इजरायली सेनाद्वारा गाजास्थित अस्पतालमा आक्रमण

आइतबार, ३० चैत, २०८१
डिजिटल संस्करण
इजरायली सेनाद्वारा गाजास्थित अस्पतालमा आक्रमण

तस्बिर : एएफपी

आइतबार भएको इजरायली आक्रमणमा गाजाको एक प्रमुख स्वास्थ्य केन्द्रको सघन उपचार तथा शल्यक्रिया विभाग ध्वस्त भएको गाजामा कार्यरत नागरिक सुरक्षा निकायले बताएको छ।

क्षेप्यास्त्र प्रहारपछि गाजास्थित अल अहली ब्याप्टिस्ट अस्पतालबाट भीषण आगो र धुवाँको मुस्लो उडिरहेको भिडियो अनलाइनमा सार्वजनिक भएको छ। भिडियोमा केही बिरामीसहित धेरै मानिस घटनास्थलबाट भागिरहेको देखिन्छ। हमासले उक्त आक्रमणलाई ‘भयानक अपराध’ भनेको छ।

एक स्थानीय पत्रकारका अनुसार इजरायली डिफेन्स फोर्सेज (आइडिएफ)ले एक चिकित्सकलाई बोलाएर अस्पताल खाली गर्न चेतावनी दिएको थियो। नागरिक आपतकालीन सेवाका अनुसार आक्रमणमा कुनै मानवीय क्षति भएको छैन।

एक स्थानीय पत्रकारका अनुसार इजरायली सेनाका एक अधिकारीले आकस्मिक विभागका एक चिकित्सकलाई बोलाई अस्पताललाई तत्काल खाली गर्न भनेका थिए।

इजरायली रक्षामन्त्री इजरायल काट्जले आफ्नो सेनाले चाँडै नै गाजाको अधिकांश भागमा आक्रमण बढाउने घोषणा गरेका छन्। काट्जले इजरायली रक्षा बल (आइडिएफ)ले गाजापट्टीको दक्षिणी भागमा रहेको राफा र खान युनिस सहरको बिचमा रहेको ‘सुरक्षा क्षेत्र’ कब्जा गरेको पनि बताए।

इजरायली सेनाले खान युनिस र आसपासका क्षेत्र खाली गर्न आदेश जारी गरेको छ। आदेशमा भनिएको छ, ‘इजरायली सेनाले गाजाबाट भएको हवाई आक्रमणको जवाफमा आक्रमणको तयारी गरिरहेको छ, जसको जिम्मेवारी हमासले लिएको छ।’

दुई महिनाको युद्धविरामपछि मार्च १८ मा इजरायलले हमासविरुद्ध पुनः आक्रमण सुरु गरेको थियो। त्यसयता इजरायलले गाजाको ठुलो भूभाग कब्जा गरेको छ, जसले गर्दा लाखौँ मानिस विस्थापित भएका छन्।

सुझावित समाचार