचीन बस्ती हाँडीगाउँको जात्रा भिन्न छ । हाँडीगाउँमा आइतबार गहनापोखरीको जात्रा मनाइएको छ । यो जात्रा किराँतकालदेखि चल्दै आएको इतिहास छ । जात्राका क्रममा खटमा टुँडालदेवी (जसलाई वैष्णवीदेवी पनि भनिन्छ) राखेर तीनपटक गहनापोखरी परिक्रमा गराइन्छ । त्वरंः अजिमा (वैष्णवी टुँडालदेवी)को मूर्तिलाई खटमा राखेर तिसाः मालिगु पुखु (गहना पोखरी)भित्र डुबाएर घुमाउने चलन छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार यतिवेला उपत्यका जात्रामय बनेको छ । ‘हुन त उपत्यकामा हरेक दिन कुनै न कुनै जात्रा पर्व परेकै हुन्छ, तर यो समय विशेष महत्वका जात्रा भइरहेका छन्,’ उनले भने, ‘नयाँ वर्षको समयमा हुने जात्रापर्वहरूले समुदायलाई एकआपसमा जोड्ने काम गरिहेको छ ।’

सुझावित समाचार